आजको मन्त्रिपरिषद्ले के-के निर्णय गर्‍यो?

· नेपाल भारत सम्बन्ध विस्तारलाई विज्ञहरुको समूह गठन · आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति आगामी चैत २८ गते · १४ जना सहसचिव तथा नेपाली सेनाका २७ जना अधिकृतको सरुवा · अर्जुन कार्कीसँग स्पष्टिकरण सोध्ने निर्णय · गौतमबुद्ध अर्न्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि चार किल्लामा पर्ने १ सय ४० विगाहा जग्गा र ती जग्गामा निर्मित घर अधिग्रहण गर्न स्वीकृति
सरकारले नेपाल भारत सम्बन्ध विस्तारका लागि विज्ञहरुको समूह गठन गरेको छ। नाकाबन्दीका कारण भारतसँगको सम्बन्ध चिसिरहेका बेला सम्बन्ध सुधारका लागि भन्दै सरकारले चार सदस्यीय विज्ञ समूह गठन गरेको हो।
मन्त्रिपरिषद्को बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठन गरेको विज्ञ समूहमा पूर्वपरराष्ट्रमन्त्री एवं भारतका लागि पूर्व नेपाली राजदूत डा. भेषबहादुर थापा, पूर्वसचिव सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम र एमाले सांसद् डा. राजन भट्टराई सदस्य रहेका छन्। सूचना तथा संचारमन्त्री शेरधन राईले नेपाल भारत परराष्ट्रमन्त्री  स्तरीय संयुक्त आयोगको  तेस्रो बैठकको निर्णय अनुसार विज्ञ समूह गठन गरिएको बताए।
सरकारले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति समेत तोकेको छ। निजामति कर्मचारीहरुले पार्टी नै पिच्छे कर्मचारी संगठन खोलेर कामलाई भन्दा राजनीतिलाई बढ्ता प्राथमिकता दिंदै आएकामा सरकारले पहिलो पटक आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति आगामी चैत २८ गतेका लागि तोकेको हो।
यस्तै, सरकारले निजामति सेवाका १४ जना सहसचिव तथा नेपाली सेनाका २७ जना अधिकृतको सरुवा गरेको छ। बैठकले सहायकरथी शमसेर ठकुराठीलाई उपरथीमा तथा डा. भरतप्रसाद सिंहलाई  प्राविधिक सहायक रथीमा बढुवा गरेको छ। भुकम्प प्रभावितहरुका लागि त्रिपाल खरिद् गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीका लागि सिफारीस गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्कीसँग स्पष्टिकरण सोध्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यस्तै, बैठकले युवा स्वरोजगार कोषको उपाध्यक्षमा डा. प्रेम दंगाललाई नियुक्त गर्ने निर्णय गरेको छ। एमाले पार्टीको राजनीति गर्दै आएका दंगाल काँग्रेस नेतृत्वको सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्थ्यो। मन्त्रिपरिषद्ले गौतमबुद्ध अर्न्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि चार किल्लामा पर्ने १ सय ४० विगाहा जग्गा र ती जग्गामा निर्मित घर अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको छ।
त्यस्तै सांसद्हरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि चौमासिक कार्यक्रम पश गर्ने म्याद माघ मसान्तसम्म थप गरेको छ। मन्त्रिपरिषद्ले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि शिक्षाका लागि विश्व साझेदारी कोषबाट ६ अर्ब ७० करोड ४७ लाख रुपैयाँ तथा सीप अभिवृद्धि आयोजनाका लागि स्वीस सरकारबाट १ अर्ब ४० करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
 मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको नियुक्तिका सम्बन्धमा भने निर्णय  गरेन। राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद रिक्त भएको तीन साता भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget