धरान–चौथो गोर्खा ज्वेलर्स, ब्रुनाई नेवा च्यारिटी ८ कि.मि. रनमा भारतीय सेनामा कार्यरत तीर्थ पुन र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन्। शनिबार धरानमा सम्पन्न स्पर्धामा बाग्लुङ जिल्लाको ढोरपाटन घर भएका तीर्थले पुरुषतर्फको खुला स्पर्धामा २८ मिनेटमा निर्धारित दूरी पार गर्दै प्रथम भए।
उनी भन्दा २९ सेकेण्डले मात्रै पछि परेका एपिएफ (सशस्त्र प्रहरी)का लक्ष्मण मल्ल ठकुरी दोस्रो भए भने काठमाडौं नेपालटारका नयन थापा तेस्रो स्थानमा रहे । ठकुरीले निर्धारित ८ किलोमिटरको दूरी २८ मिनेट २९ सेकेण्डमा पार गरेका थिए भने थापाले २८ मिनेट ३३ सेकेण्डमा पार गरेका थिए। प्रथम स्थान हासिल गर्न सफल पुनले नगद ३५ हजारसँगै मेडल र प्रमाणपत्र हात परे भने स्पर्धामा दोस्रो र तेस्रो हुने ठकुरी र थापाले क्रमशः नगद २५ हजार र १५ हजार थापे।
विजेता पुन विगत ८ बर्षदेखि भारतीय सेनामा जागिरे छन्। विदामा घर आएको बेला उनी धरानमा विगत ४ बर्षदेखि निरन्तर हुदै आएको स्पर्धामा सहभागी हुन आइपुगेका थिए। भारतीय सेनामा ५÷५ गोर्खा राइफलमा कार्यरत पुनको प्रशिक्षण केन्द्र ५८ जि.सि.सि.हो । उनी गत माघमा भएको नेपाल टेलिकम म्याराथुनमा पनि प्रथम भएका थिए। नेवा च्यारिटी रनमा १ हजार ७ सय १३ जना दौडिएका थिए ।
महिलातर्फ प्रथम स्थान हुन सफल सन्तोषीले निर्धारित दुरी ३२ मिनेट ४३ सेकेण्डमा पार गरिन् । धादिङको चैनपुर सुनखानीका उनी हाल काठमाण्डौंस्थित लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्समा ब्याचलर पढ्दैछिन् । उनी कान्तिपुर ५ कि.मि. म्याराथुनमा निरन्तर ३ बर्षदेखि प्रथम हुँदै आएकी छिन्। महिलातर्फ धरानकी सपना मगर दोस्रो र जुम्लाकी सुनामाया बुढा तेस्रो भइन्। सपनाले निर्धारित दुरी ३५ मिनेट २४ सकेण्डमा पार गरिन् भने सुनामायाले ३३ मिनेट ३७ सेकेण्डमा पार गरेकी थिइन् । पहिलो, दोस्रो र तेस्रो हुने महिला धाविकाहरुले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजारसँगै मेडल, प्रमाणपत्र हात पारे।
यस्तै, स्पर्धामा पुरुष भेट्रानतर्फ धर्म मर्हजन, भीमबहादुर गुरुङ र सोहन मास्के क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ रिता राई, कमला गुरुङ र गंगा गुरुङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भइन् । भेट्रान महिला र पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार थापे । यसैगरि, १६ बर्ष मुनिको पुरुष स्पर्धामा प्रतिक राई, पुर्ण राई र अतित लिम्बू क्रमशः पहिलो दोस्रो र तेस्रो भए भने महिलातर्फ रञ्जु लिम्बु, प्रेरणा राई र सृर्जना राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् । जुनियर(१२ बर्ष मुनि)को स्पर्धामा पुरुषतर्फ प्रस्ताव लिम्बु, रुसभ केसी र विसुन राम पहिलो,दोस्रो र तेस्रो भए भने महिलातर्फ स्वेच्छा थापा, इसु मगर र रचना याक्खा पहिलो, दोस्रो र तेस्रो भइन् । उनीहरुले पनि क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारसँगै मेडल, प्रमाणपत्र हात पारे । स्थानीयतर्फ राजन रोकाया र विनिता धामी विजेता रहे।
विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष मनिष तामाङ, प्रायोजक संस्था गोर्खा ज्वेलरी ब्रुनाईका जीवन बिकलगायतले पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा साग फुटबलमा स्वर्ण विजेता नेपाली फुटबलका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकीलाई सम्मान गरेको थियो । स्वाथ्यको लागि दौड भन्ने नारासहित धरान रनले विगत ४ बर्षदेखि नेवा च्यारिटी ८ के रन आयोजना गर्दै आएको छ। स्पर्धाबाट बचेको रकम संस्थाले विभिन्न असहाय एवं बालबालिकाको क्षेत्रमा कार्यरत संस्था र व्यक्तिलाई सहयोग गर्ने गर्छ । यही संस्थाले स्वास्थ्यप्रति सचेत गराउदै प्रत्येक शनिबार ठिक ७ बजे यलम्बर पार्कमा धरान रन कार्यक्रम पनि गर्दै आइरहेको छ ।
nagariknews
Post a Comment