नवलपरासीमा स्वाइनफ्लुका बिरामी भेटिएपछि हेल्प डेक्स स्थापना

कावासोती, १४ फागुन । नवलपरासीमा स्वाइलफ्लुका बिरामी भेटिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीले सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरेको छ ।
भारतमा स्वाइनफ्लुका कारण करिब एक हजार १०० को ज्यान गएको र आठ हजारभन्दा बढी सङ्क्रमित भएकाले सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला पृथ्वीचन्द्र अस्पताल नवलपरासीका सुपरिटेन्डेट डा नुरुल होदाले जानकारी दिए । चितवनको अस्पतालबाट चारजनामा स्वाइनफ्लु इन्फ्लुयन्जा ए, एचवान एनवान फेला परेकोमध्ये नवलपरासी दिव्यपुरीका एक जनामा स्वाइनफ्लु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । नवलपरासीमा भने परीक्षणका कुनै व्यवस्था नभएकाले थाहा पाउन मुस्किल भएको डा होदाको भनाइ छ ।
भरतपुर अस्पतालबाट नमुनाका लागि पठाइएका ४३ जनामध्ये चार जनामा सो सङ्क्रमण फेला परेको हो । स्वाइनफ्लुको सङ्क्रमण बढ्ने भएकाले सुरक्षाकर्मीसहित जिल्लाका त्रिवेणी र महेशपुर नाकामा स्वास्थ्यकर्मी संलग्न हेल्प डेक्स स्थापना गरिएको हो । भारतबाट खुला सीमाका कारण आवतजावत हुनेको सङ्ख्या धेरै हुने भएकाले निगरानी बढाइएको छ ।
रुघाखोकी लागेकालाई उपचारमा सल्लाह दिने, मास्कको प्रयोग गर्ने र हात मिलाउने काम कम गर्न हेल्प डेक्समार्फत सचेतना गराइन्छ । जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयमा सचेतना कार्यक्रम गरिने भएको छ । भारतीय सीमाका क्षेत्रमा निगरानी गर्दा सङ्क्रमणबाट बच्न सकिने भएकाले जिल्लाका संयन्त्र परिचालन गरिएको हो । जिल्लाभित्रै स्वाइनफ्लुका बिरामी भेटिएपछि त्यसको सङ्क्रमणबाट बच्न जिल्लावासीलाई जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले आग्रह गरेको छ । रासस

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget