उत्तर कोरियामा रहेको 'नाम नाम कम्पनी' ले ती कामदारहरूलाई सुरुङ खन्न नेपाल पठाएको हो। पर्यटक भिसामा आएका ५४ उत्तर कोरियालीले कानुनविपरीत सिन्धुपाल्चोकको एक हाइड्रो पावर कम्पनीमा काम गरेकोबारे सरकार बेखबर छ।
नेपाल प्रवेशका लागि उनीहरूले पर्यटक भिसा लिएका छन्। पर्यटक भिसामा आएर कुनै पनि विदेशीले काम गर्नु अध्यागमन कानुनविपरीत हो। उनीहरूले विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्ने जि मेवारी समालिरहेका छन्। तीन महिनाको पर्यटक भिसामा नेपाल आएका उनीहरू केही दिन काठमाडाैं बसाइपछि उक्त हाइड्रो पावर कम्पनीको सुरुङ खन्न सिन्धुपाल्चोक गएका थिए।
उनीहरूले सुरक्षा सावधानी नअपनाई सुरुङ खन्ने काममा संलग्न भएको पनि स्रोतले बताएको छ। यस्तै जोखिमपूर्ण काम गर्दा मलेसियामा गत वर्ष चार उत्तर कोरियालीको ज्यान गएको थियो।
घुम्न नेपाल आएको उत्तर कोरियाली पूर्वसैनिकहरूको हूल विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्न व्यस्त हुँदा सरकारलाई पत्तै छैन।
ती उत्तर कोरियाली करिब एक महिनाअघि नेपाल आएका थिए। नाम नाम कम्पनीले नेपालको स्थानीय एक कम्पनीसँग सुरुङ खन्ने सम्झौता गरेबमोजिम ती उत्तर कोरियालीहरू सिन्धुपाल्चोक पुगेका हुन्। विमानस्थल अध्यागमन कार्यालयले उत्तर कोरियालीहरू तीनमहिने पर्यटक भिसामा नेपाल आएको पुष्टि गरेको छ।
विमानस्थल अध्यामगनका प्रमुख गोविन्द कार्कीले ती उत्तर कोरियालीको हूलपर्यटक भिसामा नेपाल आएको बताए। पर्यटक भिसामा नेपाल आएका कुनै पनि विदेशीले यहाँ काम गर्न नपाउने कार्कीले बताए।
उनले भने, 'उनीहरू कहाँ, कस्तो अवस्थामा छन्, मलाई थाहा छैन।' गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले घुम्न आएका उत्तर कोरियाली नागरिकहरूले कुनै कम्पनीमा काम गरिहेको भन्ने सूचना पाएको बताए । उनले भने, 'सूचना पाएका छौं, आधिकारिकता बुझिरहेका छाैं।'
नेपालको फितलो सुरक्षा अवस्थाको फाइदा उठाउँदै पर्यटक भिसाका उत्तर कोरियालीहरूले काम गरेको दाबी सुरक्षा स्रोतको छ। उनीहरू किन आएका हुन् र किन सुरुङ खन्ने काममा लगाइए भन्नेबारे सरकारले अनुसन्धान गर्नुपर्ने जिकिर गर्दै गृहका एक उच्च अधिकारीले भने, 'सरकारले त्यस्ता अवैध विदेशीलाई तत्काल देश निकाला गर्नसक्छ।'
उक्त हाइड्रो कम्पनीले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग समेत समन्वय गरेको छैन।
अध्यागमन विभागका निर्देशक ध्रुवराज जोशीका अनुसार यसबारे अध्यागमनमा कतैबाट उजुरी आएको छैन। उनले अध्यागमन विभागलाई यसबारे जानकारी नभएको पनि बताए। सुरुङ खन्न जिम्मा लिएको कम्पनीको लापरबाहीले उत्तर कोरियाली त्यहाँ पुगेको स्रोतले बताएको छ। सुरुङ खन्ने जिम्मेवारी पाएका ठेकेदारले केही उत्तर कोरियालीलाई श्रम स्वीकृति दिलाउने प्रयास गरेको पनि स्रोतले उल्लेख गरेको छ।
सुरुङ खन्ने काम गरिरहेका केही कामदार श्रम मिलाउन सिन्धुपाल्चोकबाट काठमाडाैं फर्किएका छन्। विमानस्थल अध्यागमन स्रोतका अनुसार काठमाडौं ओर्लिएपछि अध्यागमन अधिकृतको सोधखोजमा उनीहरूले सानेपास्थित उत्तर कोरियाली दूतावासमा बस्ने भनेका थिए।
टनेल खन्न र विस्फोट गराउन पो त उनीहरूबारे गृह मन्त्रालयले कुनै अनुगमन गरेको छैन। पश्चिमा मुलुकहरूले समेत उच्च निगरानीमा राखेका उत्तर कोरियालीलाई पर्यटक भिसामा काम गर्न लगाउनुले समग्र सुरक्षाप्रति समेत प्रश्न उठाएको गृहका एक अधिकारीले बताए।
Post a Comment