प्रचण्ड र आफ्नो समाचारमा बाबुरामको गम्भिर आपत्ति
एमाओवादीका नेता डा बाबुराम भट्टराईले आफू र अध्यक्ष प्रचण्डबीच फरक धार रहेको र बाबुरामले ‘कांग्रेस र एमालेसँग मिल्नुभन्दा बरु राजा फर्काउनु बेस’ भनेको भन्दै एक राष्ट्रिय दैनिकका प्रकाशित समाचारको खण्डन गरेका छन् ।
बाबुरामको सचिवालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको र समाचार निराधार र कपोलकल्पित रहेको जनाएको छ ।
बाबुरामका स्वकीय सचिव विश्वदिप पाण्डेको नाममा जारी उक्त विज्ञप्तिमा बाबुराम र प्रचण्डबीच कुनै पनि खालको मतभेद नरहेको र पार्टी पूर्णतः आन्दोलनमा होमिएको दावी समेत गरिएको छ ।
विज्ञप्ति जस्ताको तस्तैः
आजको नागरिक दैनिकमा प्रकाशित ‘विपरित लाइनमा दाहाल–भट्टराई’ शीर्षकको समाचारमा ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेखित विषयबस्तु पूर्ण रुपले निराधार र मिथ्या छ । सो समाचारमा उल्लेख गरिएको वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई उद्धृत गरेर ‘कांग्रेस र एमालेसँग मिल्नुभन्दा बरु राजा फर्काउनु बेस’ भनी लेखिएको कुरा पूर्ण रुपले मिथ्यापूर्ण र निराधार छ । सामन्तवादी राजतन्त्रको अन्त्यका लागि हिजो त्यति ठूलो बलिदानीपूर्ण सशस्त्र संघर्ष भयो, आज राजा फर्काउने कुरा बोल्नु त परै जाओस् सोच्न पनि नसकिने नेता भट्टराईको स्पष्टोक्ति छ । हामी उक्त समाचारको खण्डन गर्न चाहन्छौं । साथै जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमलाई समाचारको तथ्य पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न पनि आग्रह गर्न चाहन्छौं ।
अहिले एमाओवादी सम्पूर्ण रुपले आन्दोलनमा होमिएको स्पष्ट पार्न चाहन्छौं । एमाओवादीमा कुनै पनि विवाद नरहेको र वरिष्ठ नेता भट्टराईको आन्दोलन गर्ने र प्रतिगमनका विरुद्ध एकजुट हुने विषयमा अध्यक्ष प्रचण्डसँग कुनै पनि मतभेद नरहेको पनि स्पष्ट गर्न चाहन्छौं ।
एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराई सधैं सहमतिकै पक्षमा हुनुहुन्छ । एमाओवादी १२–बुँदे समझदारी यताका सहयात्री दलहरुको बीचमा संविधानका प्रमुख अन्तरबस्तुमा सहमति होस् भनेर नै दबाब सिर्जना गर्ने उद्देश्यले नै यतिबेला जनपरिचालन तथा भण्डाफोर अभियानमा छ र नेता भट्टराई त्यसैअन्तरगत पश्चिम कमाण्डको नेतृत्व गरेर अहिले अभियानमै हुनुहुन्छ । मुख्यत: कांग्रेस–एमाले–एमाओवादी–मधेशवादी–जनजातिको बीचमा सहमतिको पक्षमा डा. भट्टराईले निरन्तर विचार र अडान राख्दै आउनुभएको छ । यी शक्तिहरुको बीचमा सहमति कायम हुन नसक्दा देश अर्को द्वन्द्वमा फस्ने खतरा रहने कुरा पनि नेता भट्टराईले विगत लामो समयदेखि इंगित गर्दै आउनुभएको छ । नेता भट्टराई देशलाई अर्को द्वन्द्वमा जानबाट रोक्न देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, जातपातजन्य सबै प्रकारका विभेद अन्त्य गर्ने गरी १२–बुँदे यताका सहयात्री दलहरुको बीचमा सहमति–सम्झौता र विगतका सहमति–सम्झौताकै आधारमा संविधान निर्माणको पक्षमा हुनुहुन्छ । यसबाहेक अन्य कुनै पनि भ्रममा नपर्न पनि हामी सबैलाई आग्रह गर्न चाहन्छौं ।
विश्वदीप पाण्डे
स्वकीय सचिव
२०७१ माघ २७
भिडियो हेर्न क्लिक गर्नुहोस :
Post a Comment