म त्यत्ति नराम्री छु र प्रपोजै नआओस्?

घरमा सबैले उनलाई ‘फाइभ स्टार’ भन्छन्, घरकी पाँचौ छोरी हुन् उनी। घरकी यी 'फाइभ स्टार' धेरै पहिला नेपाल टेलिभिजनको गायन प्रतियोगिता नेपाली तारामा ‘टप फाइभ’बाट बाहिरिइन्। तर उनले यात्रा रोकिएनन्। अघि बढिरहिन् र अहिले नेपाली गायनाकाशमा उनी ‘स्टार’ छिन्।
कुराकानी आधाजति भइसकेको थियो। तर, बल्ल इन्दिराले भनिन्, ‘लौ अब कुरा सुरू गरौँ है।’ मोबाइलको स्क्रीन अन गरेर उनले ‘सेड्यूल’ देखाइन्, ‘अर्को मिटिङ पनि भ्याउनु छ।’
यो कलाकारहरूको सिजन हो। देशभर ‘मेला–महोत्सव’ चलिरहेको छ, जो कलाकारले कमाउने थलो हो। त्यसमा पनि अझ, इन्दिरा जोशी?
अघिल्लो साता लाजिम्पाटस्थित फ्राइडे क्याफेमा सेतोपाटी टिम इन्दिरा जोशीसँग गफिँदै थियो। उनलाई हामीले प्रश्न सोधेनौँ। कुराकानीको सुरुवातै ‘तपाईँलाई नेपालमा भेट्न त साह्रै गाह्रो हुँदो रहेछ!’ भन्नेबाट भयो।

‘कुरै नगरौँ, यो त हाम्रो सिजनै हो,’ मुहार छोपिरहन खोज्ने कपाल पन्छाउँदै उनी हल्का हाँसिन्, 'कमाउने बेलै यही हो।’
उनी आफैँ अघि बढिन्, ‘हो, विदेशतिरै बढी हुन्छु, अहिले यतातिर पनि महोत्सवहरु चलिरा’छन्।’
उनी अहिले नेपालमै भइरहेका मेला महोत्सवमा ‘बिजी’ छिन्। त्यही मौकामा हामी गफिँदै थियौँ। बोलिरहँदा उनी रोकिइन्। र, भनिन्, ‘ल अब त सुरु गरौँ ढिला हुन्छ।’
एकछिन हाँसो भयो। हामीले भन्यौँ, ‘यही त हो कुराकानी। हामी प्रश्नोत्तर गर्दैनौँ।’
निधारमा हत्केला राख्दै उनले जिब्रो टोकिन्, ‘पत्रकारले प्रश्नमात्रै सोध्नुहुन्छ क्या।’
गफिँदा प्रसङ्ग महिला अधिकारको बारेमा चलिरहेको थियो। उनीले आफैँ भन्दै थिइन्, ‘छोरा–छोरी जे भएपनि म त मेरो सासु अनि श्रीमानलाई कन्भिन्स गर्नसक्छु, मान्नुहोला पनि।’
उनी ढुक्क थिइन्।
‘ए त्यसो भए यस्तो छलफल गर्ने समय पनि चाँडै आउँछ होला।’
सोफामा एकछिन गुटमुटिएर हाँसिन् उनी। अनि फेरि भनिन्, ‘बिहे गर्नलाई मेरो दिदी अझैँ बाँकी नै हुनुहुन्छ म त, पूरै सेफ जोनमा छु।’
हुन त, उनलाई बिहेका प्रस्ताव नआएका होइनन्।
एकपटक, विदेशको कार्यक्रममै एउटा परिवारले आफ्नो छोरासँग बिहेको प्रस्ताव गरेको थियो। तर, उनले मानिनन्।
नवलपरासीको परासी बजारमा जन्मिएकी उनी घरकी पाँचौ छोरी हुन्। उनीपछि एउटी बहिनी र एउटा भाइ छ। छोरा वा छोरी जन्माउने प्रसङ्ग यसैबाट सुरु भएको थियो।
कक्षा पाँचमा पढ्दा नै उनी पहिलोपटक काठमाडौं आएकी थिइन्, ‘को भन्दा को कम’ भन्ने कार्यक्रममा गायन प्रतियोगिताका लागि। त्यसमा पहिलो भएपछि उनलाई सबैले भने, ‘अब, केटी पक्का गायकै हुन्छे।’
स्कुलमा ‘डान्स’ गर्न हौस्याउने इन्दिराकी आमाले पनि त्यो बेला भनिन्, ‘ल, अब राम्ररी गाउनेमात्रै।’
त्यसपछि उनको फोकस गाउनतिर भयो। तर स्कुले जीवनमा उनी धेरै नाँच्थिन्। नर्सरीदेखि नै नाँच्न थालेको सम्झना ताजै छ, उनीसँग। स्कुलमा धेरै प्रतियोगिता भइरहन्थे। प्रथममा सधैँ नाम लेखिन्थ्यो- इन्दिरा जोशी।
तर, उनकी आमालाई लागिरहन्थ्यो रे- इन्दिराले गीतमात्रै गाओस्।
‘कतै मैले गुनगुनाएको सुनेपछि आमाले आफ्नो सारा थकाइ नै दूर हुन्छ, भन्नुहुन्थ्यो,’ आमाको त्यो प्रशंसा सम्झिँदा इन्दिराको मुस्कान अहिले पनि गर्विलो हुन्छ। र त, आज इन्दिरा गायकी दुनियाँमा ‘बोल्ड’ अक्षरले लेखिएकी छिन्।
‘को भन्दा को कम’ प्रतियोगितामा विजेता भएपछि उनले नेपाल टेलिभिजनको गायन प्रतियोगिता नेपाली तारामा भाग लिइन्। तर उत्कृष्ट पाँचबाट बाहिरिइन्। त्यो पाँच जनाको लिस्टमा उनीमात्रै गायिका थिइन्, अरु सब गायक। त्यो बेलै उनी धेरैको नजरमा परिसकेकी थिइन्।
सानैदेखि नाँच्ने, गाउने इन्दिरालाई त्यै बेला लाग्थ्यो, ‘म ठूलै गायक हुन्छु।’
हुन पनि सानैदेखि इन्दिरा ‘दादा’ नै थिइन्। त्यसैले त नेपाली गायन दुनियाँमा इन्दिराको ‘दादागिरी’ पनि उत्तिकै चलिरहेकै छ। स्कुले जीवनमा दादागिरी यहाँसम्म चल्थ्यो कि उनले केटाहरुलाई लखेटीलखेटी पिट्थिन्। त्यसका लागि उनले आफैँ अगुवा भएर केटीहरुको समूह नै बनाएकी थिइन्, ‘ब्वाइज हेट्स ग्रुप।’
‘केटीहरुलाई हेप्ने केटाहरुलाई पिट्ने काम यो समूहको थियो,’ सम्झनाले एकछिन उनी खित्किइन्, ‘हामीले केटाहरुलाई हायलकायल पार्थ्यौँ।’
अचेल पनि केटीहरुलाई नराम्रो नजरले हेर्ने केटाहरुको आँखा फोड्दिउँझैँ लाग्छ रे उनलाई। ‘अझ माइक्रोबसमा कुइनाले केटीहरुलाई घोच्ने केटाहरु सम्झिँदा त हातै काट्दिउँ झैँ हुन्छ,’ आफ्नै गाडी नहुँदा भोगेको पीडाले उनी अझै रन्थिन्छिन्, ‘सहरमा त झनै यस्ता कुरा गरेर साध्यै छैन।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget