मोर्चाको आन्दोलन शिथिल, नाका धमाधम खुल्दै

जनकपुरधाम : लगातार पाँच महिनादेखि आमहड्तालको क्रममा मधेसी मोर्चाले सीमानाका अवरोध गरि गर्दै आएको असहयोग आन्दोलन विस्तारै शिथिल हुँदै गएको छ ।

सीमानाकाहरुमा मोर्चाका कार्यकर्ताहरुले धर्ना बस्न छाडेपछि सरसामानहरु सहजै भित्रिन थालेका छन् भने बजारहरुमा समेत समानको अभाव कम हुँदै गएको छ ।

नेपाल भारतको धनुषा र महोत्तरीको सीमानाकामा मोर्चाले गरेको नाका अवरोध पुर्णरुपमा हटेको छ ।


तराईमा चिसो बढेपछि सीमानाकामा धर्ना बस्ने मोर्चाका नेता र कार्यकर्ताहरु हटेपछि धनुषाको जटही, खजुरी, महिनाथपुर, ईनर्वा र महोत्तरीको भिठ्ठामोड, मटिहानी र सम्सीसहितका नाकाहरु पूर्णरुपमा खुलेका छन् ।

मधेसी मोर्चाले नाका अवरुद्ध गर्नका लागि दशगजामा निर्माण गरेका टेन्ट यथावत देखिएपनि त्यसमा कोही  नेता कार्यकर्ता भेटिँदैनन् । आन्दोलन लम्बीदैं गएकोले सहभागिता घटेको बताइएको छ ।

नाकामा अवरोध हट्नेबित्तिकै मालसामानको ढुवानी तीव्ररुपमा हुन थालेको हो । यस क्षेत्रको प्रमुख नाकाको रुपमा रहेको महोत्तरीको भिठ्ठामोड नाकाबाट राति ११ बजेपछि सबै सामानहरु भित्रिन थालेका हुन् ।

नाकाहरुबाट ट्रयाक्टर, ट्रक र टिपरहरुमा दैनिकरुपमा आवश्यक सरसामग्रीहरु आयात भईरहेको पाईएको छ ।

सरकारले वैधानिक तरिकाले आउने मालसामानबाट पाउने राजश्व अहिले आन्दोलनको कारण निकै घटेपनि सिमानाकाको अवरोध हट्दै जाँदा सर्वसाधारणको कष्टकर दैनिक विस्तारै फेरिन थालेको छ ।

दैनिक उपभोग्यका सरसामानहरु चामल,दाल, तरकारी, खाने तेल सहित अन्य आवश्यक सामग्रीहरु भारतबाट आयात गर्ने गरिएकोले नाका अवरोध हुँदा मधेसका बजारमा यी सामानहरुको मुल्य आकाशिएको थियो ।

भन्सार कार्यालय बन्द हुँदा सस्तो मुल्यमा भित्र्याइएका सामानहरुको समेत व्यापारीहरुले चर्को मुल्यमा बेच्दा पनि अनुगमनकारी निकाय मौन बसेको छ ।

आन्दोलनकारीहरु सीमानाकामा जान छाडेपनि सदरमुकाम जनकपुर, जलेश्वर सहितका ठाउँहरुमा भने दैनिकरुपमा विरोध तथा प्रर्दशनको कार्यक्रम हँंदै आएको छ ।

अहिले जनकपुर बजारमा समेत पहिलेको तुलनामा चहलपहल बढ्दै गएको छ । बजारहरु खुल्न थालेका छन् भने सरकारी कार्यालयहरुमा पनि कामकाज हुन थालेको छ ।

विहीबार जिल्ला विकास कार्यालय धनुषा औपचारिकरुपमा नखुलेपनि जिल्ला प्रशासन कार्यालयमा भने सेवाग्राहीहरुको भिड लागेको थियो ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget