पेरिसमा देखा परे चालकविहीन अज्ञात विमान

१४ फागुन, पेरिस ।


उच्च सुरक्षाको समयमा फ्रान्सेली राजधानीमा रहस्यमय रूपमा मानवविहीन विमान देखिन थालेका छन् र पेरिसको आकाशमा पछिल्लो दोस्रो रात पनि यस्ता अज्ञात विमान उडेको जानकारी प्रहरीले दिएको छ ।

गत वर्ष शृङ्खलावद्ध रूपमा यस्ता विमान फ्रान्सको आणविक संयन्त्रमा देखापरेका थिए । हालै फ्रान्सेली राष्ट्रपति निवास तथा पारमाणविक पनडुब्बी रहने स्थल ब्रिटनीको खाडीमा पनि यस्ता विमान देखापरेका छन् ।

अधिकारीहरूले यस्ता विमान नियन्त्रणमा लिनसकेका छैनन र उनीहरूले यस्तो काम कसले गरेको भन्ने सम्बन्धमा कुनै निर्णय गर्नसकेका छैनन् । फ्रान्सेली राजधानीमा चालकविहीन विमान उडाउनु कानुनविपरीत मानिन्छ । गत महिना जिहादीले आक्रमण गरेपछि यहाँ सुरक्षाको व्यवस्था अझै कडा बनाइएको छ ।




एक प्रहरी सोतले प्रत्यक्षदर्शी तथा सुरक्षा सेनाले मङ्गलबार तथा बुधबार पेरिसको मध्यभागमा कम्तीमा पाँचवटा यस्ता विमान देखिएको जानकारी दिएको बताए । सैनिक सङ्ग्रहालय नजिकै रहेको अमेरिकी दूतावास नजिकै, आइफल टावर तथा फ्रान्सेली राजधानी जाने अनेकौँ मार्गमा एक सानो विमान फेला परेको जानकारी उक्त स्रोतले दिए ।

प्रहरीले अघिल्लो रात झैँ पेरिसमा पाँच छुट्टाछुट्टै चालकविहीन विमान फेलापारेको र उनीहरूले यस कार्यका पछाडि रहेका व्यक्ति पत्ता लगाउने प्रयास गरेको बताइएको छ ।

अक्टोबर महिनामा सरकारी नियन्त्रणमा रहेको ऊर्जा कम्पनी इडीएफले सात आणविक संयन्त्रमा मानवविहिन सात विमानहरू फेला पारेपछि प्रहरीलाई जानकारी दिएका हुन् । यसपछि अधिकारीहरूले यो सहस्यमय उडानका बारेमा जानकारी प्राप्त गरेका हुन् ।

यस प्रकारको विमान नोभेम्बर महिनामा पनि देखा परे । उक्त समयमा आणविक संयन्त्रमाथि करिब २० विमान देखा परेका थिए । यी विमानका चालकलाई हालसम्म फेला पार्न सकिएको छैन । अक्टोबर महिनामा २४ वर्षीय एक इजरायली पर्यटकले नोत्र दाम चर्चमा चालकविहीन विमान उडाएको भनी निजलाई एक रात हिरासतमा लिइएको थियो र ४०० युरो जरिवाना गरिएको थियो ।

जिहादीले आक्रमण गरी १७ व्यक्तिको हत्या गरेपछि र मुलुक सुरक्षाका लागि उच्च सतर्क अवस्थामा रहेपछि पनि जनवरी २० मा एक चालकविहीन विमान पेरिसमा राष्ट्रपतिको कार्यालयमाथि उडेको थियो । हाल धेरै प्रहरी तथा सेना सडकमा रहेका छन् र उनीहरूले यस्ता धेरै विमान देखेको हुनसक्छ ।

प्रहरीका एक स्रोतले धेरै संवेदनशील क्षेत्र संरक्षित रहेको र हाल आफूहरूले कानुन लागु गर्ने निकायलाई आकाशमा पनि ध्यान दिन आग्रह गरेको बताए । जनवरीको अन्त्यमा चार पारमाणविक पनडुब्बी रहने ब्रिटनीको खाडी नजिकै साना चालकविहीन विमान देखा परेका थिए । यो मुलुकको सबैभन्दा सुरक्षितस्थलमध्ये एक हो ।

फ्रान्सको कानुनले साना नागरिक चालकविहीन विमानलाई पारमाणविक संयन्त्र जस्ता संवेदनशील क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको छ । यी क्षेत्रलाई उडान निषेधित क्षेत्र भनिएको छ र यसवरपरका २.६ किलोमिटरको क्षेत्र र एक हजार मिटरको उचाइसम्म विमान उडाउन पाइन्न ।

यस्ता चालकविहीन विमान तथा त्यसका चालकलाई पत्ता लगाउन कठिनाइ भएको अवस्थामा फ्रान्सले यस्ता विमान पत्ता लगाउने प्रविधि विकास गर्न १० लाख युरोको कार्यक्रम सञ्चालन गरेको छ ।

चालकविहीन विमान सबै आकार तथा स्वरूपमा उपलब्ध हुन्छ । यसका विभिन्न प्रकारका उपयोग छन् । यसलाई सैनिक उपयोगदेखि, गुप्तचरी गर्न, चलचित्र बनाउन, खेलमा, प्रकोपमा उद्धार कार्यमा तथा वैज्ञानिक अनुसन्धानमा उपयोग गरिन्छ ।

सबैभन्दा आधारभूत चालकविहीन विमानलाई रेडियोबाट कन्ट्रोल गर्न सकिन्छ भने जटिल विमानलाई माइलौँ पर रहेका व्यक्तिले पहिले नै प्रोग्राम गरी सञ्चालन गर्न सक्छ । रासस,एएफपी

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget