साधारणतया मिर्गौैलामा क्याल्सियम पत्थर, अक्जालेट पत्थर र युरिक एसिड पत्थर गरी तीन प्रकारका पत्थर हुन्छन् । ९० प्रतिशत जति मिर्गौलामा बन्ने पत्थरमा प्रमुखरुपमा क्याल्सियम तत्व र एमोनियम, म्याग्नेसियम, फोसफेट, अक्जालेट, कार्बोनेटका लवण हुन्छन् । कहिलेकाहीँ शरीरमा भिटामिन ए को कमी तर भिटामिन डी बढी भई प्याराथाइराइडको कार्यमा गडबडी हुँदा पनि पत्थर हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ ।
प्रायः अक्जालेट पत्थर खस्रो, कडा र सुकेको रगत जस्तो हुन्छ भने युरिक एसिड पत्थर खैरो र कडा हुन्छ । यसैगरी फोस्फेट पत्थर सेतो, चकजस्तो नरम हुन्छ । पत्थर पिसाबको नलीमा अड्केमा वा पत्थरको आकार ठूलो भई निस्कन नसकेमा असैह्य पीडा हुने, पिसाब बाक्लो तथा रातो हुने, पिसाबमा रगत देखा पर्ने, संक्रमण हुने, ज्वरो आउने, बान्ता हुने लक्षण देखा परेमा सम्बन्धीत डाक्टरलाई देखाइ आवश्यक परामर्श लिनुपर्ने हुन्छ ।
मिर्गौलामा पत्थर बन्ने प्रवृति छ भने बारम्बार बन्ने र दुःख दिइरहने हुनाले त्यस्ता व्यक्तिले दैनिक खानपानमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । किनकि कतिपय पत्थर खानामा भएका तत्वहरुको असन्तुलनबाट बन्ने हुनाले ती तत्वहरु भएका खाद्यपदार्थको पहिचान गरी परहेज गर्नुपर्ने हुन्छ । यस प्रकारको पत्थरको समस्यालाई नदुख्ने औषधि सेवन गरेर केही समयको लागि पीडाबाट छुटकारा मिले पनि फेरि बल्झिने हुनाले नियन्त्रण गर्न दैनिक खानामै विशेष ध्यान दिनुपर्छ ।
पौष्टिक दृष्टिकोणले र पत्थर रोगबाट पीडित हुँदा यसको समाधानको लागि गरिएको व्यक्तिगत अनुभवलाई दृष्टिगत गर्दा कतिपय यस्ता खाद्यापदार्थहरु छन् जसले मिर्गौलामा पत्थर बन्नबाट रोक्न तथा नियन्त्रण गर्न मद्दत पु¥याएका छन् । यस समस्याको प्रमुख समाधानको उपाय प्रशस्त मात्रामा शुद्ध पानी तथा झोल पदार्थ सेवन गर्नु र पत्थर बन्न सहयोग पु¥याउने तत्वहरु क्याल्सियम, फस्फोरस, प्युरिन, अक्जालेट, चिल्लो पदार्थ बढी भएको खाद्यपदार्थहरु दैनिक भोजनमा परहेज गर्नु नै हो ।
पानी तथा झोल पदार्थ बढी सेवन गर्नाले पनि कसैकसैको पत्थर निस्कन सक्छ । यसरी निस्केको पत्थर प्रयोगशालामा जाँच गराउदा कुन प्रकारको हो, सोको पहिचान गर्न सकिन्छ र त्यसैअनुरुप खान हुने र नहुने खाद्यपदार्थको छनोट गर्न सकिन्छ । यस्तो स्थितिमा केही निश्चित खाद्यपदार्थ मात्र भोजनमा परहेज गर्नुपर्ने हुन्छ । तर पत्थरको पहिचान गर्न नसकेमा धेरै प्रकारका खाद्यपदार्थ वञ्चित गर्दा पौष्टिक तत्वको अभावमा स्वास्थ्यमा झन् प्रतिकुल असर पर्न सक्छ ।
त्यसकारण पत्थरको समस्या भएका व्यक्तिहरुले तथा तिनका परिवारले यो समस्या बल्झाउने तत्व भएका खाद्यपदार्थको पहिचान गरी त्यसको बदलामा कुन खाद्यपदार्थ समावेश गर्दा भोजन सन्तुलित र उपयुक्त हुन्छ भन्ने कुरा जान्न आवश्यक पर्छ । समयमै सतर्कता अपनाउन नसकेमा बारम्बार पत्थर बन्नाले मिर्गौलामा थप भार परी यसको काममा बाधा पुग्नुको साथै नराम्रो असर पर्न सक्छ ।
समस्याको पहिचान गरी दैनिक भोजनमा फेरबदल गर्दा बनिसकेको पत्थर घोलिएर पिसाबबाट चाहिँ आउदैन । यदि सानो आकारको छ भने पिसाबबाट निस्कन सक्छ । यसरी भोजनमा फेरबदल गर्दा मिर्गौलामा पत्थर बन्ने कामलाई भने नियन्त्रण र कम गर्न सकिन्छ । दैनिक उचित खाद्यपदार्थबाहेक शरीरको आवश्यक पानी र झोल पदार्थ पाएको छ भने मिर्गौलामा पत्थर बन्न पाउदैन ।
शरीरमा आवश्यक मात्रामा पानी छ भने मिर्गौलाले दूषित पदार्थ छानेर पिसाबबाट बाहिर फाल्ने काम गर्छ । शरीरमा पानीको कमी छ भने दूषित पदार्थ फ्याँक्न नसक्दा ठोसरुपमा परिणत भई एक आपसको प्रतिक्रिया बाट पत्थर बन्छ । त्यसकारण साधारण अवस्थाबाहेक यस स्थितिमा पनि पानी तथा झोल पदार्थको सेवनमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । दैनिक अन्दाजी दुई लिटर पिसाब शरीरबाट फ्याँक्ने हिसाबले प्रशस्त पानी पिउन सकेमा यो स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ । यसैगरी पत्थरको समस्या भएका व्यक्तिले पिसाबको रंग हेरी दैनिक पानीको परिमाण बढाउन सकिन्छ । यदि पिसाब गाढा पहेँलो छ भने पानीको मात्रा वा थप झोल पदार्थको सेवन बढाउनु पर्ने हुन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
gorkhalikhabar
Post a Comment