सरकारले भित्र्यायो प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि (फोटोफिचर)

काठमाडौं, पुस ३० । तपाइँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला ! प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नुभएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको छ ।

प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि संकायका प्रमुख डा. सुरेशकुमार ढुंगेल र इको पाटीका अध्यक्ष चिसेको मात्सुमोतोले विहीबार हस्ताक्षर गरे ।

नेपालमा यो प्रविधि नयाँ भएपनि संसारका विकसित मुलुकका लागि भने पूरानै हो । इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिसमेत जडान गरिसकिएको छ ।

हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ ।

नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. रवीन्द्रप्रसाद ढकालले परीक्षणकारुपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन पाउँदा आफूहरुलाई खुसी लागेको बताए ।

नास्टले ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत आगामी एक महिनाभित्र भित्र्याउने उद्देश्य राखेको छ ।

‘सबै प्रक्रिया अगाडि बढेको छ, हामी आगामी एक महिनाभित्र जडान गरिसक्छौं’–प्रविधि संकाय प्रमुख ढुंगेलले भने । सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७०० मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ ।

नास्टका वैज्ञानिकसमेत रहेका डा. ढकालका अनुसार सामान्य पानीको बोत्तल एक किलोग्राम प्रशोधन गर्दा ७०० मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा ८०० मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ ।

विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भएपनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि संकलन गर्न सकिन्छ ।

नास्टका सचिव बुद्धिरत्न खड्गीले प्लास्टिकबाट ठूलोमात्रामा इन्धन निकाल्ने प्रविधि केही समयभित्रै जडान गरिने भएपनि तत्कालका लागि सानो प्रविधि जडान गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताए ।

प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, जस्ता समस्या भोग्दै आएका छौं ।

इको पाटी जापानका अध्यक्ष मात्सुमोतो नेपालका हिमालबाट सुरु भइ प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिमा काम गर्न लागेको बताउँछन् ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार दैनिक काठमाडौं उपत्यकामा एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ भने महानगरको मात्रै ५५० टन फोहोर उत्पादन हुन्छ । उत्पादित फोहोरमध्ये २० प्रतिशतभन्दा बढी फोहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर रहने गरेको छ ।

यस हिसाबले २० टनभन्दा बढी प्लास्टिकजन्य फोहोर त काठमाडौं उपत्यकाबाटै उत्पादन हुन सक्छ ।

डा. ढकालकाअनुसार एक हजार किलो प्लास्टिकको फोहोरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ । काठमाडौं उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर इन्धन उत्पादन हुन्छ ।

विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट संकलन हुने प्लास्टिकजन्य फोहोरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा. ढकालको भनाइ छ ।

‘महानगर आफैंले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो । त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहोरलाई इन्धन बनाउन सके त त्यसले फोहोर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ’–प्रमुख कुँवर भन्छन् ।

भूकम्पपछि काठमाडौं उपत्यकामा प्लास्टिकजन्य फोहोर बृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुक्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहोर अत्यधिक बढेको फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो ।

त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहोरको मात्रा बढेको अनुमान गर्न सकिन्छ ।

काठमाडौं उपत्यकामा उत्पादित फोहोरमध्ये ६० प्रतिशत फोहोर कुहिने हुन्छ । जसबाट प्रांगारिक मलको अर्को व्यवसाय गर्न सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ । केही पुनः प्रयोग गर्न सकिन्छ ।

प्लास्टिकजन्य फोहोरबाट डिजेल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजेल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा. ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउँछन् ।

व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उनको भनाइ छ ।

आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने जानकारी दिँदै डा. ढकाल दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिकरुपमा इन्धन उत्पादन गरिएको बताउँछन् । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget