हरियाणामा जाट आन्दोलन, दिल्लीमा नाकाबन्दी ?
रोहतक (भारत)–भारतको उत्तरी राज्य हरियानामा आरक्षण माग्दै जाट समुदायको आन्दोलनमा भएको हिंसापछि त्यहाँका कैयौं जिल्ला र सहरमा कफ्र्यु लगाइएको छ। कफ्र्यु भंगकर्ता देख्नासाथ गोली हान्न प्रशासनलाई आदेश दिइएको छ।
आन्दोलनकारीले यातायात बन्द गरेका कारण हरियाना राज्यको नाकाबन्दी भएको छ। सबै सडक बन्दका कारण रोहतकमा हेलिकप्टरबाट सेना उतारिएको छ। आरक्षणको मागसहित दुई दिनदेखि सडकमा उत्रेको जाट समुदायको आन्दोलनमा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ८० जना घाइते भएका छन्।
भारतीय संचारमाध्यमले जाट अान्दाेलनकाे असर राजधानी दिल्लीमा समेत परेकाे छ।अान्दाेलनकारीले दिल्ली अाउने खाने पानीसमेत अबरूद्ध पारेका थिए। राजधानीमा खानेपानी अबराेध भएपछि सुरक्षाकर्मीले बल प्रयाेग गरी पानी अापूर्ति सुचारू पारेकाे संचारमाध्यमले उल्लेख गरेका छन्। दिल्लीकाे तीन तिर हरियाणा राज्य रहेकाे छ। प्रशर्नकारी राजधानी दिल्ली जाेड्ने सडक अवरूद्ध पारेका थिए।
झज्जर सहरका सबै बजार बन्द छन्। रोहतक राजमार्गमा मालवाहक ट्रकको लामो लाइन लागेको छ। सोनिपतमा पनि सडक जाम छ। सडकमा प्रदर्शनकारी जाट धर्नामा बसेका छन्। रोहतकमा दुई दिनयता भएको हिंसाको प्रभाव सोनिपतमा पनि परेको छ। आन्दोलनकारीले आफ्नो समुदायसँग रोहतक गएर आन्दोलनमा साथ दिन आह्वान गरेका छन्।
आन्दोलनकर्ता अखिल भारतीय जाट आरक्षण समितिको नियन्त्रणबाट आन्दोलन अब जाट समुदायका युवा आन्दोलनकारीको हातमा पुगेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। युवाको नेतृत्वका कारण नै अहिले राज्यमा सरकार र सुरक्षाकर्मीलाई आन्दोलनकारीसँग वार्ता गर्न तथा सम्झाउन कठिनाइ भइरहेको पनि सञ्चारमाध्यमले जनाएका छन्।
अखिल भारतीय जाट आरक्षण समितिले २१ फेब्रुअरीदेखि आन्दोलन गर्ने घोषणा गरेको भए पनि १४ फेब्रुअरीमा नै आन्दोलन सुरु भयो। त्यस दिन राज्यका जाट समुदायका कैयौं खाप पञ्चायतको बैठक बसेलगत्तै सडकमा प्रदर्शन सुरु भएको थियो।
मुख्यमन्त्री मनोहरलाल खट्टरले आन्दोलनकारीको मागबारे विचार गर्न सकिने भने पनि आन्दोलनकारीले भने आरक्षण सुनिश्चित नहुन्जेल सडकमा धर्ना जारी रहने चेतावनी दिएका छन्। पूर्वमुख्यमन्त्री भुपेन्द्रसिंह हुड्डाले आन्दोलनकारीसँग शान्ति कायम गर्न, आगजनी र हिंसा नगर्न अपिल गरेका छन् ।
आन्दोलनकारीसँग राज्य सरकारको वार्ता भए पनि त्यसले उनीहरूको आक्रोश शान्त पार्न सकेन। आन्दोलनको नेतृत्वकर्ता आरक्षण समितिका अध्यक्ष यसपाल मलिकले भने, 'सरकाले हाम्रो माग पूरा गरेपछि मात्र आन्दोलन रोकिन्छ।' सरकारले जाट समुदायलाई धोका दिएको आरोप आन्दोलनकारीले लगाएका छन् । उनीहरूका अनुसार ६ महिनाअघि सरकारले आरक्षण दिने आश्वासन दिए पनि पछि सरकारले आर्थिक रुपमा पिछडिएका कमजोर वर्गलाई आरक्षण दिने भन्दै झुक्याएको थियो।
रोहतक राजमार्गमा आन्दोलनकारीले शनिबार ट्रक तेस्र्याएर बाटो छेकेका छन् । कतिपय ट्रकका पांग्राको हावासमेत निकालि दिएका छन्। उग्र बनेका प्रदर्शनकारीमध्ये कतिपयले लाठी–डन्डा बोकेका छन्। प्रदर्शनकारीले नाराबाजीसमेत गरिरहेको बेलायती सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ ।
झज्जरमा यातायात र मानव आवागमनसमेत ठप्प छ। झज्जरनजिकै बिहीबारदेखि नै दर्जनौं ट्रक रोकिएका छन्। केही ट्रकचालकले त्यहाँ हिंसा भड्किए उनीहरूका ट्रक आन्दोलनकारीको तारो बन्न सक्ने आशंका गर्नुका साथै सुरक्षाको कुनै प्रबन्ध प्रशासनले नगरेको बताएको बीबीसीले जनाएको छ ।
झज्जरमा एक जना मन्त्रीको घरमा आक्रमण भएको छ। प्रहरी र सुरक्षाकर्मी सँग आन्दोलनकारीको झडप भए पनि कसैको मृत्यु भएको समाचार भने सार्वजनिक भएको छैन । यसअघि रोहतकको एउटा पेट्रोल पम्प र प्रहरी स्टेसनमा आन्दोलनकारीले आगो लगाइदिएका थिए। जिन्दको रेलवे स्टेसनमा प्रहार गरिएको पेट्रोल बमबाट स्टेसनको एउटा भागमा आगो लागेको थियो। हरियाना प्रहरीले आगो तत्कालै नियन्त्रण गरेको जनाएको थियो। झज्जरका सडकमा शनिबार सुरक्षाबल र सेनाले फ्ल्यागमार्च गरिरहेको छ।
nagariknews
Post a Comment