'२२ हजार कर्मचारी नेपालको तलब खाएर भारतको काम गर्छन्'

फोटो :भक्तपुरमा अायोजित संविधान सचेतना कार्यक्रममा बाेल्दै बिजुक्छे । तस्बिर : रासस
अङ्गिकृतलाई वंशजको अधिकार दिन नहुने जिकिर
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संविधान संशोधनका नाममा मधेसीलाई छुट्टै राज्य र अङ्गीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार दिन नहुने बताएका छन् ।

नगरकोट नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताका माझमा’ राष्ट्रव्यापी प्रचार अभियानमा बोल्दै उनले यस्तो बताएका हन् ।

उनले संविधान संशोधन गर्ने बेला भएको छैन, संशोधनका नाममा अङ्गीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार दिए मधेसवादी दलले मधेसको छुट्टै प्रदेश बनाउने दाबी गरे ।

जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउन नहुने उल्लेख गर्दै उनले बहुमत जनसङ्ख्या तराईमा भएको भन्दै बहुमतको प्रस्ताव मान्नुपर्छ भन्ने आधार गलत भएको बताए ।

ठूला दलका नेता विगतमा भारतसँग डराउँदा अहिलेको परिणाम भोग्नुपरेको बताउँदै उनले भारतसँग कुनै हालतमा सरकार झुक्न नहुने औँल्याए ।

नेपालको प्रशासनमा समेत भारतले हस्तक्षेप गरेको उल्लेख गर्दै उनले नेपालका प्रशासनिक क्षेत्रदेखि सुरक्षा निकायमा समेत भारतले कर्मचारी घुसाएको बताए।

'नेपालको प्रशासनिक क्षेत्रका ठूलाठूला पदमा २२ हजार यस्ता कर्मचारी छन्', उनले भने, 'जो नेपाल सरकार र भारत सरकार दुवैको तलब खाएर भारतका लागि काम गर्छन् ।'

'हामीले तकियामुनि सर्प राखेर सुतेका छौँ', त्यस्ता कर्मचारीलाई सर्पको सङ्ज्ञा दिँदै उनले भने, 'ती सर्पले जुनसुकै बेला डस्न सक्छ, सचेत हुनुपर्छ ।'

कार्यक्रममा अधिवक्ता किरण न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका उपाध्यक्ष सोम (शर्मा) बजगार्इंलगायतले संविधान कार्यान्वयनमा सबैको साथ हुनुपर्नेमा जोड दिए । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget