भारतले नाका नखोले प्रधानमन्त्री चीन जानुहुन्छ: थापा

१७ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्न सक्ने एमालेका एक नेताले बताएका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने बताएका ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् ।

सूर्य थापा
‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो, एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले अनलाइनखबरसँग भने- ‘भारतले परिस्थिति अनुकूल बनाएन भने प्रधानमन्त्री पहिले चीन भ्रमणमा जानुपर्छ र जानुहुन्छ भन्ने मलाई लाग्छ ।’
नाकाबन्दी नखुल्दासम्म भारत भ्रमणमा जानु वाञ्छनीय नहुने प्रधानमान्त्री ओली आफैंले सार्वजनिक अभिव्यक्ति दिइसकेकाले वीरगञ्ज नाका सहज नभई उनी भारत नजाने थापाले ठोकुवा गरे ।
गत मंगलबार बालुवाटारमा आयोजित सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले नाका सहज नभएसम्म भारत नजाने स्पष्ट पारेका थिए ।
एमाले नेता थापाका अनुसार भारतसँगै चीनले पनि एकै दिन भ्रमणको निम्तो दिएको हुनाले भारतभन्दा पहिले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने सम्भावना छ ।
थापाले अनलाइनखबरसँग भने- ‘चिनियाँ राजदूत असोज २४ गते फूलको गुच्छा लिएर प्रधानमन्त्रीलाई बधाइ दिन जाँदा नै चीन भ्रमणको निम्तो प्राप्त भएको हो । चिनियाँ राजदूत प्रधानमन्त्रीसँगै भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् बधाइ एवं भ्रमणको निम्तो दिएका हुन् ।’
पहिले चीन जान पार्टीको सुझाव
स्रोतका अनुसार नेकपा एमालेका नेताहरुले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई वीरगञ्ज नाका नखुलेको अवस्थामा भारतको भ्रमण गर्नुभन्दा चीन भ्रमण गर्न सुझाएका छन् ।
नाका सहज नभएको अवस्थामा चीन भ्रमणमा गएर प्रधानमन्त्रीले महत्वपूर्ण सम्झौताहरु गर्न उपयुक्त हुने बहस एमालेभित्र सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी छवि रहेको र नाकाबन्दी नखुलेकै अवस्थामा दिल्ली जाँदा उनीमाथि स्वदेशमा आलोचना हुन सक्ने एमाले नेताहरुले आँकलन गरेका छन् ।
पछिल्लोपटक संविधान संशोधन गरिसकेको अवस्थामा पनि वीरगञ्ज नाका नखुलेपछि यथास्थितिमा भारत जान प्रधानमन्त्रीले मन नगरेको एमाले स्रोतले बतायो ।
ओलीको अडान र धोका
प्रधानमन्त्री केपी ओली आफ्नो वचन र अडानमा दृढ भएका कारणले पनि उनले आफ्नो पहिलो भ्रमण चीनबाटै सुरु गर्न सक्ने एमाले नेताहरुको दाबी छ ।
भारतले पटक-पटक नाका खोल्छु भनेर विश्वासघात गरेको भन्दै प्रधानमन्त्री ओलीले चित्त दुखाएका छन् । बालुवाटारमा पत्रकारहरुसँग समेत ओलीले यस्तै गुनासो व्यक्त गरेका थिए ।
वीरगञ्ज नाका कहिले खुल्छ प्रधानमन्त्रीज्यू भन्ने पत्रकारको प्रश्नमा ओलीले दुई/चार दिनमा खुल्ने बताएका थिए । तर, आज ६ दिन बितिसक्दा पनि नाका खुलेको छैन । तीन दिन अगाडि पाँचवटा सवारी साधन खुलेको वीरगञ्जमा फेरि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरिरहेका छन् ।
प्रधानमन्त्रीले पहिले पनि नाका चाँडै खुल्छ भन्नुहुन्थ्यो, अब दुईचार दिनमा खुल्छ भन्ने के प्रमाण छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए कि आफूले मित्रहरुलाई विश्वास गर्ने गरेको तर, आफ्नो विश्वासमा कहिलेकाँहि धोका हुने गरेको छ ।
कसले बन्द गर्दैछ वीरगञ्ज नाका ?
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणको पूर्वशर्त वीरगञ्ज नाकालाई बनाएका छन् । यसको अर्थ वीरगञ्ज नाका भारतले अवरुद्ध गरेको हो भन्ने प्रधानमन्त्रीको निश्कर्ष देखिन्छ ।
यद्यपि प्रधानमन्त्री ओलीले नाका कसैले नभई अघोषित रुपमा बन्द भएको र अघोषितरुपमै खुल्ने बताएका थिए । संविधान संशोधनपछि मधेसका प्रायः सबै जिल्लामा सवारी साधन र पसल व्यवसायहरु सहजरुपमा चल्न थाले पनि वीरगञ्ज नाका अझैसम्म सहज हुन सकेको छैन ।
सरकारी अधिकारीहरुले भारतले नाकाबन्दी गरेको र उसैले खोल्नुपर्ने बताए पनि मधेसी मोर्चाका कार्यकर्ताहरु नाकाको धर्नामा सहभागी हुँदै आएका छन् ।
मोर्चाका नेता महन्थ ठाकुरले नाकाबन्दी हठाउनेबारे मोर्चाको बैठक बसेर यसमा पुनर्विचार गर्न सकिने बताएका छन् । भारतीय अधिकारीहरुले भने सुरुदेखि नै आफूहरुले नाकाबन्दी नगरेको एकोहोरो तर्क गर्दै आइरहेका छन् ।
भारतमा तयारी, चीन चुपचाप
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्ज नाका सहज नभई भारत भ्रमणमा जान्न भने तापनि उता दिल्लीमा चाँहि ओलीको भ्रमणबारे चर्चा परिचर्चा सुरु भैसकेको छ । तीन दिनअघि भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा नेपाल मामिला र ओलीको भ्रमणका विषयमा पनि कुरा उठेको थियो ।
प्रधानमन्त्रीले भारत जान्न भने पनि उनको भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल भ्रमणको तयारीका लागि भारत जान लागेको अवस्था छ । भारतले यही फेबु्रअरीमा ओलीलाई दिल्लीमा स्वागत गर्ने तयारी गरेको छ । तर, उनको चीन भ्रमण मार्चमा मात्रै हुने गरी गृहकार्य भइरहेको छ ।
नेपालका प्रधानमन्त्रीको चाहनाअनुसार चीन भ्रमणको तिथि तय हुन गाह्रो छ । र, यसका लागि चिनियाँहरुका तर्फबाट साइत जुर्नुपर्ने हुन्छ, जुन साइत मार्चअगावै जुर्ने सम्भावना कमै छ ।
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget