सत्तारुढ भारतीय जनता पार्टीलाई नराम्रो झट्का दिँदै राजधानी नयाँ दिल्लीमै अत्याधिक बहुमत ल्याउने निश्चित भएपछि आम आदमी पार्टी आपका संयोजक अरबिन्द केजरीवाले आफूलाई डर लागेको बताएका छन् । दिल्लीका जनताले आफूलाई अपार समर्थन गरेपछि आफूलाई जिम्मेवारी पुरा गर्ने कुराले चिन्तित तुल्याएको उनको भनाइ छ ।
नयाँ दिल्लीको पटेलनगरस्थित पार्टी कार्यालयमा जम्मा भएका कार्यकर्तालाई संवोधन गर्दै केजरीवालले जितले नमात्तिन आग्रह गरे । सत्तारुढ विजेपी अहंकारका कारण नै चुनाव हारेको दावी गर्दै उनले जनताले दिएको मतलाई लिएर नमात्तिन आग्रह गरे । मात्तिएमा जनताले फेरी सवक सिकाउने उनको भनाइ छ ।
आफूहरु सबै मिलेर जनताको सेवा गर्नु पर्ने बताउँदै केजरीवालले आफू सामान्य मान्छे भएको तर दिल्लीका जनतासँग मिलेर दिल्लीलाई गर्व गर्न लायक शहर बनाउने उद्घोष गरे ।
केजरीवालले भाषण गरिरहँदा उनका कार्यकर्ताले गरेको हुटिङका कारण उनले कैयौं पटक भाषण नै रोक्नु परेको थियो ।
मोदीलाई घर भित्रै चोटः
लोकसभा चुनावमा नाटकीयरुपमा बहुमत हासिल गरेर देशलाई नै मोदीमय बनाएका भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने दिल्लीको चुनाव घातक सिद्ध भएको छ । मोदीले हार स्वीकार गर्दै केजरीवाललाई बधाइ दिइसकेका छन् ।
मोदीले राजधानीमै चुनावी हार ब्योहोरेपछि उनको लोकप्रियता खस्किन थालिसकेको त होइन भन्ने चर्चा समेत शुरु भएका छन् । लोकसभा चुनावमा मोदीकै प्रतिस्पर्धी बनेका केजरीवालले चुनाव हारेका थिए । तर अव आएर उनले लोकसभा चुनावको हारको बदला मोदीलाई महंगो पर्ने गरी लिएका छन् । यो हारले गर्दा मोदीको आत्मविश्वासमा समेत समस्या पार्न सक्ने कतिपय विश्लेषकले बताएका छन् ।
Post a Comment