प्रधानमन्त्रीद्धारा धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती अवलोकन

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली नमुना एकीकृत बस्तीको अवलोकन गरेका छन् । भूकम्प गएको ३ महिनामै निर्माण सम्पन्न भएको काभ्रे डाँडागाउँस्थित पहरीवस्तीको करिब नौ महिनापछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।
बस्ती अवलोकन पश्चात प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीको सामाजिक कामको प्रशंसा गरेका छन् । सरकारले पनि पुनः निर्माणको काम छिट्टै थालनी गर्ने उनले बताएका छन् । नाकाबन्दीको समस्या समाधानको संघारमा रहेको जिकिर गर्दै उनले नाका सहजपछि पुनः निर्माणमा पनि सहज हुने बताएका छन् । धुर्मुस–सुन्तली एकीकृत बस्ती रहेको जमिन गुठीको नाममा रहेकाले घरधनिको स्वामित्वमा ल्याउनका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । एकीकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहाँका बासिन्दाले बाँकी रहेका पहरीहरुको लागि पनि त्यस्तै किसिमको घर बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । यस विषयमा पनि आफुले सक्दो सहयोग गर्ने प्रधानमन्त्री ओलीले संकल्प गरेका छन् । भूकम्प पश्चात अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तलीलगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् । अल्पसंख्यक र पिछडिएको जाती पहरीहरुको दयनिय अवस्था रहेकाले २० परिवारलाई धुर्मुस–सुन्तलीले घर निर्माण गरिदिएका हुन् । नमुना बस्ती निर्माणमा ठूलो खर्च लाग्ने भएपछि उनीहरुले विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए । धेरैले अवलोकन र प्रशंसा गरेका एकीकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन् । भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्याँस, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ । एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ । आफुहरुले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरुलाई बस्ती निर्माण गरीदिए पनि सरकारले अहिलेसम्म काम अघि बढाउन नसकेको सिताराम कट्टेल (धुर्मुस) ले दुःख व्यक्त गरेका छन् । भूकम्प प्रभावितहरुको दयनिय स्थिति रहेको भन्दै उनले पुन निर्माणका लागि निकै ढिलाई भईसकेको बताएका छन् । सक्रियता जनाउने हो भने भूकम्पले क्षतिग्रस्त हरेक बस्तीलाई नमुना बस्ती जस्तै बनाउन सकिने उनको दृढता छ । एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाइसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजिलै निर्माण गर्न सक्ने कुञ्जना घिमिरे सुन्तलीले बताएकी छन् । निर्माण थालनीपश्चात धेरैले सहयोगी मन देखाएकाले नमुना बस्ती बनेको सम्झना गर्दै सबैको सहयोग रहेमा अन्य बस्ती निर्माणको नेतृत्व लिन पनि आफूहरु तयार रहेको उनको भनाई छ । गरिबी र पिछडिएको समुदाय आफुहरुको प्राथमिकतामा रहेको बताउँदै उनले महोत्तरीको मुसहर बस्तीलाई पनि नमुना बस्ती बनाउने चाहना रहेको सुनाएकी छन् ।ratopati

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget