काठमाडौं: एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र असफल बनाउने कोठे खेल कुनै हालतमा सफल नहुने बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्र फेल गराउन षडयन्त्र भइरहेको जनाउँदै त्यसलाई सफल हुन नदिने बताएका हुन्।
'गणतन्त्रविरुद्ध ठूलो कोठे खेल भइरहेको छ’, उनले भने, 'यो खेल कुनै पनि हालतमा सफल हुँदैन।'
नाकाबन्दीले कसैलाई नभएको बताउँदै प्रचण्डले निकासका लागि आजै पनि मधेसी दलसहितको उच्चस्तरीय वार्ता हुने जानकारी दिए ।
प्रचण्डले आफ्नो दलसहितको ओली नेतृत्वको सरकार हटाए र आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्टिकरण दिए ।
‘मैले पहिलेबाटै राष्ट्रिय सरकारको कुरा उठाउँदै आएको छु’, उनले भने, ‘राष्ट्रिय सरकार म प्रधानमन्त्री बन्न होइन । कांग्रेसको महाधिवेशन अघि या पछि उसलाई पनि राखेर राष्ट्रिय सरकार बनाउनुपर्छ ।’
प्रधानमन्त्री बन्ने हतारले समस्या समाधान नुहने प्रचण्डको भनाइ थियो ।
‘कांग्रेससहितको राष्ट्रिय सरकारको नेतृत्व ओलीजी या कांग्रेसको महाधिवेशनबाट सभापति बन्ने व्यक्ति पनि बन्न सक्नुहुन्छ’, उनले भने, ‘मलाई अहिले प्रधानमन्त्री बन्ने हतार छैन, म प्रम बन्नका लागि सरकार परिवर्तनको कुरा गरेको होइन ।’
बाबुरामको कदम आत्माघाती
अध्यक्ष प्रचण्डले पार्टी छाडेर नयाँशक्ति गठन अभियानका लागेका नेता डा. बाबुराम भट्टराईबारे कडा टिप्पणी गर्दै उनले आत्मघाती कदम चालेको आरोप लगाए ।
‘बाबुरामजीको आत्माघाती कदमले कसैलाई पनि राम्रो गर्दैन’, उनले भने, ‘बाबुरामजी जनयुद्धको जिम्मेवारीबाट पन्छिएर भाग्न खोज्नुभयो ।’
मन्त्रीहरुलाई काम देखाउने मौका
सरकार र मन्त्रीहरुको काम कारबाहीबारे कडा आलोचना भइरहेका बेला प्रचण्डले प्रतिकुल र जटिल अवस्थामा यो सरकार बनेकाले अहिल्यै आलोचना गर्न हतार हुने टिप्पणी गरे ।
‘प्रतिकुल अवस्थामा सरकार बनेकाले अहिले नै मन्त्रीहरुलाई तेजोबोध गर्ने बेला भएको छैन’, उनले भने, ‘हाम्रो पार्टीका मन्त्रीहरुलाई काम देखाउनका लागि सहयोग गर्नुपर्छ । दुई महिनामा पनि काम देखाएनन् भने त्यसपछि सोचौंला ।’
प्रमको भारत भ्रमण नाका खुलेपछि
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी गरिरहेका बेला अध्यक्ष प्रचण्डले नाका नखुलेसम्म भारत जान हतार गर्नु बेठीक हुने तर्क गरे ।
‘नाकाबन्दी हटेको छैन । नाका खुलेपछिमात्रै प्रमजी भारत भ्रमणमा जानु उचित हुन्छ’, उनले भने, ‘नाका नखुली भ्रमणका जाँदा त्यसले राम्रो सन्देश दिँदैन ।’
आफू प्रधानमन्त्री भएपछि चीन भ्रमणमा गएको प्रसंगमा पत्रकारहरुलाई जवाफ दिँदै प्रचण्डले त्यसमा गर्व रहेको बताए ।
‘छिमेकी देशमा जता पहिले गएपनि फरक पर्दैन । म प्रधानमन्त्री भएपछि चीनमा ओलम्पिकको समापन भएकाले पहिले त्यता गएका हुँ’, उनले भने, ‘भारतमा ओलम्पिकको समापन भएको भए म पहिले त्यहीँ जान्थेँ ।’
annapurnapost
Post a Comment