काठमाडौं, २१ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा परराष्ट्र मन्त्री कमल थापा मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै नेपाल गएको बताएकी छन् ।
भारतको राज्यसभामा भएको नेपालबारे छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले ईश्वरले सायद अबको ५–७ दिनमा नेपालको समस्या समाधान हुने बताइन् । उनले भनिन्, ‘नेपालको समसया राजनीतिक सहमतिबाटै समाधान गर्ने वातावरण बनेको छ ।’
मन्त्री स्वराजले मधेसीलाई पनि न्याय हुने र दुःख पाएका नेपालीले पनि राहत पाउनेगरी राजनीतिक सहमतिबाटै समस्या समाधान चाहेको जिकिर गरिन् ।
आधा घण्टा लामो सम्बोधनमा उनले नेपाल सार्वभौम देश भएको र त्यसको भारत सरकारले सम्मान गर्ने बताइन् । उनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोपलाई ठाडै खण्डन गरिन् । उनले भनिन्, ‘हामी प्रेस्क्रिप्सन दिँदैनौं र एक मित्र र शुभचिन्तकको नाताले सल्लाह दिन्छौं ।’
उनले भारतले ‘बिग ब्रोदर’ होइन ‘इल्डर ब्रोदर’को भूमिका निर्वाह गरेको स्पष्ट पारिन् ।
उनले भारतले नाकाबन्दी गरेको नभई नाकामा आन्दोलनकारीले आन्दोलन गरेका कारण नाकामा अवरोध भएको जिकिर गरिन् । उनले भनिन्, ‘खुला भएका नाकाहरुबाट अहिले पनि ट्रकहरु गइरहेका छन् ।’ उनले अवरोध भएको नाकाबाट सवारी साधन रिरुट गरेर अवरोध नभएको नाकाबाट पठाइरहेको स्पष्ट पारिन् । उनले आफू मानवीयताबाट नगिरेको भन्दै औषधी मागहरु इयर लिफ्ट गरेर पठाउने बताइन् । स्वराजले नेपालमा औषधिको अभाव भएपछि राजदूत पठाएर र विदेशमन्त्री कमल थापालाई आफैंले समेत अत्यावश्यकीय औषधिहरुको सूची दिनुस्, एयर लिफ्ट गरेर पठाउँछौं भनेको तर, अहिलेसम्म नेपालले कुनै सूची नदिएको स्पष्ट पारिन् ।
उनले भारतले गलत बाटो अपनाउन नचाहेको बताइन् । उनले भनिन्, ‘पहिलो विकल्प गोली चलाएर हटाउने हो, दोस्रो विकल्प आन्दोलनकारीलाई ट्रकले किचेर अगाडि बढ्ने हो ।’ उनले यी दुवै बाटोलाई गलत बाटो भएको बताइन् । ‘राजनीतिक सहमति गर भन्ने हाम्रो सुझाव हो,’ उनले भनिन्, ‘हामीले त्यसैलाई काम गरिरहेका छौं ।’
आक्रामक रुपमा प्रश्नहरुको जवाफ दिएकी स्वराजले नेपालमा अन्तरिम संविधानभन्दा पछाडि फर्किएकोले आन्दोलन भएको बताइन् । भारतले मधेसमा आन्दोलन भयो भने दुवै देशलाई अप्ठेरो पर्छ भनेर पहिले नै भनेको स्वराजले दावी गरिन् । उनले राष्ट्रपति विद्या भण्डारी, डा.बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा भारत आउँदा र स्वराज नेपाल जाँदा यही सुझाव दिएको स्मरण गरिन् ।
उनले बिनाबहस र बिना तयारी संविधान जारी गरेको, मधेसीको माग पूरा गर्नुभन्दा पनि अन्तरिम संविधानभन्दा पछाडि फर्किएको बताइन् । उनले अन्तिम समयमा विशेषदूतको रुपमा विदेश सचिव एस जयशंकरलाई पठाएको स्मरण गर्दै भनिन्, ‘अन्तरिम संविधान भन्दा पछाडि नफर्कनुस्, आन्दोलन भए हामीलाई पनि गाह्रो पर्छ भनेर सल्लाह दिएका थियौं । यदि हामीले भनेजस्तो गरिएको भए एक दिनपनि आन्दोलन हुने थिएन ।’
sajhapost
Post a Comment