नासा र अन्तरिक्ष यात्रीले सगरमाथा नचिन्दा

चार वर्षअघि एक बिहान ट्विटरमा घरिघरि एउटै तस्बीर आइरह्यो, गुगलअर्थबाट लिइएको झैं लाग्ने कुनै हिमश्रृङ्खलाको तस्बीर। सुरूमा मैले तस्बीरबारे लेखिएको विवरण पढेको थिइनँ।
केही घन्टापछि फेरि त्यही तस्बीर आयो ‘अन्तरिक्षबाट लिइएको सगरमाथाको ट्रेन्डिङ हुँदै गरेको तस्बीर’ भनेर

मलाई त्यो सगरमाथाको तस्बीर लागेन। तरपनि त्यसले मेरो ध्यान खासै खिँचेको थिएन।

केही समयपछि सोही तस्बीर पत्रकार कुन्द दीक्षित मार्फत पनि आयो। दीक्षितले लेखेका थिए, ‘सरी गाइज, यो एभरेस्ट चैं होइन, मलाई लाग्छ तिब्बतको सिसापाङ्मा हो कि?’
तस्बीर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आइएसएस)बाट रूसी अन्तरिक्ष यात्री युरी मालेन्चेन्कोले सगरमाथा भनि खिँचेका रहेछन्। त्यसलाई अस्ट्रियन पिटर कार्लट्नरले ट्विट गरेका रहेछन्। अर्का अमेरिकी अन्तरिक्ष यात्री रोन गारानले पनि ‘मैले अन्तरिक्षबाट एभरेस्टको राम्रो तस्बीर कहिले पनि खिँच्न पाइन’ भनि त्यही तस्बीर आरटी गरेका थिए।

नासाले पनि त्यसलाई आफ्नो वेवसाइटमा सगरमाथा भनि राखेपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तस्बीर समाचार नै बनाएछन्।
दीक्षितले तस्बीरमा सगरमाथा देखिएको छैन भन्दा पनि पिटरले ‘मैले धेरै तस्बीर हेरेपछि पोस्ट गरेको हुँ, तस्बीर एभरेस्टकै हो’ भनि दाबी गरेका थिए। म चुपचाप यी सबै रमाइलो हेरिरहेँ।
केहीबेरपछि उज्वल आचार्यले ‘यो तस्बीर कुन हिमालको हो? विज्ञको सहयोग चाहियो’ भनि पोस्ट गरे। अब भने लाग्यो- नासा, अन्तरिक्ष यात्रीहरू, पश्चिमा मिडिया आदि सबै त्यो तस्बीर सगरमाथाकै हो भनि भ्रममा रहेछन्। त्यो शतप्रतिशत कुनै कोणबाट सगरमाथा थिएन। तर कुन हिमाल हो मैले पनि चिन्न सकिनँ।
ममाथि रूची जाग्यो। तस्बीर नियालेर हेरेँ। नेपालकै जस्तो पनि देखिन्छ। गुगलअर्थमा हेरे थाहा लाग्छ कि भन्ने लाग्यो र हेरेँ। यति धेरै हिमपहाड छन् कि पृथ्वीमा पत्ता लगाउन निकै गाह्रो भयो। म कुनै हालतमा विज्ञ भने होइन। तर पत्ता लगाइछोड्ने रुची भने औधी भयो। मैले गुगलअर्थमा बसेर कयौं पटक रात छर्लङ्ग पारेको छु। तस्बीर खिँच्नमा पनि शौख छ। तर यो हिमाल पत्ता लगाउन भने असम्भव नै देखियो। एकपटक कोशिश गर्न मन लाग्यो। आफ्नै फर्मुला र नियम बनाएर सम्भावना साँघुरो पार्दै लगेँ।
१. कुन क्षेत्रको हिमाल?
पृथ्वीमा हिउँले ढाकिएका पहाड अनगिन्ती छन्। यो तस्बीरसँग मिल्दोजुल्दो पर्वत दक्षिणी चिली, क्यानाडा र उत्तर अमेरिकाको अलास्कातिर पनि भेटिन्छन्। एसियाको भेगमा भने पूर्वीतिब्बतदेखि हिमालयहुँदै ताजकिस्तानसम्म छ।
यो तस्बीर खिँच्ने अन्तरिक्ष यात्रीले एभरेस्ट भनेपछि पक्कै पनि उनी दक्षिण एसियाकै पर्वतीय हिमश्रृंखलामाथि नै थिए। एभरेस्ट नचिने पनि उनलाई एभरेस्ट कुन क्षेत्रमा पर्छ भन्ने मेसो पक्कै पनि छ। त्यसैले मैले गुगलअर्थमा आफ्नो खोजीकार्य पूर्वी तिब्बतदेखि ताजकिस्तानसम्म सिमित राखेँ।
२. कुन मौसममा खिँचिएको?
हिमालमा हिउँ प्रसस्त छ। मौसम सफा छ। हिमालको छायाँ अलिकति तन्किएको छ र मध्य डिसेम्बरतिर पोस्ट भएको हुनाले तस्बीर हिउँद यामकै हुनुपर्छ भन्ने निर्क्योलमा पुगेँ।
३. कुन दिशा र कुन समयमा खिँचिएको?
हिउँदमा घाम दक्षिण तर्फ हुन्छ। हिमालको छायाँ उत्तरपश्चिम तिर सरेको हुनाले तस्बीर दक्षिणबाट खिँचिएको हो । तस्बीरमा घामको प्रकाश कडा छ, हिमालको छायाँ अलिकति उत्तरपश्चिमतर्फ ढल्केको हुनाले मध्यान्नमा खिँचेको हुनुपर्छ।
४. कति उचाइबाट खिँचिएको होला?
साधारणतया आइएसएस यान पृथ्वीबाट २५० माइल माथिबाट उड्छ। त्यो उचाईबाट हिमाल यति प्रष्ट र नजिक देखिन्न। फोटोग्राफरले पक्कै जुमलेन्स प्रयोग गरेका छन्। त्यसैले उचाइ निर्क्योल गर्न भने गाह्रो भयो। तर पनि हिमालको फेददेखिको उचाइ लगभग एक हजार मिटर अन्दाज गरि यो तस्बीर करिब ३० देखि ४० किमी माथिबाट खिँचिएको ठानेँ।
यति चार पाँच निर्क्योललाई आधार मानेर गुगल अर्थ खोलेँ। हाइ अल्टिच्युड (उचाइ) ३५ किमीमा राखेँ। तस्बीरमा झैं अन्दाजी ४५ डिग्रीको कोण मिलाएँ। अनि पूर्वितिब्बतदेखि पश्चिम सर्दै सर्दै गएँ। कुनै भ्यु तस्बीरसँग मेल खायो कि म विभिन्न छिमेकी हिमालहरू भेरिफाइ गर्थेँ । सवा घन्टामा नेपाल पनि कटेर म जम्मुकश्मिरतिर पुगेको थिएँ, एउटा आइल्यान्ड पिकमा आँखा अड्यो।
अलि नजिकबाट हेर्दा मिल्न गएको भान भयो। तर अलिकति फरक एङ्गल थियो। त्यसको वरिपरिका हिमाल हेरेँ र तस्बीरमा देखिएका हिमालसँग दाँज्न थालेँ। एकपछि अर्को मिल्दै गए। परपरसम्म मिल्दै गएपछि धड्कन बढ्दै गयो। करिब पाँच मिनेटसम्म भेरिफाइ गरेपछि हिमाल सतप्रतिशत पत्ता लाग्यो। अब ट्विटरमा फर्केँ र चेक गरेँ कसैले पत्ता लगाए अथवा तिनैले सच्याए कि?
कसैको सही उत्तर पोस्ट भएको देखिँन। अनि उत्तर लेखिदिएँ, यो भारत, पाकिस्तान र तिब्बतको बोर्डरमा पर्ने सासन कांग्री हो।

लगत्तै ट्विटमा हलचल मच्चिन थाल्यो। मलाई हिमाल पत्ता लागेपछि अन्तरिक्ष-विश्व र मिडियामा यति धेरै हलचल मच्चेला झैं लागेकै थिएन। मैले त ट्विटरमा साथीहरूमाझ कुन्दको ‘नो योर माउन्टेन’ खेल खेले झैं रमाइलोको लागि प्रयास गरेको थिएँ।
नासाका प्रवक्ताले 'यो एभरेस्ट होइन, यो भारतको कश्मिर क्षेत्रको काराकोरम श्रृंखलाको सासेर मुस्ताख (सासेन कांग्री) हो’ भनि एएफपीलाई सच्याउँदै वेवसाइटबाटै तस्बीर हटायो। बिबिसी, एनबिसीलगायत थुप्रै पश्चिमा मिडियाले पनि ‘नासाले सगरमाथाको तस्बीर सच्याएको’ समाचार लेखे।
अनि अमेरिकी अन्तरिक्ष यात्री रोन गारानले पनि ट्विटरमै लेखे, हामी अझै मायावी एभरेस्टको राम्रो भ्यु खोज्दै छौं। युरीको आइएसएसको तस्बीर बिल्कुलै एभरेस्ट होइन, त्यो सासेर मुस्ताख हो।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget