सेन वार्नका फ्यान सन्दीप विश्वकपकै ‘हेर्नलायक बलर’

१७ माघ, काठमाडौं । आयरल्यान्डविरुद्ध म्याचमा ह्याट्रिक गरेपछि नेपाली युवा क्रिकेट सन्दीप लामिछाने बंगलादेशमा जारी विश्वकप क्रिकेटमा चर्चा र चासोका पात्र बनेका छन् ।
क्रिकेटसम्बन्धी चर्चित वेबसाइट क्रिकइन्फो डट कमले उनलाई प्रतियोगिताभरि हेर्नलायक बलरको संज्ञा दिएको छ ।
आयरल्यान्डसितको म्याचमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिने क्रममा सन्दीपले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरेका थिए । आफ्नो दोस्रो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका सन्दीपको बलिङमा नेपाल आयरल्यान्डमाथि पूरै हाबी भएको थियो ।
टि्वटरमा आफ्नो बलिङबारे सन्दीप लेख्छन्, ‘मसित लेग ब्रेक, गुगली, फ्लिपर, टप स्पिन र जुटर छन् ।’ बलिङमा यति धेरै विविधता भएका सन्दीपले आफ्नो आइडल मान्छन्, अस्ट्रेलियन ख्यातिप्राप्त स्पिनर सेन वार्नलाई ।
न्युजिल्यान्डसितको डेब्यु म्याचमा उनलाई धेरैले नोटिस गरेनन् । सो म्याचमा सात ओभर बलिङ गरेका सन्दीपले १ विकेट लिने क्रममा ४१ रन खर्चेका थिए । आयरल्यान्डसितको दोस्रो म्याचमा भने उनको बलिङले विश्वकै ध्यानाकर्षण गर्‍यो । आफ्नो पहिलो स्पेलमा एक विकेट लिएका सन्दीपले ३२ ओभरमा दोस्रो विकेटका लागि फर्कंदा ह्याट्रिक विकेट लिँदै आयरल्यान्डलाई धराशायी बनाएका थिए ।
अन्डर-१९ विश्वकप इतिहासमा सन्दीपको ह्याट्रिक अहिलेसम्मकै पाँचौँ हो । यसअघि सन् २००० मा वेस्ट इन्डिजका जेमाइन लसन, २०१० मा बंगलादेशका कामरुल इस्लाम रब्बी, २०१२ मा अस्ट्रेलियाका ह्यारी कोनवे र २०१४ मा भारतका कुलदीप यादवले ह्याटि्रक लिएका थिए । अस्ट्रेलियाका ह्यारीले लिएको ह्याट्रिक नेपालविरुद्ध थियो ।
सन्दीपले आफ्नो ह्याट्रिकभन्दा टिमको जित महत्वपूर्ण रहेको बताएका छन् । क्रिकइन्फोसित उनी भन्छन्, ‘लगातार दुई विकेट लिएपछि फालेको तेस्रो बलमा मेरो सारा ध्यान ह्याट्रिकतर्फ थियो । यद्यपि, मैले अहिलेसम्म जीवनमा कुनै पनि म्याचमा ह्याट्रिक लिएको थिइनँ ।’
चितवनका सन्दीप सानैदेखि क्रिकेटमा रुचि राख्थे । उनी भन्छन्, ‘सानोमा रेडियोमा क्रिकेट कमेन्ट्री सुन्थेँ । पछि टेलिभिजनमा हेर्न थालेँ ।’
सन्दीपको प्रतिभालाई चिनेर नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले उनलाई काठमाडौं बोलाएका थिए । विश्वकपमा उनको प्रदर्शनले दासानायकेको छनोटलाई न्याय गरेको छ ।
जारी यू-१९ विश्वकपमा अहिलेसम्म तीन स्पिनरले पाँच विकेटको सफलता हासिल गरिसकेका छन् । क्रिकइन्फो लेख्छ, ‘प्रतियोगितामा स्पिनले बिस्तारै प्रभुत्व जमाउने संकेत देखिएको छ । बंगलादेशी विकेटमा अभ्यस्त बन्दै गएका लामिछाने, निसन्देह प्रतियोगिताका आगामी दिनमा हेर्न लायक बलर हुन् ।’
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget