भारतको हरियाणामा तनाव, १२ को मृत्यु, यातायात ठप्प

हरियाणामा तनाव,  १२ को मृत्यु, यातायात ठप्प
नयाँ दिल्ली-भारतको उत्तरी राज्य हरियाणामा जारी जाट समुदायको आरक्षण आन्दोलनमा चर्केको हिंसामा आइतबार १२ जना मारिएका छन् भने १ सय ५० जना घाइते भएका छन्। हरियाणाका प्रहरी डिजिपी वाईपी सिंघलका अनुसार हिंसा भड्काएको आरोपमा १ सय ९१ आन्दोलनकारीविरुद्ध उजुरी दर्ता गरिएको छ।

उनले हिंसा–आगजनीको आरोपमा करिब ४५ जनालाई पक्राउ गरिएको बताए । त्यहाँ जाट समुदाय आरक्षण सुविधा माग्दै शुक्रबारयता आन्दोलनरत छ । भारतको सर्वोच्च अदालत सुप्रिम कोर्टले जाट समुदायको आरक्षणसम्बन्धी मामिलामा फैसला गर्दै आरक्षण दिन अस्वीकार गरिसकेको छ ।

भारतको सरकारी समाचार एजेन्सी पिटिआईले हरियाणामा आइतबार भिवानी, सोनिपत र हाँसीमा हिंसा भएको जनाएको छ । सेना परिचालन र हवाई गस्ती गरिए पनि सोनिपतमा दुई वटा प्रहरी चौकी, कैयौं पसल र बैंकका एटिएममा आगो लगाइएको छ ।

दिल्ली, पन्जाब, हिमाचल प्रदेश, जम्मु कास्मिर, राजस्थान र चंडिगढसहित छिमेकी राज्यसँग हरियाणाका सडक र रेल यातायात ठप्प भएको छ । आन्दोलनका कारण हरियाणा हुँदै जाने आवश्यक उपभोग्य वस्तु र सेवा आवागमन नराम्ररी प्रभावित भएको छ । हरियाणाबाट दिल्ली आउने कैयौं राजमार्गमा सयौंसय सर्वसाधारण फसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोनिपतको गोहाना जिल्लामा आक्रोसित भिडले कैयौं पसल, २ वटा बस र २ वटा मोटरसाइकल आगजनी गरे । यातायात ठप्प भएका कारण दिल्ली–चंडिगढको हवाई भाडा ३ हजार रुपैयाँबाट २० हजारभन्दा बढी भएको छ । भिवानी जिल्लामा आन्दोलनकारीले शनिबार राति बैंक एटिएममा आगो लगाउनुका साथै लाहारुमा कोअपरेटिभ बैंकका सरकारी कागजपत्रसमेत डढाएका थिए । हाँसीमा हिंसा भड्किएपछि बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म कफर््यू लगाइएको थियो । भिवानीका ग्रामीण क्षेत्र मुन्दल र खरकस्थित प्रहरी चौकीमा पनि आन्दोलनकारीले आगजनी गर्नुका साथै एउटा बस पनि जलाएका थिए ।

डिजिपी सिंघलले प्रहरीको पहिलो प्राथमिकता राजधानीका लागि जल आपूर्तिका अवरोध हटाउनु रहेको बताए । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै आन्दोलन नियन्त्रणका लागि सेनाका ६९ टुकडी पुगिसकेको जनाए । तीमध्ये अधिकांश झज्जर र रोहतकका मुख्य क्षेत्रमा परिचालन गरिएको छ ।

सेनाबाहेक पनि अर्धसैनिक बलका ४९ कम्पनी आन्दोलन नियन्त्रणका लागि हरियाणा पठाइएको छ । हरियाणा पुगिसकेका ३९ कम्पनी अर्धसैनिक बलमध्ये २४ कम्पनी परिचालन भइसकेका छन् । यातायात ठप्प भएकाले रोहतकमा हेलिकप्टरबाट सेना उतारिएको थियो ।

राजधानीमा खानेपानी संकट

हरियाणामा जारी आन्दोलनका कारण राजधानी दिल्लीमा जल संकट उत्पन्न भएको छ । राजधानी नयाँ दिल्लीमा खानेपानी आपूर्ति हुने हरियाणाको मुनक नहरमा आन्दोलनकारीले गरेको नियन्त्रणका कारण राजधानीमा खानेपानीको आपूर्ति ठप्प भएपछि समस्या उत्पन्न भएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले गहिरिँदो खानेपानी संकटका कारण सोमबार दिल्लीका सबै स्कुल बन्द हुने जनाए ।

दिल्लीका मन्त्री र दिल्ली जल बोर्डका अध्यक्ष कपिल मिश्राले 'दिल्लीमा पहिलोपल्ट ७ वाटर प्लान्ट बन्द भएकाले ६० प्रतिशतभन्दा बढी भूभागमा पानीको संकट उत्पन्न भएको बताए ।

'माग पूरा भयो, आन्दोलन रोकौं'

हरियाणामा जारी जाट आरक्षण आन्दोलनले आइतबार नयाँ मोड लिएको छ । जाट संघर्ष समितिका नेता जयपाल सिंहले आन्दोलन बन्द गर्न जाट समुदायसँग अपिल गरेका छन् ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्तापछि जयपाल सिंहले जाट समुदायको आरक्षणसम्बन्धी माग पूरा गरिएकाले आन्दोलन समाप्त गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि गृहमन्त्री सिंहसँग भेटघाटपछि भारतीय हरियाणाका जनता पार्टी प्रमुख अनिल जैनले आगामी विधानसभा बैठकमा जाट समुदायलाई आरक्षण दिइने घोषणा गरेका थिए ।

भाजपाका स्थानीय नेता जैनको घोषणालगत्तै जाट संघर्ष समितिका नेता जयपाल सिंहको आन्दोलन रोक्न अपिल सार्वजनिक गरेका थिए । उत्तर प्रदेश र हरियाणाका भाजपा जाट नेतालगायत खाप नेताले गृहमन्त्री सिंहसँग आइतबार भेटघाट गरेका थिए ।

यसबीच, सेनाप्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि गृहमन्त्री सिंहसँग भेटघाट गरेका छन् । सेनालगायत सुरक्षाकर्मी हरियाणामा हिंसा नियन्त्रण गर्न लागि परेका छन् । हरियाणाका ९ सहरमा कफर््यू लगाइएको छ । सडकमा सेना परिचालन गरिएको छ ।

जाट समुदायको आरक्षण आन्दोलनमा आइतबारसम्म १२ जना मारिएका छन् भने १ सय ५० भन्दा बढी घाइते भएका छन् । हरियाणाको आन्दोलनको प्रभाव छिमेकी राज्य उत्तर प्रदेश र राजधानी नयाँ दिल्लीमा समेत परेको छ ।

जाटको हिंसक बन्दै गएको आरक्षण आन्दोलन समाप्त गर्न भाजपाले आगामी विधानसभा बैठकमा जाट आरक्षण पारित गर्न सहमत भएको छ । हरियाणा र उत्तर प्रदेशका जाट नेता र खाप नेतासँग गृहमन्त्री सिंहको भेटघाटपछि यसबारे घोषणा गरिएको हो ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget