चलचित्र 'किस्मत'बाट डेब्यु गरेका उनी अभिनीत ३३औं चलचित्र 'क्लासिक'सम्म आइपुग्दा दुई तिहाइभन्दा धेरै चलचित्रको मुख्य विषय प्रेम नै छ।
अचानक चलचित्र क्षेत्रमा प्रवेश गरेको बताउने आर्यन आफू लभस्टोरीमै फिट हुने बताउँछन्। 'मैले लभस्टोरी भएका राम्रो चलचित्रमा अभिनय गरेँ, सुहाउँदो पनि भयो', आर्यन भन्छन्। आर्यनले 'किस्मत'पछि 'मेरो एउटा साथी छ'मा अभिनय गरे।
यसले उनलाई प्रेमी हिरोका रूपमा स्थापित गरायो। कुनै समयमा नेपाली चलचित्रमा एक्सनसहितका लभस्टोरी रुचाइन्थ्यो । आर्यन बिनाएक्सनको प्रेमकथामा प्रस्तुुत भए, जसलाई दर्शकले रुचाइदिए।
आर्यनले दशक लामो अभिनय करिअरमा थुप्रै नायिकासँग अनस्क्रिन रोमान्स गरेका छन्। वास्तविक जीवनमा पनि उनी लभर ब्वाइ नै हुन् । भ्यालेन्टाइनको पूर्वसन्ध्यामा आर्यनले भने, 'मरो आफ्नै लभस्टोरी छ । मेरो प्रेमविवाह भएकाले रियल लाइफमा पनि म लभर ब्वाइ हुँ।'
हुन त आर्यन भ्यालेन्टाइन डे मनाउँदैनन् । चाडपर्व, डे, फेस्टिभलमा उनलाई रुचि छैन।'आफ्नो चाडबाड मनाउनुपर्छ, भ्यालेन्टाइन त विदेशी पर्व हो’, उनको भनाइ छ।' तर, यसपटकको भ्यालेन्टाइनमा उनी दर्शकलाई उपहार दिँदैछन् चलचित्र 'क्लासिक'।
सत्य घटनाबाट प्रेरित भएर निर्माण गरिएको भनिएको यो चलचित्रमा पनि प्रेमकथा नै छ। दृष्टिविहीनको सांगीतिक प्रेमकथा भएको ‘क्लासिक’मा उनले नम्रता श्रेष्ठसँग रोमान्स गरेका छन्।
अहिले उनी यही चलचित्रको प्रवर्द्धनमा लागिपरेका छन्। पर्दामा प्रेमिकाका रूपमा आर्यनलाई सहज लाग्ने र दर्शकले मन पराएका केही अभिनेत्रीका बारेमा उनले प्रतिक्रिया पनि दिएका छन्।
नम्रता श्रेष्ठ
दर्शकले मन पराएको, काम गर्न सहज लाग्ने र आफूले चलचित्र हेर्दा पनि रमाइलो लागेको अभिनेत्री हुन् नम्रता श्रेष्ठ । त्यसैले मैले मेरो चलचित्रमा नम्रतालाई दोहोर्याइरहेको हुँ। उनीसँग थुप्रै चलचित्रमा काम गरेको छु।
मेरो आफ्नै संलग्नतामा निर्माण भएको चलचित्र 'नोभेम्बर रेन'मा उनी थिइन् भने अहिले 'क्लासिक' मा पनि छिन्। मलाई नम्रतासँगको अभिनय चित्तबुझ्दो लाग्छ।
प्रियंका कार्की
नेपाली चलचित्रमा राम्री नायिका हुन् प्रियंका कार्की। प्रियंकासँग काम गर्दा रमाइलो महसुस हुन्छ। उनको सबैसँग मिल्ने, रमाइलो गर्ने र घुलमिल हुने स्वभाव छ।
पर्दामा उनी र मेरो जोडी पनि जम्छजस्तो लाग्छ। 'कलिउड' र 'माला'जस्ता चलचित्रमा उनीसँग काम गर्दा रमाइलो लागेको थियो।'क्लासिक'मा पनि प्रियंका छिन्। यो कुराचाहिँ अहिलेसम्म गोप्य राखिएको थियो।
केकी अधिकारी
मसँग मिल्ने अर्की अभिनेत्री केकी अधिकारी हुन्। उनीसँग 'आईएम सरी', 'महसुस'जस्ता चलचित्रका साथै म्युजिक भिडियोमा पनि काम गरेको छु।
केकीको रमाइलोभन्दा पनि काममा ध्यान दिने बानी छ। उनको फ्रेन्ड्ली स्वभावले काम गर्न सहज हुन्छ। पर्दामा उनको र मेरो केमेस्ट्री मिल्छजस्तो लाग्छ।
annapurnapost
Post a Comment