भारतले रोक्यो चिनियाँ कन्टेनर

फोटो : सीमावर्ती पानीट्यांकी बजारमा तीन साताको पर्खाइपछि नेपाल भित्रिन पाएका कन्टेनर।तस्बिर: अन्‍नपूर्ण
काँकडभिट्टा/विराटनगर/काठमाडौं: रक्सौलबाहेकका नाकाबाट पेट्रोलियमलगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बहानामा सीमा क्षेत्रमै रोकेको छ।

सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन्।व्यापारीहरूका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको हो।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही कमी भएको बताए। 'तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि अहिले चीनबाट आउने सामान पनि कलकत्ता बन्दरगाहबाट आउँछ', उनले भने।

उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुनसक्छ।भूकम्पका कारण तातोपानी नाका बन्द तथा रसुवागढी नाका सहज हुन नसकेकाले अहिले चीनबाट आउने कन्टेनरसमेत कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गरेका छन्।

मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने तेस्रो देशका कन्टेनरमध्ये करिब आधामा चिनियाँ सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
मेची भन्सारकै कर्मचारीहरू नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कम कन्टेनर पठाइरहेको बताउँछन्।

'भारतबाहेक अन्य देशबाट आएका कन्टेनर सहज ढंगबाट आउन सकेका छैनन्', नेपाल फ्रेटफवार्ड एसोसिएनका अध्यक्ष राजन शर्माले भने, 'कन्टेनर छुटाउन भारतीय पक्षलाई घूस दिनुपरेको गुनासोसमेत आएको छ।'

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवकुमार पाण्डेले मगाएका सामान बोकेका दर्जनौं कन्टेनर काँकडभिट्टाबाट आउन नपाएर भारतमै थन्किएका छन्। उनका अनुसार चीनलगायत अन्य मुलुकबाट आयात गरिएका सामानको प्रयोग नेपालीले कम गरून् भनेर तेस्रो देशका सामान बोकेका कन्टेनरमा भारतले कडाइ गरिरहेको छ।

उनले भने, 'यसमा भारतको ठूलो इन्ट्रेस्ट हुनसक्छ।' तेस्रो मुलुकका सामान बोकेका तथा अन्य नाकाबाट बाटो परिवर्तन गरेर आएका कन्टेनर लामो समयदेखि पूर्वी नाका काँकडभिट्टा हुँदै सहज रूपमा नेपाल आउन सकेका छैनन् । सीमा क्षेत्रमा तीन साताभन्दा बढी बस्नुपर्दा कुटाइसमेत खानुपरेको कन्टेनर चालकले बताए।

इन्धन ढुवानीमा समस्या नदेखिएको पूर्वी नाकामा तेस्रो देशबाट आयात गरिएका सामान बोकेर आएका कन्टेनरलाई नेपाल प्रवेश गर्न दिन भारतले कडाइ गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए।

भारतीय सीमावर्ती पानीट्यांकी बजारमा तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेका र अन्य नाकाबाट नेपाल प्रवेश गर्न नसकेर बाटो परिवर्तन गरेर आएका करिब ८० कन्टेनर रहेको उनले बताए।कतिपय कन्टेनर नेपाल भित्र्याउन खोज्दा भारतीय सुरक्षाकर्मीलगायत विभिन्न समूहले पैसासमेत असुल गर्ने गरेको नेपाली व्यवसायीको भनाइ छ।

केही समयअघिसम्म ३० हजार रुपैयाँसम्म पनि भारतीय सीमा क्षेत्रमा घूस खुवाउनुपरेको व्यवसायी विमल आचार्यले बताए। उनले भने, 'धेरै समूहलाई घूस खुवाउनुपर्ने बाध्यता छ।' तेस्रो मुलुकबाट सामान भित्र्याएका काठमाडौंका एक व्यवसायीले हालै प्रतिकन्टेनर ३५ हजार भारु प्रहरीलाई घूस दिएका थिए।

'घूस दिएपछि कन्टेनर अगाडि ल्याउन भारतीय प्रहरीले सहयोग गर्छन्', उनले भने, 'विलम्ब शुल्क तिर्नुभन्दा घूस तिरेर छिटो सामान ल्याउँदा फाइदा हुन्छ।'
मेची भन्सारको तथ्यांकअनुसार तेस्रो देशका सामान बोकेका १० वटा कन्टेनर सोमबार नेपाल आएका छन्।

आइतबार १३ वटा कन्टेनर आए भने शनिबार ८ र शुक्रबार १० वटा कन्टेनर आए। प्रमुख भन्सार अधिकृत अधिकारी सीमामा धेरै कन्टेनर रोकिएको जानकारी गराउँदै भन्छन्, ‘कन्टेनर तथा अन्य मालवाहक सवारीसाधनको लाम उत्तरमा नक्सलबारी र दक्षिणमा बतासी पुगिसकेको छ। तर भारतीय पक्षबाट मालवाहक कन्टेनर पठाउन अझै कडाइ गरिराखेकै छ।'

विराटनगरमा पनि विभिन्न बहाना देखाएर कन्टेनर रोकेपछि उद्योगी व्यवसायीले त्यसलाई नियमित गर्न भारतीय सुरक्षाकर्मी, भन्सार र प्रशासनको ध्यानाकर्षण गरेका छन्। नियमित रूपमा नेपाल प्रवेश गर्न नदिएपछि उद्योगीलाई आर्थिक रूपमा ठूलो नोक्सानी भएको छ।

उद्योगीका अनुसार भारतीय मालसामान बोकेका ट्रक तीनपटकसम्म ओहोरदोहोर गरिसक्दा पनि कन्टेनरलाई मुस्किलले एकपटक नेपाल प्रवेश दिने गरिएको छ। जोगबनीबाट पाँच किलोमिटर परसम्म अहिले पनि सात सयभन्दा धेरै कन्टेनर लाम लागेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए।

'भारतीय उत्पादन सहज रूपमा आउन दिए पनि तेस्रो देशबाट मगाइएका औद्योगिक कच्चा पदार्थ बोकेका लहरी र ट्रकलाई बाटो नभएको बहाना बनाएर विलम्ब गरिँदैछ’, राउतले भने, ‘चार लेनको भारतीय मुख्य राजमार्गमा हाम्रा उद्योगका कच्चा पदार्थ बोकेका कन्टेनरको लाम नै छ।'

भारतीय पक्षबाट अवरोध भएपछि विराटनगर भन्सार कार्यालयका अधिकृतसमेत सहभागी टोलीले भारतीय पक्षसँग छलफल गरेको छ। अहिले धान, चामल, फलाम, मकैलगायतको आयात भने सहज छ।

समस्या बुझ्न स्थलगत निरीक्षणमा गएको टोलीमा सहभागी मोरङ व्यापार संघका सदस्य रवीन दाहालका अनुसार भारतीय प्रहरी र भन्सार कर्मचारीले भारतीय मालसामान बोकेका ट्रकलाई प्राथमिकता दिए पनि कन्टेनर रोक्ने गरेका छन्। दाहाल भन्छन्, 'तेस्रो देशका कन्टेनर रोक्दा उद्योगीले विलम्ब शुल्क तिर्नुपर्ने दर बढ्दा थप समस्या भएको छ।'

तेस्रो देशका सामान बोक्ने ट्रक र कन्टेनरलाई समेत गरेर दैनिक १० हजार रुपैयाँ शुल्क तिनुपर्ने बाध्यता रहेको उनले बताए। कोलकाता बन्दरगाहबाट हिँडेपछि चौध दिनसम्म शुल्क नलागे पनि त्यसयता शुल्क बढ्दै जाने गरेको र ४५ दिनसम्म कन्टेनरलाई आउन र जान समय लाग्ने दाहालले बताए।

विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले कन्टेनरलाई नियमित रूपमा नेपाल पठाउने विषयमा समस्या भएकाले भन्सार एजेन्ट, भारतीय भन्सारका अधिकारी र सुरक्षाकर्मीसँग छलफल गरिएको जानकारी दिए। उनले भने, 'मुस्किलले दैनिक १२ वटासम्म कन्टेनर आउने गरेकामा सोमबारदेखि संख्या केही बढेको छ।'

तातोपानी र वीरगन्ज नाका बन्द भएपछि तेस्रो देशका कन्टेनर जोगबनी र पानीट्यांकीबाट नेपाल प्रवेश गर्ने गरेका छन्। उद्योग संगठनका प्रतिनिधि मण्डलले सोमबार भन्सार कार्यालयमा सर्वपक्षीय छलफल आयोजना गरी रोकिएका कन्टेनर नियमित गर्न पुनः आग्रह गरेका छन्।

भारतीय पक्षसँग मालवाहक कन्टेनरको सहज ढुवानीका लागि अनुरोध गर्दा गुलिया बचन पाइने गरेको तर कार्यान्वयन भने नहुने प्रमुख भन्सार अधिकृतले बताएका छन्।

.annapurnapost


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget