सन् २००० को विश्वकपः भाग्यमानी नेपाल यसरी पुगेको थियो क्वाटरफाइनलमा

१८ माघ, काठमाडौं । नेपालले यू-१९ विश्वकपमा सोमबार भारतसित प्रतिस्पर्धा गर्नुअघि बलिङ प्रशिक्षक विनोद दास ‘फ्ल्यास ब्याक’मा पुगेको हुनुपर्छ । उनले बिर्सेका छैनन् होला सन् २००० को विश्वकप, जब नेपाल पहिलोपटक क्वाटर फाइनलमा पुगेको थियो र भारतसित पराजित भएको थियो । सो विश्वकपमा नेपाली टिमका कप्तान थिए उनी ।
उक्त विश्वकपमा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा भाग्यको ठूलो हात थियो । समुह चरणमा नेपालका प्रतिस्पर्धिहरु थिए, दक्षिण अफ्रिका, पाकिस्तान र केन्या । अत्यन्त कठिन समुहका बीचबाट कसरी नेपाल छनोट भयो त क्वाटरफाइनलका लागि ?
नेपाल र दक्षिण अफ्रिका
नेपालको पहिलो म्याच शक्तिशाली दक्षिण अफ्रिकासित थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको दक्षिण अपि|mकाले स्कोरबोर्डमा २ सय ९५ रन जोड्यो । विनोद उक्त म्याचमा १० ओभर बलिङ गर्दै ५४ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका ज्याक रुडोल्फ एक्लैले १५६ रन बनाए । ग्रेम स्मिथलेले ७४ रन बनाए । यी तिनै स्मिथ हुन् जो पछि लामो समयसम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टिमका कप्तान रहे ।
२९६ रनको चुनौति नेपालका लागि पहाड सरह थियो । दक्षिण अफ्रिकी बलरहरुका सामु नेपालको ब्याटिङ सुरुमै लड्खडयो ।  १२ ओभरमा २४ रन बनाउदा नेपालको चार विकेट गएको अवस्थामा इन्द्रदेवताले नेपालमाथि ‘कृपा’ गरे । वर्षाका कारण खेल स्थगीत भयो र दक्षिण अफ्रिका नेपालसित अंक बाँड्न वाध्य भयो ।
नेपाल र पाकिस्तान
नेपालको दोस्रो म्याच थियो पाकिस्तानसित । हसन राजाको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा इमरान नजिर, मोहम्मद सामी, इमरान फरहात, दानिस कानेरिया जस्ता खेलाडीहरु थिए । तर सो म्याच एक बल पनि नफ्याकिकन वर्षा का कारण रद्द भयो र नेपालले फेरि एक अंक पायो ।
नेपाल र केन्या
उक्त प्रतियोगीतामा दक्षिण अफ्रिका अभागी सावित भयो । समुह चरणमा उसले चार वटै म्याचहरु स्थगित भएर अंक बाँड्नुपर्‍यो । दुई अंक बटुलिसकेको नेपालका लागि केन्याको म्याच निर्णायक थियो । नेपाल र केन्यामध्ये जसले जिते पनि क्वाटरफाइनलमा जाने अवस्थामा नेपालले केन्यालाई पराजित गर्‍यो ।
केन्यालाई हराउन नेपालको बलिङ जिम्मेवार थियो । पहिलो ब्याटिङ गरेको नेपालले ४४ ओभर खेलेर आफ्नो खातामा एक सय ७ रन मात्र जोड्न सक्यो । त्यसमा ४८ अतिरिक्त रन सामेल थिए । नेपालका तीन ब्याट्सम्यानहरुले मात्रै दोहोरो अंक छुन सके ।
तर, नेपाली बलरहरुले झिनो योगफलको रक्षा गर्न सफल भए । नेपालले केन्यालाई ९३ रनमा अलआउट गरिदियो जसमा मुख्य भूमिका निभाएका थिए उनै विनोद दासले । उनले ९.५ ओभरमा २५ रन दिएर तीन विकेट लिए । महबुब आलमले ६ ओभरमा ३६ रन दिएर ३ विकेट लिएका थिए ।
केन्यासितको जितपछि नेपाल क्वाटरफाइनलमा पुग्यो भने दक्षिण अफ्रिका प्लेट च्याम्पियनसीपतर्फ धकेलियो ।
क्वाटरफाइनलः भारत र नेपाल
मोहम्मद कैफको कप्तानीमा रहेको भारत उपाधिको प्रवल दावेदार थियो । भारतीय टोलीका मुख्य हतियार युवराज सिंह थिए ।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्‍यो । ४४ ओभरसम्म टिक्दै नेपाली ब्याट्सम्यानहरुले एक सय १ रनको योगफल खडा गरे । नेपालका लागि किरण अग्रवालले २९ र सन्दिप श्रेष्ठले २१ रन बनाएका थिए । भारतको जवाफी ब्याटिङका क्रममा विनोद दासले पहिलो बलमै विकेट लिए । मनिष शर्मालाई उनले आफ्नै बलिङमा क्याच आउट गराए । तेस्रो नम्बरमा आएका कप्तान कैफले अर्द्धसतक हान्दै टिमलाई जितसम्म डोर्‍याए । नेपालको विश्वकप यात्रा यसरी समाप्त भयो ।
आखिरमा सो विश्वकपको उपाधि पनि भारतले नै कब्जा गर्‍यो । फाइनलमा उसले सेमिफाइनलमा अष्ट्रेलियालाई र फाइनलमा श्रीलंकालाई हराएको थियो ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget