भूकम्पपीडितको पीडाः ओछ्यानमा थलिएकासँगै छैन पीडित परिचयपत्र

फटकशिला (सिन्धुपाल्चोक): मेलम्ची नगरपालिका फटकशिलाका २४ वर्षीय गणेश नेपाली वैशाख १२ देखि ओछ्यानमै थलिएका छन् । भूकम्पले घर भत्कँदा पुरिएका उनको ढाड भाँचिएपछि ओछ्यानमै दिन बिताइरहेका छन् ।

पछिल्लो समय खोकीलगायत रोगले उनलाई च्यापेको छ । शरीरभर घाउ छ । तर उनी राज्यको आँखामा भूकम्पपीडितको सूचीमा पर्दैनन् । भूकम्पपीडित परिचयपत्र वितरणका बेला पत्नी राममाया नेपाली उनलाई लिएर अस्पतालमा बसेकी थिइन् ।


छिमेकीको सहारामा बसिरहेका आठ र सात वर्षीय उनका छोराले परिचयपत्रका विषयमा जानकारी पाएनन् । जब राममाया गाउँ आइन्, वडा सचिवले समय नै सकियो भनिदिए । परिचयपत्र नभएकै कारण अस्पतालले गणेशको उपचार गर्न मानेन । थला परेकै अवस्थामा पतिलाई घर ल्याएकी राममाया परिचयपत्र बनाउन सहयोग गर्न छिमेकीकहाँ धाउन थालिन् ।

गाउँका अगुवाले पनि पहल गरे तर नगरपालिका कार्यालयले प्रक्रियामा रहेको जबाफमात्र दिने गरेको स्थानीय बताउँछन् ।

स्थानीय शिक्षक शिवप्रसाद ढुंगानाका अनुसार पटकपटक प्रयास गर्दा पनि परिचयपत्र नपाउँदा नेपाली परिवारले राहतबाट वञ्चित हुनुपरेको छ ।

‘अन्यत्र घर हुने र भिन्नै नबसेकाले कार्ड पाउँदा पनि यिनीहरूले अझै कार्ड पाएका छैनन्', ढुंगानाले भने, ‘कार्ड नहुँदा राज्यले दने सुविधा त पाएनन्पाएनन्, उपचार नै हुन नसकेर जीवन र मृत्युको दोसाँधमा उभिनुपरेको छ ।'

भूकम्पकै भोलिपल्ट धुलिखेल अस्पताल पुर्‌याइएका गणेश धुलिखेल र साँगामा गरी नौ महिना अस्पताल बसे । परिचयपत्र नभएपछि निःशुल्क उपचार गर्न नसक्ने भन्दै अस्पतालले घर फर्काइदिएको राममाया बताउँछिन् ।

परिवारको सहारा दिने घरमूली मात्र हैन, पतिले नसक्दा कमाइ गर्नुपर्ने श्रीमतीको समेत उनकै स्याहार गर्दा दिन बित्छ । ‘राहतमा आएको चामल सकिएपछि छिमेकीले दिएको मानामुठीबाट छाक टार्नुपरेको छ', राममाया भन्छिन्, ‘अहिले खाए भरे के खाऊँको अवस्था हुँदा पनि सरकारले केही गरेन ।'

गणेशमात्र होइन, आफूले नसक्दा हेरविचार गर्नुपर्ने २० वर्षीय भाइ सानुकान्छाको पनि अवस्था उस्तै छ । भूकम्पपछि एउटा खुट्टा काटिएका सानुकान्छाको अर्को खुट्टा पनि नचल्ने भएको छ । बसेकै ठाउँमा जे पाइन्छ, त्यही खानुको विकल्प छैन ।

मुस्किलले एकपटक दाजुको सहयोगमा खुट्टाको उपचार गराएका सानुकान्छा पनि आफैं खर्च गरेर उपचार गराउनसक्ने अवस्थामा छैनन् । हेर्न आउनेका अगाडि निरीह बनेर आँसु खसाल्नुशिवाय उनीसँग अर्को उपाय छैन । दुवै भाइ अशक्त भएपछि छिमेकीले ठड्याइदिएको टहरोमा दुई भाइको स्याहार गर्दैमा दुई महिलाको दिन बित्छ ।

छिमेकीले दया गरेर दिएको केही खानेकुराले पेट पाल्नुपरेको राममाया बताउँछिन् । उनको एउटै गुनासो छ, घरले पुरिएर श्रीमान्को त्यो अवस्था हुँदा पनि सरकारले कार्ड र राहत दिएन । त्यही कार्ड नहुँदा श्रीमान्को उपचारसमेत हुन सकेन ।

उनीहरूको अवस्थाका विषयमा जानकारी पाएर अस्टे«लिया बस्दै आएका एक जोडीको पहलमा शनिबार गणेशलाई ७२ हजार र सानुकान्छालाई ५० हजार रुपैयाँ सहयोग गरिएको छ । यो रकमले उपचार गर्ने कि परिवारको छाक टार्ने भनेर नेपाली परिवार अन्योलमा छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget