टोकियो—अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपायबाट कामदारलाई जापान ल्याउन थालेका छन्। मानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार जापान प्रवेश गराउने गरेको खुलासा भएको छ।
बौद्ध भिक्षु भेषमा पर्यटक भिसामा आएका ५ जनालाई टोकियो अध्यागमनले शंका लागि अनुसन्धान गर्दा उनीहरु दलाललाई मोटो रकम तिरेर आएको पुष्टि भएको हो। झन्डै ३५ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्नेहरु रहेको जापानमा भिक्षुहरुलाई उच्च सम्मान गरिन्छ। त्यसकै फाइदा उठाउँदै दलालले नेपालीलाई तिब्बती भिक्षुको भेषमा जापान पठाउने गरेको खुलेको हो। पक्राउ पाँच जना २० देखि २८ वर्षका छन्।
यसरी जापान कामदार ल्याउने दलालले एयर टिकटबाहेक १३ लाख रुपैयाँसम्म असुल्ने गरेको बताएका छन्। कोरियन एयरलाइन्सबाट टोकियो आएका उनीहरुलाई विमानस्थल स्थित अध्यागमनले अनुसन्धान गरिरहेको छ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम प्रहार गरेको हिरोसिमा र नागासाकीमा पूजा र प्रार्थना गर्न भन्दै उनीहरु बौद्ध भुक्षु भेषमा त्यस्ता कामदारलाई जापान छिराउने र पछि भूकम्पले घर भत्किएको, नेपाल फर्किन नसकिने र घर बनाउन आर्थिक अभाव भएको भन्दै शरणार्थी आवेदन दिने ट्रिक दलालहरुले लगाउने गरेका छन्।
राष्ट्रको बेइज्जत
नेपाली दूतावासले घटनाबारे जापानी अधिकारीसँग छलफल गरिरहेको बताएको छ। भगवान् बुद्धको जन्मभूमिबाट भिक्षुको भेषमा अवैध रुपमा कामदार भित्र्याउने कार्यले राष्ट्रको इज्जतमा ठेस पुगेको टोकियो स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले बताए। 'यो घटनाले नेपालको शिर झुकाएको छ। हामी यसलाई गम्भीरपूवर्कता हेरिरहेका छौं', उनले नागरिकन्युजसँग भने।
राष्ट्रको इज्जत र नेपालको भविष्यलाई दाउमा पार्ने यस्ता घटना सबै मिलेर निरुत्साहित गर्नुपर्ने एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्ट बताउँछन्। जापानमा नेपालीका लागि वैधानिक किसिमबाटै धेरै अवसर रहेको बताउँदै उनले दलालको चङ्गुलमा नपर्न आग्रह गरे।
घटनाले जापानका सुरक्षा अधिकारी एवं अध्यामगन कर्मचारीलाई समेत छक्क पारिदिएको छ। यो घटनाका कारण शरणार्थीबारे जापान सरकारको नीतिमै फरक पर्न सक्ने जापानी मिडियाहरुको अनुमान गरेका छन्।
अघिल्लो वर्ष तुलनामा यस वर्ष नेपाली शरणार्थीका आवेदनमाथि २३ प्रतिशत बढी सुनुवाइ भएको थियो। अहिले पनि करिब १० हजारका आवेदनहरु सुनुवाइको क्रममा छन्। घटनालाई जापानका सबै प्रतिष्ठित मिडियाहरुले कभरेज गरेका छन्। यसरी आउने आवेदनलाई जापान सरकारका अधिकारीले गम्भीर छानवीन गर्नुपर्ने तथा नेपाल जस्ता मुलुकका नक्कली शरणार्थी आवेदनलाई स्वीकार गर्नु नहुने जापानी भाषाको लोकप्रिय पत्रिका योमिउरि सिम्बोनले लेखेको छ।
सस्तो श्रमको लोभमा काम दिलाउने नेपाली ब्यवसायी र मिलोमतो गर्ने जापानीको अभिलेख अध्यामगनले राखेको जनाइएको छ। यो प्रकरणमा को को नेपाली संलग्न हुन् र पक्राउ पर्नेहरु को को थिए भन्ने कुरालाई अध्यागमनले गोप्य राखेको छ।
स्मरणीय छ सन् २०१५ मा मात्र नेपाल सहित ६९ देशका ७ हजार ५ सय ८६ जनाले जापानमा शरणार्थीको आवेदन दिएको थिए। ती मध्ये सबैभन्दा बढी १ हजार ७ सय ६८ जनाको शरणार्थी आवेदनलाई जापानले स्वीकारेको थियो।
nagariknews
Post a Comment