गुरुत्वाकर्षण तरंग पत्ता लाग्यो

फाल्गुन १, २०७२- आजभन्दा करिब सवा अर्ब वर्षपहिले ब्रह्माण्डमा दुई ब्ल्याक होल ठोक्किए । त्यो ठक्कर यति ठूलो र भयानक थियो कि अन्तरिक्षमा त्यसको छेउछाउका स्थान र समय दुवै खल्बलियो ।

हाम्रो युगका महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले करिब सय वर्षअघि भनेका थिए- अन्तरिक्षमा हुने यस्ता ठक्कर केबल ठक्करमै मात्र सीमित रहँदैनन् । उनको अनुमान थियो, ब्रह्माण्डका वस्तु वा पिण्डहरू एकआपसमा नजिक परे वा ठक्कर खाए भने गुरुत्वाकषर्ण तरंगहरू पैदा हुन्छन् । र, ती तरंग प्रकाशको गतिमा फैलिन्छन् ।

आइन्स्टाइनको त्यो अनुमानलाई अहिले आएर झन्डै एक हजार वैज्ञानिकहरूको समूहले सही ठहर गरेको छ । नेसनल साइन्स फाउन्डेसन (एनएसएफ) द्वारा बिहीबार जारी विज्ञप्तिअनुसार अमेरिकी वेधशाला 'टवीन लेजर इन्फेरोमेट्री ग्राभिटेसनल वेभ अब्जरभेटरी' (लिगो) डिटेक्टर्स मा गुरुत्वाकर्षण तरंग यकिन भएको छ । वेधशाला लिविंगस्टन, लुइसियाना र हैनफोर्ड, वासिङटनमा छ ।

सन् २०१४ सेप्टेम्बर १४ मा वैज्ञानिकहरूले पहिलो पटक सुदूर ब्रह्माण्डमा भयंकर प्रलयजस्तै दुई ब्ल्याक होल ठोक्किएर उत्पन्न गुरुत्वाकर्षण तरंग पृथ्वीमा आइपुगेको रेकर्ड गरेका हुन् । भौतिकशास्त्रीहरूका अनुसार अहिले रेकर्ड गरिएको गुरुत्वाकर्षण तरंग दुई ब्ल्याक होल मिलेर अर्को ठूलो ब्ल्याक होल बन्न लाग्दाको अन्तिम सेकेन्डको केही खण्डको हो । यी दुई ब्ल्याक होल ठक्कर खाएको विश्वास गरिँदै आए पनि प्रमाणित भएको थिएन ।

'लिगो' का वैज्ञानिकहरूले उक्त ब्ल्याक होल सूर्यभन्दा २९ देखि ३६ गुणा ठूलो रहेको र यो घटना १.३ अर्ब वर्षपहिले भएको अनुमान गरेको एनएसएफले जनाएको छ । सूर्यभन्दा तीन गुणा ठूलो पिण्ड एक सेकेन्डको केही खण्डमै अहिले हामीले ठम्याउन सकेको ब्रह्माण्डको भन्दा ५० गुणा शक्ति उत्पन्न गर्दै गुरुत्वाकर्षण तरंगमा परिवर्तन भएको थियो । यो तरंग आइपुगेको संकेत लिविंगस्टनमा भएको डिटेक्टरले हैनफोर्डको भन्दा ७ मिलिसेकेन्ड पहिले रेकर्ड गरेको थियो ।

एनएसएफका अनुसार लिगो अनुसन्धान अमेरिकासहित १४ राष्ट्रका विश्वविद्यालयमा भएका एक हजारभन्दा बढी वैज्ञानिकहरूको समूह (लिगो साइन्टिफिक कोलावोरेसन) ले गरेको हो । लिगो वेधशाला एनएसएफको आर्थिक सहयोगमा सञ्चालित छ । यसको परिकल्पना, निर्माण र सञ्चालन क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलजी (कैलटेक) तथा म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलजी (एमआईटी) ले गर्छ ।  

अणुदेखि अनन्तसम्मको यात्रा सहज : प्राध्यापक खनाल
त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्री प्रा.डा.उदयराज खनालले गुरुत्वाकर्षण तरंग पत्ता लाग्नु वैज्ञानिक अनुसन्धानको क्षेत्रमा एउटा ठूलो फड्को भएको बताए । यसले अणुदेखि अनन्तसम्मको यात्रा सहज भएको उनले बताए ।

'यो शिवजीको तेस्रो आँखाजस्तै भयो,' ब्ल्याक होलमै विद्यावारिधि गरेका खनालले कान्तिपुरसँग भने, 'प्रकाशबाट ब्रह्माण्डको सीमित क्षेत्र मात्र हेर्न सकिन्थ्यो, अब गुरुत्वाकर्षण तरंगले धेरै टाढासम्म हेर्न सकिन्छ ।' अब झन्डै विगब्यांग नजिकैको स्थितिमा पुग्न सकिने उल्लेख गर्दै खनालले त्यो बेलाको ब्रह्माण्डको अवस्था, संरचना आदि अध्ययन गर्न सकिने बताए ।

'यो विकसित हुँदै गयो भने सम्भावना के-के छ के-के ?,' उनले भने, 'तपाईं हामीले विज्ञान फिल्ममा हेर्ने र साइन्स फिक्सनमा पढ्ने गरेको जस्तै विचित्र हुन्छ ।' केही वर्षयताको अविष्कार रेडियो तरंगका माध्यमले मोबाइल फोनमार्फत अहिले कुनै व्यक्ति सम्पूर्ण संसारको सम्पर्कमा रहन सक्ने भएको छ । 'यदि गुरुत्वाकर्षण तरंग उत्पन्न गर्न सकियो भने त बितिसकेको समयमा समेत पुग्न (भूतकालको यात्रा) सकिने सम्भावना छ ।'

आइनस्टानको सामान्य सापेक्षवादको सिद्घान्तअनुसार गुरुत्वाकर्षणको स्रोत स्थान र समय (स्पेस/टाइम) को बक्रता (कर्भेचर) हो । गुरुत्वाकर्षण तरंग भनेकै स्थान र समय दुवैको तन्काई र खुम्चाई हो ।

ekantipur

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget