सरुवा भएकै दिन गोलीले उडायो असईको ज्यान ! अस्पताल लैजाँदा बाटोमा ट्याक्टर दुर्घटना

२१ पुस, काठमाडौं । सप्तरी नर्घो -६ का राजेन्द्र गुप्ता कसैले पटाका पड्काएको आभास भएपछि घरबाट बाहिर निस्किए । ‘दिपावली, छठ सकिसकेको अवस्थामा कसले पटाका पड्कायो भन्दै उनी घर बाहिर निस्किको बताउँछन् ।
सोही ठाउँका कारी मण्डलले चाहिँ कसैको साइकलको टायर पड्किएको महसुस गरे । घरभित्र बसेका उनी टायर पड्किको होला भन्दै घरबाट बाहिर निस्केनन् ।
स्थानीय शैलेश गुप्तालाई पनि यस्तै महसुस भयो । ‘कसैको साइकलको टायर पड्केको आभास भयो’ उनले भने, “त्यसैले खासै ध्यान दिइनँ ।”
कसैले साइकलको टायर पड्केको बुझे त कसैले पटाका पड्केको आभास गरे । तर, न पटाका नै पड्किएको थियो, न कसैको साइकलको टायर नै । बरु नेपाल प्रहरीका असई रमेश सुब्बामाथि गोली प्रहार गरिएको घटना थियो त्यो ।
‘बन्दुकबाट गोली निस्केपछि जुन आवाज आउनुपर्ने हो, त्यो आवाज नै निस्केन,’ स्थानीयहरुले भने, “तर पछि एकजना चिच्याएपछि त्यहाँ गएर हेर्दा असई सा’बलाई पो गोली लागेको रहेछ ।”
सोमबार साँझ ५ः३० बजेतिर असई सुब्बामाथि गोली प्रहार हुँदा स्थानीयहरु आ-आफ्ना घरमा थिए । ‘जाडोको समय भएकाले हामी घरमा थियौं’ स्थानीय कारी मण्डलले भने, “हाटको दिन भएकाले केही मानिस आवत-जावत गरिरहेका थिए, नजिकैको पान पसलमा १०/१२ जना उभिरहेका थिए । असई सा’ब पनि सधैं खुल्ला रुपमा हिँडडुल गर्ने भएकाले उहाँमाथि कुनै घटना हुन्छ भनेर हामीले कल्पनासमेत गरेका थिएनौं ।”
Ramesh-Subbaझुटकी प्रहरी चौकीमा कार्यरत सुब्बा चिया पिउन र हिँडडुल गर्न नर्घाे गाविसको झौहरा हाटमा आएका थिए । चिया पिएर उनी स्थानीय एक दम्पतिसँगै चौकीतर्फ प्रस्थान फर्केका थिए । हाटदेखि करिब डेढ सय मिटर पश्चिम र प्रहरी चौकीदेखि लगभग ८ सय मिटर पूर्व सानो कल्भर्ट अगाडि पुग्नााथ उनीमाथि गोली प्रहार भयो ।
उनलाई तिघ्रामा एउटा र छातीमा अर्को गरी दुई गोली लागेको थियो । गोली प्रहारको आवाज एकदमै सानो भएकाले धेरैले तत्कालै चाल नै पाएनन् ।
सुब्बाका साथमा रहेका व्यक्तिले गोली चलेको हल्ला गरेपछि स्थानीयहरुले दौडेर प्रहरीलाई खबर गरेका थिए ।
असई सुब्बामाथि तीन राउण्ड गोली फायर भएको देखिएको छ । प्रहरी चौकी झुटकीका अनुसार असई सुब्बामाथि गोली प्रहार भएको ठाउँमा ६ एमएमका दुईवटा खोकासमेत भेटिएका छन् ।
असई मीनकुमार क्षेत्रीका अनुसार सानो चाइनिज पेस्तोलको प्रयोग गरी एकदमै नजिकबाट गोली प्रहार भएको देखिएको छ ।
गोली प्रहारपछि पनि साधारणजस्तै बोलिरहे सुब्बा
कल्भर्टको बायाँपट्टीको पुल छेउमा गोली लागेपछि सुब्बाले दायाँपट्टकिो पुलमा गएर छाती टँसाएका थिए । दुबै हात तल राखेर उनले छाती पुलमा टसाउँदा सामान्य अवस्थाको मानिसजस्तै बोलिरहेका थिए ।
सुब्बालाई गोली लागेको सुनेपछि आसपासका दर्जनौं मानिस भेला भए । त्यो भिडमा रहेका व्यक्तिहरुले अनलाइनखबरसँग भने, “असई साबले भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले मलाई गोली हान्यो, चाँडो अस्पताल पुर्‍याउनुस् भनिरहनुभएको थियो ।”
स्थानीयहरुले धमाधम मोटरसाइकल खोजे पनि तत्काल मोटरसाइकल पाइएन । धेरैले प्रहरी चौकी र एक किलोमिटरको दूरीमा रहेको सशस्त्र प्रहरीको बनैनियाँ क्याम्पमा फोन गर्ने प्रयास गरे, तर फोन लागेन ।
स्थानीय चाइल्ड प्रोग्रेस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुबोध खड्का भन्छन्- ‘त्यसपछि असई सा’बले नै १०० मा डायल गरी खबर गर्नुहोस् भन्नुभयो, १०० मा डायल गर्नेबित्तिकै फोन लाग्यो र घटनाबारे जानकारी गराएको करिब आधा घण्टाभित्र सशस्त्र प्रहरीको गाडी आयो । पछि त्यही गाडीमा राखेर उपचार गराउन लगियो ।”
प्रिन्सिपल सुबोध खड्का
प्रिन्सिपल सुबोध खड्का
सशस्त्रको गाडीमा स्थानीयले सुब्बालाई चढाएपछि पि्रन्सिपल खड्काले नै काखमा बसाएका थिए । ‘बाटोमा असई सा’बले अस्पताल आयो, अस्पताल आयो भनेर धेरैपटक सोध्नुभयो’ खड्काले स्मरण गरे, “दुईपटक त उहाँ जुरुक्क उठेर बस्नुभयो, तर राजविराज नजिक पुग्नै लाग्दा उहाँको शरीर शिथिल भयो ।”
संयोग पनि कस्तो ! सशस्त्रको गाडीले सुब्बालाई लिएर सदरमुकामतर्फ आइरहँदा बोरिया गाविसमा एक ट्याक्टरले सिधै आएर सो गाडीलाई ठक्कर दियो ।
पछि जिल्ला प्रहरी कार्यालयबाट अर्को गाडी मगाएर उनलाई अस्पताल पुर्‍याइएको खड्काले अनलाइनखबरलाई बताए ।
गोली लागेको आधा घण्टापछि मात्रै प्रहरीको गाडी आउनु, बाटो एकदमै खराब हुनु, अनि घाइते सवार प्रहरीको गाडीमा ट्याक्टर आएर ठोक्किनु जस्ता कारणले समयमै अस्पताल पुर्‍याउन नसक्दा असईको ज्यान गएको प्रत्यक्षदर्शीको भनार्इ छ ।
असई सुब्बालाई दुई गोली लागे पनि घटनास्थलमा रगत देखिएको थिएन । उनलाई गोली हानिएको ठाउँमा एक थोपा रगत पनि चुहिएको नदेखिएको स्थानीयको भनाइ छ ।
नर्घो चोकमा औषधि पसल गरिरहेका अहेब राजनारायण मण्डलसहितका स्थानीयहरुले भने, “असई साबले ज्याकेट लगाएकाले त्यसभित्रै रगत बगेको हुनुपर्दछ । तल रगत झरेको हामी कसैले हेरेनौं ।”
सुब्बाको सुरुवा भइसकेको थियो
हत्या भएका असई सुब्बाको प्रहरी चौकी झुटकीबाट सरुवा भइसकेको थियो । उनको दरबन्दी इलाका प्रहरी कार्यालय गोबरगाढामा भए पनि जिल्ला प्रहरी कार्यालयले काजमा झुटकी पठाएको थियो ।
गत साउनमा झुटकी प्रहरी चौकीमा गएका उनलाई पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनु पर्नेथ्यो । किनभने उनको ठाउँमा अर्का असई मीनकुमार क्षेत्रीलाई घटना भएकै दिन पठाइएको थियो ।
क्षेत्रीलाई बरबुझारथ गरेर सुब्बालाई जिल्ला प्रहरी कार्यालय आउनुपर्नेमा सोही दिन उनको हत्या भयो ।
सुब्बाका ठाउँमा झुटकी प्रहरी चौकीमा गएका असई क्षेत्रीले आफू सबा ७ बजे प्रहरी चौकी पुगेपछि घटना भएको जानकारी पाएको बताए ।
मंगलबार प्रहरी चौकीमै भेटाएका उनले भने, “म प्रहरी चौकीमा पुगेको केहीबेरमै इलाका प्रहरी कार्यालय पातोका सई साब आएर यस्तो यस्तो घटना भयो जानुपर्छ भनेपछि हत्तपत्त पोशाक लगाएर घटनास्थल गयौं’ क्षेत्रीले भने, त्यस बेलासम्म त सुब्बा साबलाई उपचारका लागि लगिसकिएको थियो, त्यहाँ दुई राउण्ड गोलीको खोका फेला पर्‍यो ।”
झुटकी प्रहरी चौकीमा आउन सोमबार २:३० बजे पत्र पाएका क्षेत्री कार्यालयको कामकाजका कारण त्यस दिन खानासमेत नखाएको र प्रहरी चौकीमै पुगेर खाने निधो गरेका रहेछन् । तर, यहाँ आए पश्चात यस्तो घटना सुन्नेबित्तिकै उनको भोक नै हरायो ।
‘सोमबार पनि खाना खाएनौं, राति पनि भोकै बसें, अहिलेसम्म केही खाएका छैनौं’ मंगलबार मध्यान्ह प्रहरी चौकीमै उनले भने ।
स्थानीयहरु शोकमग्न
असई सा’ब एकदमै सुदहा अर्थात् भद्र मान्छे थिए’ स्थानीय राजेन्द्र गुप्ताले भने, “कसले, किन हत्या गर्‍यो, त्यसको खोजी गरिनु जरुरी छ ।”
गुप्ताजस्तै नर्घो तथा झुटकीका बासिन्दाहरु असई सुब्बाको हत्याप्रति चिन्तित देखिन्थे । उनीहरुले सुब्बालाई कसैसँग कुनै किसिमको रीसइबी नरहेको बताउँदै मार्ने व्यक्तिलाई चाँडै सार्वजनिक गरिनुपर्नेमा समेत जोड दिएका छन् ।
आवत-जावत गर्दा सबैको हालखबरबारे जिज्ञासा राख्ने गर्थे असई सुब्बा । सबैसँग हँसिलो मुखले कुरा गर्ने सुब्बाको बानी रहेको स्थानीयले बताए ।
अनुसन्धान जारी

यसैबीच घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए । उनले हत्याराको खोजी तिब्र रुपमा भइरहेको बताउँदै हत्याको कारणबारे पनि अनुसन्धान भइरहेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget