धोका भयो भन्छन् पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका दिन
दिएको शुभकामना सन्देशमा ०६३ वैशाख ११ गते सात
दलसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन्
। तर, सात दलसँग पूर्वराजा ज्ञानेन्द्रले के–के
सहमति गरेका थिए भन्ने
कुरा वक्तव्यमा खुलाइएको छैन । ०६३ साल वैशाख ११
गते आन्दोलनरत सात दलसँग वार्ता गरेपछि तत्कालीन
राजा ज्ञानेन्द्रले विघटित
प्रतिनिधिसभाको पुनस्र्थापना गरेका थिए ।
त्यसपछि बसेको प्रतिनिधिसभाको बैठकले ०६५ साल
जेठ १५ गते अन्तरिम संविधान जारी गर्दै
राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा गरेको थियो ।
गणतन्त्र


घोषणा भइसकेपछि नारायणहिटीमा पत्रकार सम्मेलन
गरेर ‘जनताको निर्णय’ भन्दै नागार्जुन बसाई
सरेका उनले अहिले आएर सहमतिको कुरा किन निकाले
भन्ने कुरा राजनीतिक वृत्तमा छलफल र
चर्चाको विषय बनेको छ ।
०६२/०६३ को आन्दोलन, नयाँदिल्लीमा भएको १२ बुँदे
सहमति आदिलाई फर्केर हेर्ने हो भने ००७ साल, ०४६
साल र ०६५ सालमा भएको राजनीतिक परिवर्तन
राजा र दलहरुबीचको सहमतिबाटै भएको देखिन्छ । तर,
०६५ सालमा सात दल र तत्कालीन
राजा ज्ञानेन्द्रबीच पक्कै पनि राजतन्त्र फाल्ने
कुरामा सहमति भएको थिएन होला । किनभने ०६३
साल वैशाख ११ गते
प्रतिनिधिसभा पुनस्र्थापना भइसकेपछि
गिरिजाप्रसाद कोइरालालाई
प्रधानमन्त्रीको शपथ पनि पूर्वराजा ज्ञानेन्द्रले नै
खुवाएका थिए । त्यसपछि कोइरालाले कहिले
‘बेबि किङ’ त कहिले ‘कल्चरल किङ’ भनेर भन्दै
आएका थिए । त्यति मात्र होइन,
माओवादी नेता डा. बाबुराम भट्टराईले समेत
सांस्कृतिक राजाको चर्चा गरेका थिए ।
नेपालमा भएको यति ठूलो राजनीतिक
परिवर्तनमा पूर्वराजा ज्ञानेन्द्रको अहम्
भूमिका हुँदाहुँदै
पनि संविधानसभाको पहिलो बैठकबाटै नेपालबाट
राजतन्त्र कसरी अन्त्य भयो ? यस प्रश्नको जवाफ
पूर्वराजा ज्ञानेन्द्रसँग पनि छैन ।
दोस्रो पटक निर्मलनिवासमा भेट्दा मैले
पूर्वराजा ज्ञानेन्द्रसँग जिज्ञासा राखेको थिएँ–
सरकार, तपाईं र सात दलबीच सहमति नभएको भए,
नेपालमा यति ठूलो राजनीतिक परिवर्तन सम्भव
थिएन, देश दोहोरो भीडन्तमा जाने थियो,
रक्तपातपूर्ण स्थिति आउन सक्थ्यो । तर, तपाईंले
त्यो बाटो त्यागेर सहमतिको बाटो रोज्नु भयो ।
सात दलसँग तपाईंको सहमतिले नेपालमा गणतन्त्र
स्थापना त भयो । तर, तपाईंले आफ्नो ‘स्पेश’ नै
नराखी किन सहमति गर्नुभयो ?
पूर्वराजा ज्ञानेन्द्रले जवाफ दिए– धोका भयो ? मैले
सोधे– कसले धोका दियो ? उनले भने– गिरिजाले ।
फेरि मैले कोट्याए– माधव नेपालसँग सम्पर्क भएन ? उनले
भने अहँ भएन । त्यसपछि फेरि मैले सोधे– गिरिजाले
कसरी धोका दिए त ? उनले भने– संविधनसभाबाट
गणतन्त्र घोषणा हुनु दश/बाह्र दिन अगाडिसम्म
गिरिजाप्रसाद कोइराला मेरो नियमित
सम्पर्कमा थिए । उनले पशुपतिभक्त महर्जनमार्फत्
कुरा मकहाँ पुर्याउँथे । जब उनले म सँग सम्पर्क टुटाउन
खोजे, त्यसपछि मैले पशुपतिभक्तलाई गिरिजासँग भेट्न
भने । पशुपतिले पनि धेरै प्रयास गरे । तर, गिरिजाले
भेट्न मानेनन् । संविधानसभाको पहिलो बैठकबाटै
राजतन्त्र अन्त्य गर्न विदेशीहरुले गिरिजालाई ठूलै
दबाब दिएका थिए । त्यो कुराको सुइँका पाएरै
पूर्वराजा ज्ञानेन्द्रले आफ्ना प्रमुख सचिव
पशुपतिभक्तलाई बालुवाटार पठाएका थिए । तर,
अन्तिम समयमा गिरिजाप्रसाद कोइरालासँग
पूर्वराजा ज्ञानेन्द्रको के
सहमति भएको थियो भन्नेबारे उनले कुरा खोल्न
चाहेनन् ।
मैले फेरि कोट्याएँ– सरकार, करन सिंहसँग त
केही सहमति भएको थियो होला नि ? उनले गम्भीर
हुँदै भने– ‘अहँ त्यस्तो केही सहमति भएको थिएन ।
उनी भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूत भएर
मलाई भेट्न आएका थिए । उनले नेपालमा शान्ति,
स्थिरता र लोकतन्त्रका कुरा राखे । मैले
त्यो कुरामा सहमति जनाए ।
बालुवाटारमा पाकिस्तानका पत्रकारहरुसँग
गिरिजाप्रसाद कोइरालाले
‘बेबिकिङ’को कुरा गरेको तथ्यलाई केलाउने हो भने,
ज्ञानेन्द्र र गिरिजाको बीच मौखिक
सहमति भएको निष्कर्ष निकाल्न सकिन्छ । तर,
पछि गिरिजा आफैं राष्ट्रपति बन्ने
लोभमा फसेको कारण उनले राजसंस्था नै सिध्याए ।
नेपालमा गणतन्त्र स्थापना भएको पनि आठ वर्ष
बितिसकेको छ । संविधानसभाको निर्वाचन पनि दुई
पटक सम्पन्न भइसकेको छ । तर, संविधान कहिले बन्छ भन्ने
कुराको टुंगो अहिलेसम्म छैन ।
हिजो राजा फाल्न एकजुट भएका सात राजनीतिक
दलमध्ये माओवादी र मधेसवादी दल एकातिर, कांग्रेस,
एमाले अर्कोतिर फर्किएको अवस्था छ ।
संविधानसभामा कुनै एक दलको पनि दुईतिहाइ बहुमत
छैन । सहमतिबाट संविधान जारी गर्न
संविधानसभामा उपस्थित सबै ठूला दलबीच
सहमतिको खाँचो पर्छ । त्यसो नभई बहुमतीय
प्रक्रियाबाट संविधान जारी गरिने हो भने,
फेरि पनि माओवादी, मधेसवादी बाहिर पर्छन् ।
हिजो द्वन्द्वरत माओवादीलाई
शान्ति प्रक्रियामा ल्याउनका लागि कांग्रेस–
एमालेले संविधानसभा स्वीकारेका हुन् ।
शान्ति प्रक्रिया हुँदै संविधानसभाभित्र प्रवेश
गरेको माओवादी फेरि त्यो प्रक्रियाबाट
बाहिरिने हो भने देशमा स्थायी शान्ति स्थापित
हुन सक्दैन । किनभने माअोवादी र मधेसवादीले
राज्यको पुनर्संरचनामा जातीय
मुद्दा घुसाइसकेका छन् । हिजो १२ वर्ष गणतन्त्र
स्थापना गर्ने नाममा सुरु भएको ‘जनयुद्ध’ मा १६
हजारको ज्यान गयो भने भोलि देशमा सल्किने
जातीय युद्धले कतिको ज्यान जाने हो ठेगान छैन ।
यस्तो अन्यौलपूर्ण
अवस्थामा आएको पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यले
नागरिक बन्ने स्वयं
ज्ञानेन्द्रको चाहनामा तातोपानी खन्याउने त
छैन ? किनभने, नारायणहिटी छाडेर हिंड्दा उनले देश
नछाड्ने बरु देशभित्रै नागरिक भएर बस्ने सार्वजनिक
अभिव्यक्ति दिएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget