नवलपरासी, १८ माघ । दुई दिने भ्रमणमा आइतबार नवलपरासी आउनुभएकी पूर्व युवराज्ञी हिमानीलाई नवलपरासीको त्रिवेणीमा भव्य स्वागत गरिएको छ ।
शाहको स्वागतमा स्थानीय सर्वसाधारणले बाजागाजासहित नागरिक अभिनन्दनमात्र गरेनन्, सक्रिय राजतन्त्रको पक्षमा चर्को नाराबाजी पनि गरे ।
नेपालको स्थिति नाजुक बन्दै जानुमा दलहरु जिम्मेवार रहेको भन्दै स्थानीयले भने– “हामीले २०६३ सालमा राजाको बिरोधमा आन्दोलन गरेर गल्ति गरेका रहेछौँ । समयले बुझाएको छ, अब अर्को राष्ट्रवादी आन्दोलनबाट हामीले राजतन्त्र फर्काउनुपर्ने भएको छ ।”
स्वागतमा लाम्बद्ध भएर बसेका अर्का स्थानीयले भने–“दलहरु बिदेशीको इशारामा नेपाली जनतालाई झुक्काउने खेलमा लागेकोले आजको सास्ती भोग्नुपरेको हो, अब यो अवस्थाबाट हामीले मुक्ति चाहन्छौं । अबको आन्दोलन स्वतः स्फुर्त उठ्नेछ । प्रत्येक नेपालीले अब दलको बन्धन तोड्नुपर्ने दिन आइसकेको छ ।”
पूर्व युवराज्ञीको स्वागतमा उर्लिएको जनसागरलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । बिहान ९ बजे परासीबाट विभिन्न स्थान हुँदै त्रिबेणी धामसम्म पुग्नुभएकी शाहले त्यहाँ बिहान १० बजे त्रिबेणी धाममा पूजाअर्चना गर्नुको साथै गजेन्द्र मोक्ष धाममा स्वस्ति बाचनसहित दर्शन र पूजा अर्चना गर्नुभएको थियो ।
यस्तै पुडिया गाउँको जोगिया बाबाको मन्दिरमा धर्मशालाको शिलान्यास गरेपछि, परासी बजारमा जनतासंग प्रत्यक्ष साक्षात्कार पनि गर्नुभएको थियो ।
सर्वसाधारणले राजतन्त्र नेपाली जनताको मनबाट नहटेको भन्दै अनुनाय विनय गर्दा पूर्व युवराज्ञी भने मुसुक्क हाँस्दै “जनता जे चाहन्छन् त्यही हुन्छ” भन्नुहुन्थ्यो । शाह आजै बेलुका ५ बजेको फ्लाइटमा राजधानी फर्किने पूर्वनिर्धारित कार्यक्रम रहेको छ । शाहका सहयोगीले भ्रमण लम्बिने सम्भावना पनि रहेको जानकारी दिए ।
osnepal
Post a Comment