नेपाल विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं: नेपाल बंगलादेशमा जारी आईसीसी यू १९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार आयरल्यान्डलाई आठ विकेटले हरायो ।

सोही दिन भएको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई हराएपछि नेपालसँगै भारत पनि समूह ‘डी’ बाट अन्तिम आठमा पुगेको छ ।


समूहमा नेपाल र भारत दुवैको दुई खेलबाट समान चार अंक छ । पहिलो खेलमा नेपालले न्युजिल्यान्ड र भारतले आयरल्यान्डलाई हराएका थिए ।

भारत र नेपालबीच हुने खेलले समूहविजेता र उपविजेताको टुंगो लगाउनेछ । नेपाल यू १९ विश्वकप क्रिकेटमा १६ वर्षपछि अन्तिम आठमा पुगेको हो । यसअघि सन् २००० मा आयोजित संस्करणमा पनि नेपालले यस्तो सफलता हातपारेको थियो ।

 त्यतिबेला नेपाल प्रतियोगिताको क्वार्टरफाइनल (सुपर लिग) मा पुग्ने इतिहासकै पहिलो एसोसिएट राष्ट्र बनेको थियो ।

नेपालपछि अफगानिस्तानमात्र एसोसिएटका रूपमा यू १९ विश्वकपको अन्तिम आठमा पुगेको छ । अफगानिस्तानले उक्त सफलता सन् २०१४ को संस्करणमा हातपारेको थियो ।

नेपाल यो प्रतियोगिताको अन्तिम आठमा दुईपटक पुग्ने पहिलो एसोसिएट राष्ट्र बनेको छ । आयरल्यान्डविरुद्ध नेपालले सशक्त बलिङ गर्‍यो । पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेट गुमाएर एक सय ३१ रनमात्र जोड्नसकेको थियो ।

नेपालका बलर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिए । दीपेन्द्र ऐरीले दुई तथा सुनिल धमला र सुशील कँडेलले एकएक विकेट हातपारे । लेग स्पिनर सन्दीपले १० ओभरमा २७ रनमात्र खर्चिएका थिए । नेपालले २५.३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालका योगेन्द्र कार्कीले अविजित ६१ रन जोडे भने आरिफ सेख पनि ३१ रनमा अविजित रहे । प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले २८ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान शंकर राना गोल्डेन डकआउट भएपछि दबाबमा आएको नेपालले दोस्रो विकेटका लागि ५५ र तेस्रो विकेटका लागि ७७ (अविजित) रनको साझेदारी गरेको थियो ।

नेपालले विश्वकपमा सुरुका दुवै खेल जितेको यो पहिलोपटक हो । सन् २००० को विश्वकपको सुरुका दुई खेल रद्द हुँदै अंक बाँडिएपछि र तेस्रो खेलमा केन्यालाई हराएपछि नेपाल अन्तिम आठमा पुगेको थियो ।

सन् २००२ र २००४ को विश्वकपमा नेपाल पहिलो चरणमा तीनमध्ये दुई खेल जिते पनि नेट रनरेटमा तेस्रो स्थानमा रहेपछि अन्तिम आठमा पुग्नसकेको थिएन । ती दुवै संस्करणमा नेपालले पहिलो खेल हारे पनि त्यसपछि लगातार दुई खेल जितेको थियो ।

सन् २००० मा पहिलोपटक यू १९ विश्वकप खेलेको नेपाल त्यसपछि लगातार चार संस्करणमा सहभागी भएको थियो । सन् २००८ पछि भएका चार संस्करण (जारीसहित) मा नेपाल दुईपटकमात्र सहभागी भएको थियो । सन् २०१२ को अन्तिम सहभागितामा भने नेपालले समूहगत चरणका तीनवटै खेलमा हार बेहोरेको थियो ।

यू १९ विश्वकपमा नेपालको यो सातौं सहभागिता हो । सन् २००० को संस्करणमा अन्तिम आठ सुपर लिगका रूपमा सञ्चालन गरिएको थियो, जसमा दुईवटा समूह थिए । नेपालले आफ्नो समूहका तीनवटै खेल क्रमशः श्रीलंका, भारत र इङ्ल्यान्डसँग हार बेहोरेको थियो । नेपालले समूहको आफ्नो अन्तिम खेलमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget