आज नेपाल रंगिएको छ, अहिले जताततै नेपाली फुटबल टिमलाई स्वागत र सम्मानका समाचार, फोटो, सन्देशहरुले संचारमाध्यम अनि सामाजिक सञ्जाल भरिएको छ । अहिले देश जितेको अनुभूति सबैमा महसुस भैरहेको देखिन्छ । नेपाली जाति चाँडै हौसिने अनि चाँडै बिर्सिइने जाति मानिन्छ । अहिले भारतलाई साग फुटबलमा हराएर स्वर्ण पदक जित्ने खेलाडी सबैको लागि सबै थोक हुन् कि जस्तो अनुभूति गरिरहेको देखिन्छ, तर बिस्तारै अब भर्खरै अवकाश पाएको कर्मचारी जस्तो बिर्सिइदै गइन्छ । अहिले स्वाभाविक रुपमा पूरै देश खुशी छ नै । समाचारमा आयो– राष्ट्रपतिले समेत गोल गर्ने खेलाडीको नाम नै किटेर बक्तब्य निकालेछन, सरकारले स्वर्ण पदकधारीलाई ५–५ लाख पनि घोषणा गरेको छ, अनि प्रधानमन्त्रीले खेलाडीहरुलाई यथोचित सम्मान गर्ने कुरा पनि गरेछन् । तर, कस्तो सम्मान ???
सन् १९९३ मा अहिलेका प्रमुख प्रशिक्षक राजुकाजी शाक्यको नेतृत्वमा नेपालले भारतलाई नै हराएर स्वर्ण जित्दा देवनारायण चौधरी प्रमुख खेलाडी थिए, जसले खेलको अन्तिम मिनेटमा गोलकिपर उपेन्द्रमान सिंह समेत बिट भइसकेको अबस्थामा भारतको शतप्रतिशत गोलको सम्भावनामा बिजुली गतिमा पछाडिबाट आएर भारतीय खेलाडी बाबुमणिबाट बल खोसेर गोल हुनबाट बचाएका थिए, पछि टाइब्रेकरमा नेपालले जितेपछि यस्तै खुशियाली छाएको थियो, तत्कालिन सरकार प्रमुखले पनि यसरी नै सम्मानका कुरा गरेका थिए । जुनबेला हामी इन्स्पेक्टरको बेसिक ट्रेनिङको क्रममा नेपाल पुलिस एकेडेमीमा थियौँ, पुलिसका खेलाडीहरु पनि त्यही एकेडेमीमै बस्थे, ट्रेनिङ गर्थे । हामी त ट्रेनिङ क्याम्पमा भित्रै थियौँ, सोचेका थियौँ – ती बिजेता खेलाडीहरुलाई कत्रो स्वागत भयो होला, कत्रो सम्मान भयो होला? भारतलाई हराएर नेपाल फर्किएको त्यस्तै एक साता भएको थियो होला, कस्तो उदेकलाग्दो दृश्य– त्यही देवनारायण चौधरी स्टिलको थाल बोकेर प्रहरी जवान मेसमा भात खान लाइनमा उभिइरहेको देखियो । किनकी उनी त्यतिखेर नेपाल प्रहरीको हवल्दार थिए, देशलाई जिताउने ती राष्ट्रिय खेलाडीको यो हबिगत… !
हाम्रो समाज, खेललाइ अर्कै नजरले हेर्छ । कुनै युवा खेलमा लगनशील भएर लाग्यो भने– ‘लौ ! यो खेलेर बिग्रियो’ भन्ने ठान्छ । फाइनलमा गोल गर्ने नवयुग श्रेष्ठ अनि प्रकाश बुढाथोकीका अभिभावकहरुको प्रतिक्रिया नै काफी छ। तर, सफल भयो भने चाँहि परिवार, समाज, गाउँ अनि देश सबै वाह वाह गर्छ, हुँदाहुँदा राष्ट्रपतिले समेत बक्तब्य निकाल्छ, तर सफल नहुन्जेल चाँहि असफल पार्न मनोबल गिराइरहन्छ, किनकी हाम्रो वातावरण नै त्यस्तै छ । अझ ‘खेलेर पनि खान पुग्छ ?’ भनेर अभिभावकले ठूलो स्वरमा सोध्छ ।
हाम्रो समाज, खेललाइ अर्कै नजरले हेर्छ । कुनै युवा खेलमा लगनशील भएर लाग्यो भने– ‘लौ ! यो खेलेर बिग्रियो’ भन्ने ठान्छ । फाइनलमा गोल गर्ने नवयुग श्रेष्ठ अनि प्रकाश बुढाथोकीका अभिभावकहरुको प्रतिक्रिया नै काफी छ। तर, सफल भयो भने चाँहि परिवार, समाज, गाउँ अनि देश सबै वाह वाह गर्छ, हुँदाहुँदा राष्ट्रपतिले समेत बक्तब्य निकाल्छ, तर सफल नहुन्जेल चाँहि असफल पार्न मनोबल गिराइरहन्छ, किनकी हाम्रो वातावरण नै त्यस्तै छ । अझ ‘खेलेर पनि खान पुग्छ ?’ भनेर अभिभावकले ठूलो स्वरमा सोध्छ । तर अब सरकार अनि यस क्षेत्रसँग सरोकार राख्ने नेतृत्वले स्वतः जवाफ दिने वातावरण बनाउनुपर्छ कि ‘हो, पुग्छ’ भनेर अहिले दिने भनिएको ५ लाख नगद राम्रो प्रोत्साहन हो, तर अब राम्रो भन्दा पनि दिगो प्रोत्साहनको खाँचो छ । अनि देशको लागि हिजो केहि गर्ने खेलाडीहरुको अबस्था पनि खोजी गरिनुपर्छ, अरु त अरु सन् १९८२ मा एशियन फुटबलमा भर्खर विश्वकप खेलेर फर्किएको कुवेतको टिम बिरुद्ध गोल गर्ने खेलाडी वाई बी घले केही समय अगाडि सिकिस्त बिरामी भएर उपचार गर्न नसक्दा खेलाडीहरु आफू–आफूले पैसा उठाएर उपचार गर्न खोजेका थिए, यस्तो अबस्था रहनुहुन्न, जबकी त्यो गोल नै नेपाली खेलाडीले कुनैपनि अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो, अनि सागमा अहिलेसम्मकै म्याराथुन दौडको रेकर्डधारी बैकुण्ठ मानन्धरको अबस्था पनि खोजी गरिनुपर्छ, जसले तीनपटक सागमा नेपाललाई स्वर्ण जिताएका थिए । यी त एउटा उदाहरण भए– यतिखेर अघिल्लो लण्डन ओलम्पिकमा एनआरएन युकेले सम्पूर्ण ब्यबस्था गरिदिएकोले आउन पाउनु भएका ओलम्पिकमा भाग लिने पहिलो नेपाली धावक जितबहादुर केसीले फेरि ओलम्पिक हेर्ने अवसर पाएकोमा खुशी हुँदै आफू ओलम्पिकमा दौडिएको क्षण सम्झिदै द्रवित हुँदै भनेका थिए, जुन दौडमा लगाउने उपयुक्त जुत्ता नहुँदा खाली खुट्टा नै उनी दौडिएका थिए । र, ४२ किलोमिटरमध्ये ३२ किलोमिटरसम्म अघिल्लो ग्रुपमा नै थिए, तर १० किलोमिटर बाँकी हुदा खाली खुट्टा दौडिएको मसल बाउडिएर दौड नै छाड्नु परेको थियो । खेल जित्दा मात्रै वाह वाह गर्ने हैन कि खेल क्षेत्रमा लागिरहन वाह वाह गर्ने वातावरण पनि सरोकारवालाले बनाइरहनु पर्छ । अनि खेल क्षेत्रमा आउनकै लागि र खेल क्षेत्रमा टिक्नकै लागि सिपाही जागिर खानैपर्ने अबस्था रहिरहनु हुँदैन । उसले बाँच्नको लागि के गर्ने भन्ने अब चाँहि सोच्न नपरोस ।
अहिले करिब १७ बर्ष देशको लागि खेलेको तिनै देवनारायण चौधरी अमेरिकामा कतै गुमनाम जीवन बिताइरहेका छन् । तर, आज नेपाली खेलाडीहरु फेरि हाइहाइ भएका छन्, बिषेशत नेपाली सेनाका सिपाही नवयुग श्रेष्ठसहित अन्य खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि गौरवसाथ बधाई दिएछन । कता–कता चसक्क भैरहेछ । त्यही सन् १९९३ कै नियति त कतै दोहोरिने हैन ? राष्ट्रपतिले समेत आफ्नो बक्तब्यमा दोहोरो ह्याट्रिक गर्ने भनी नामै किटेर बधाई दिएका ती नवयुग श्रेष्ठ पनि नेपाली सेनाका सिपाही हुन्, अनि भारतका खेलाडीका कडा प्रहार रोक्ने गोलकिपर विकेश कुथु पनि नेपाली सेनाकै सिपाही हुन्, अर्थात दे नारायण जस्तै नवयुग अनि विकेश पनि… अर्थात् ती राष्ट्रका गहनाहरुले पनि तिनै स्टिलको थाल बोकेर सिपाहीको मेसमा लाइन लाग्नुपर्ने नियति नभोगुन प्रधानसेनापतिज्यू !
समकालीन धेरैलाई याद होला– सन् १९९० को विश्वकपमा ८६ को विश्वकप बिजेता म्याराडोनाको नेतृत्वको अर्जेन्टिनी टिमलाई पहिलो खेलमा नै नाम नै नसुनिएको क्यामरुनले अप्रत्याशित रुपमा हराएपछि तहल्का मच्चिएको थियो। त्यसका नायक थिए– भेट्रान खेलाडी रोजर मिल्ला…! हाम्रा राष्ट्रपतिले खेलाडी घर फर्किएको दिन बक्तब्य निकालेर गोल गर्ने खेलाडीका नाम लिए, तर क्यामरुनले अर्जेन्टिनालाई हराउने बित्तिकै त्यहाँका राष्ट्रपतिले देशको राष्ट्रिय टेलिभिजन स्टेशनको नाम नै रोजर मिल्लाको नाममा घोषणा गरिदिए…. यस्तो पो हो सम्मान…! त्यसपछि क्यामरुन बिश्व फुटबलमा एउटा नाम भएर उदाइरह्यो, अनि अफ्रिकी महादेशमा त शक्ति नै । गुमनाम देश एउतै खेलाडीले चिनाइदिन सक्छ, जमैका एउटा नसुनिएको देश तर १०० मिटर दौडका विश्वबिजेता उसिन बोल्टको कारण संसारले चिन्छ, अर्जेन्टिना नाम नसुन्नेहरुलाई फुटबलका म्याराडोनाले चिनाइदिए, वेष्ट इन्डीज नचिन्नेलाई क्रिकेटका ब्रायन लाराले चिनाइदिए । संसारमा माउन्ट एभरेष्ट र बुद्दको देश भनेर चिनाउनुपर्ने हाम्रो देश, महाभूकम्पले गर्दा अलिक बढी चिनियो । अरु त अरु २०० बर्षदेखिको कुटनीतिक सम्बन्ध भएको भनिएको बेलायतमा पनि ६० प्रतिशतले नेपाल बारेमा अनभिज्ञता देखाउछँन्, जतिले चिन्छन बेलायती सेनामा काम गर्ने गोर्खाको नामबाट चिन्छन्, अझ कतिले त गोर्खा चिन्छन् तर नेपाल चिन्दैनन् । त्यसैले शक्तिहिन अनि विकासोन्मुख देश चिनाउने एउटा राम्रो उपाय खेलकुद रहेछ । देशको चिनारीसंगै धेरै कुरा हुनसक्ने रहेछ । खेलकुद यस्तो क्षेत्र रहेछ, जसमा प्राप्त हुने विजयले देश अनि परदेश जहाँ रहेपनि देशसँगसँगै खस्किएको मनोबल उकास्दोरहेछ, देशभित्र होस् वा बाहिर बिभिंडिएको बर्ग र समाजलाई पनि एकै ठाउँमा उभ्याउने माध्यम बन्दोरहेछ । त्यसैले देशले यस क्षेत्रलाई अनि यसका सम्बाहकहरुलाई त्यसरी नै हेर्नुपर्छ, अर्थात सम्मानित ब्यबहार गर्नुपर्छ ।
सँगसँगै दिगो सम्मानको लागि पनि भन्न मन लागेको छ, हाम्रा सरकार प्रमुखले पनि क्यामरुनका तत्कालिन राष्ट्रपतिले जस्तै देशका सम्झनयोग्य स्थानका नाम यी देशका लागि खेल्ने खेलाडीका नाममा राख्न सकिन्न ? अरु जे सुकै होस्, स्थानीयस्तरकै भएपनि इलामको रंगशालाको नाम नवयुग, धरानको रंगशाला राजु शाक्य, अनि बिमल घर्तिमगर… वा यस्तै योगदान पुर्याउनेहरुको नाममा राखेर सम्मान दर्शाउन सकिन्न र ? तब पो खेल्छन देशको लागि मरिमेटेर… तत्कालिन नगद पुरस्कार अनि शब्द्सम्मानले मात्रै त बिचरा के पो हुन्छ र ? बधाई छ देशको लागि खेल जित्ने राजु शाक्य, नवयुग, प्रकाश, बिमल, फुपू खत्री, निमा घर्ति नेपाली टिम अनि सम्पूर्ण नेपालीलाई… !!!
dainiknepal
Post a Comment