नेपाली सेनाका पूर्वप्रधानसेनापती रुक्माङगत कटवालले राजनीतिक भागवण्डाको नाममा प्रजातान्त्रिक पद्धतीलाई तहसनहस बनाएको बताएका छन्। भागवण्डाले प्रजातान्त्रिक पद्धतीलाई उँभो नलगाउने भन्दै उनले भागवण्डाले धर्म संस्कृति, सम्प्रदाय, जातजाती र नेपालीलाई तोड्ने काम गरेको बताए।
बुटवल महिला जेसिजको १९ औं पदहस्तान्तरण एवं पदस्थापन कार्यक्रममा बोल्दै पूर्व प्रधानसेनापती कटवालले संविधानसभाभित्र माघ ११ गते मच्चिएको वितण्डा भागवण्डाकै कारण भित्रिएको एउटा विकृति भएको बताए। भागवण्डाको नाममा क्षमता विहीन व्यक्तिहरु संविधानसभा प्रवेश गर्दा संविधानसभामा बांदरे चरित्र देखिएको बताए।
त्यहाँको तोडफोडको घटनाप्रति आक्रोस व्यक्त गर्दै कटवालले संविधानसभा भित्र रहेका हरेक सम्पत्ति नेपाली जनताले रगत र पसिनाले किनेको उल्लेख गर्दै कुनै दलको पेवा नभएको र नष्ट गर्ने अधिकार पनि नभएको बताए। “तपाईले भाँचेका कुर्सी, माईक नेपालीको एकएक थोपा पसिनाबाट जुटाएको सम्पत्ति हो तपाईको विर्ता होईन, तपाईको दाईजो होईन र पेवा पनि होईन, नेपाली जनताको भविश्य समेटिएको संविधान लेखिने ठाउँमा त्यो बांदरे प्रवृत्ति प्रदर्शन गर्न बन्द गर्नुस्।” कटवालको आक्रोश थियो।
एकीकृत माओवादीको १० लाख सेना बनाउने भन्ने पछिल्लो अभिव्यक्ति प्रति ईंगित गर्दै पूर्व प्रधानसेनापती कटवालले नेपाली जनताले अब रक्तपात र आन्दोलन नभई दुई छाक खाने वातावरण चाहेको बताए। “दशवर्षमा धेरै बैंक लुटिए, भौतिक संरचना ध्वस्त बनाईए, हज्जारौं नेपालीको रगत बगाईयो, अब कसको लागि आन्दोलन नेपाली जनता आन्दोलनबाट वाक्कदिक्क बनेका छन्।” उनको भनाई थियो।
लोकतन्त्रको नाममा अरूलाई सम्मान गर्ने र अरुको अस्तित्व स्वीकार्ने परिपाटी हराउँदै गएको उल्लेख गर्दै उहाँले यस्तो प्रवृतिले लोकतन्त्र बलियो हुने नभई झनै कमजोर बन्दै जाने बताए। हामी जातजाती, भाषाभाषी भन्दा पहिले नेपाली हौं भन्ने भावनाको विकास नहुँदासम्म नेपालीले गौरव गर्ने वातावरण श्रृजना नहुने उनले बताए।
“ईतिहाँस थप्ने हो मास्ने होईन, बनेको शालिक ढाल्दैमा ईतिहास थपिदैन ईतिहास लेख्नको लागि शालिक थप्दै जानुस्।” उनको आग्रह थियो।
अहिलेको राजनीतिक नेतृत्व र राजनीतिक संरचना परिवर्तन नगर्दासम्म परिवर्तनको आशा गर्नु बेकार रहेको बताउँदै उनले अब सबै क्षेत्रको नेतृत्व युवावर्गले लिनुपर्ने बताए। पूर्व प्रधानसेनापती कटवालले विधीको शासन स्थापित गर्न अनुशासनमा बस्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि शिक्षित हुनुपर्ने बताए।
सहि व्यक्तिलाई सहि समयमा सहि जिम्मेवारी दिन सक्यो भने उसले गर्ने नेतृत्व सफल हुने उल्लेख गर्दै कटवालले पारदर्शिता, जिम्मेवारीबोध र योग्यता अनुसारको नेतृत्व नै प्रजातन्त्रका मुल आधार रहेको र यसलाई जेसिजले स्थापित गर्न सक्नुपर्ने बताए।
अशिक्षा र आरक्षका कारण महिलाहरु पछाडि परेको भन्दै उनले महिलाहरुलाई आरक्षण नभई शिक्षमा समानता चाहिएको बताए।
सो अवसरमा बुटवल जेसिजका वर्ष २०१५ का अध्यक्ष कृष्णदेव भण्डारीले बुटवल महिला जेसिजमा विगतमा केहि मतभेद देखिएको उल्लेख गर्दै अबको नेतृत्वलाई त्यसलाई हटाउनुपर्ने बताए।
पदस्थापन कार्यक्रममा वर्ष २०१४ का अध्यक्ष मञ्जु पराजुलीले २०१५ का अध्यक्ष ज्ञानधरा पन्तलाई र पन्तले आफ्नो नेतृत्वलाई जेसिज सपथ गराएकी थिईन्। अध्यक्ष पन्तले आफ्नो कार्यकालमा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।
कल्पना पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, राजुदेवी खनाल, कल्पना थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
Post a Comment