राजा वीरेन्द्रको त्यो सवारी

२०७२ माघ १६ शनिबार


खोटाङको सेखुवामा हाम्रा पुर्खाले थलोकिलो गाडे । यो ठाउँ च्यानडाँडा गाविस वडा नम्बर १ मा पर्छ । हाम्रा पितापुर्खा यस ठाउँका किपटिया जिम्मावाल हुन् । हाम्रा पितापुर्खाले आर्जेको जग्गा जमिन अहिले पनि त्यहीँ छ ।

सानैदेखि पढाइमा रुचि थियो । तर आफू जन्मेको गाउँ शैक्षिक रूपमा पछाडि भएकोले कखरा छिचोल्न भोजपुरको छिनामखु आउनु पर्‍यो । त्यसपछि भोजपुर सदरमुकामको विद्योदय माविमा पनि पढेँ ।


पढाइलाई अगाडि बढाउने क्रममा २०२५ सालमा धरान झरियो । त्यहीँबाट हो, मैले २०२७ सालमा एसएलसी पास गरेको । पछि महेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र र राजनीतिशास्त्र लिएर पढेँ ।

पञ्चवर्षीय विकास आयोजना लागू गर्न २०३१ सालमा एउटा ठूलो सर्भे भएको थियो । त्रिभुवन विश्वविद्यालयको अनुसन्धान संस्था सेडाले गरेको त्यो सर्भेमा म पनि सहभागी भएँ । त्यसबेला मैले कोसी अञ्चलका सबै जिल्ला घुम्ने अवसर पाएँ ।

पढ्न बस्दा धरानको चतरालाइनमा गोर्खा मेजर कुलबहादुर थेवेको घरमा डेरा थियो । उनका दुई योग्य छोराहरू थिए । तीमध्ये जेठा श्री सुब्बा दार्जिलिङको सरकारी कलेजबाट स्नातक गरेर ब्रिटिस क्याम्पमा स्टोरकिपर जागिर खाँदै थिए भने उनकी श्रीमती अमृता शिक्षिका थिइन् । कान्छा छोरा लक्ष्मण सुब्बा चाहिँ त्यसबेलै वन मन्त्रालयका उपसचिव थिए ।

श्री सुब्बा र लक्ष्मण सुब्बा कृषिमा असाध्यै रुचि राख्ने र त्यसमा भविष्य देख्ने खालका थिए । तरहराको कृषि फार्मदेखि दक्षिणमा उनीहरूको २५ बिघा र कालाबञ्जरमा ५० बिघा जग्गा थियो उनीहरूको । उनीहरूको घरमा इजरायलबाट कृषिसम्बन्धी पत्रपत्रिकाहरू आउँथे । उनीहरू भन्थे, ‘माछा, बाख्रा, बंगुर, हाँस, कुखुरा पाल्नुपर्छ । फार्म खोज्नुपर्छ ।' उनीहरू भन्नेमात्रै होइन गरेर पनि देखाउँथे । उनीहरूको घरमा खरायो, हाँस, कुखुरापालन थियो । उनीहरूले काठको ठूलो बाकसमा अजिंगर पालेका थिए । उनीहरू पासोमा मुसा पार्दै अजिंगरका लागि आहारा जुराउँथे । उनीहरू भन्ने गर्थे, ‘जागिर खाने होइन, जागिर त खुवाउने हो ।'

म श्री सुब्बा र लक्ष्मण सुब्बाको भनाइ र गराइदेखि साह्रै प्रभावित भएँ । उनीहरूले मलाई प्रेरित गरे । उनीहरूको भनाइलाई गुरुमन्त्र बनाउँदै धरानमा केही काम गरियो । स्थानीय स्तरको राजनीति पनि गरियो । केही समय स्वयम्सेवी शिक्षण पनि गरियो । यता हामीले मोरङ कसेनी र बबियाबिर्तामा जग्गा पनि जोडिरहेका थियौं ।


२०३१ सालमा मैले आईए सकेँ । तर मलाई अन्य पेसाले आकर्षित गर्न सकेन, न सहरको बसाइले नै मलाई सन्तुष्ट बनाउन सक्यो । त्यसपछि मधेस बस्ने र कृषिमै रमाउनेबारे सोच्न थालियो । २०३३ सालदेखि त पूरै कृषिमा समर्पित हुने निधो गरियो ।

किसानस्तरमा सामान्य माछापालन गर्ने चलन थियो । तर मलाई लाग्यो, माछापालनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ । त्यसका लागि मेरा भेनाभगत राईसँग मिलेर बबियाबिर्ता गाविसको वडा नम्बर ८ लाई हामीले माछापालनका लागि रोज्यौं ।

कृषि विकास बैंकका तत्कालीन महाप्रबन्धक श्रीकृष्ण उपाध्यायले हाम्रै गाउँलाई माछापालनका लागि पाकेट एरियाको रूपमा छनोट गरे । हामीले २०३९ सालमा माछापालन सुरु गर्दा १० कट्ठाबाट सुरु गरेका थियौं । २०४२/४३ सम्ममा आइपुग्दा त मेरो माछापालन पाँच बिघामा र भेनाभगत राईको तीन बिघामा माछापालन विस्तारित भइसकेको थियो । त्यसपछि हाम्रो गाउँको नाम नै ‘माछागाउँ' रहन पुग्यो ।

माछापालनलाई व्यावसायिक रूप दिएर व्यवस्थित गरियो । तर बीचमा बाढी, भूकम्प, खडेरी र महामारीले दुःख नदिएको होइन । तर हिम्मत हार्ने काम चाहिँ कहिल्यै गरिएन । निरन्तर जुटियो, आफ्नो कर्ममा ।
केही समयपछि हेलिकोप्टर आएर हाम्रो माछापोखरीको डिलमा रहेको हेलिप्याडमा बस्यो । हामीले राजारानीको स्वागत गर्‍यो । राजाले मसित हात मिलाउनुभयो । उहाँले आफू थोरै बोल्ने र धेरै सुन्ने काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘राम्रो गरेका रहेछौ । अझै राम्रो गर्नू । आवश्यक सहयोग हुनेछ ।'
हामीले सुरु गरेको माछापालनलाई राज्यबाट सरसहयोग र प्रोत्साहन प्राप्त होस् भन्ने चाहेका थियौं । त्यसबेला प्रत्येक वर्ष हरेक विकास क्षेत्रमा राजाको सवारी हुन्थ्यो । २०४४ सालमा सवारीको पालो परेको थियो, पूर्वाञ्चल विकास क्षेत्रमा । हामीलाई लाग्यो, राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई हाम्रो पौरख देखाउनु पर्छ । त्यसका लागि सवारी शिविर धनकुटामा पुगेर माछापालन दर्शनका लागि राजासमक्ष बिन्तीपत्र हाल्ने काम गर्‍र्यौं ।

यो सल्लाह हामीलाई माछापालनका प्राविधिकहरू, बैंकका प्रमुखहरूले दिएका थिए । बिन्तीपत्र हालेको केही दिनपछि अर्थात् पुस महिनाको अन्तिम साता तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी र सवारीमन्त्री पशुपतिशमशेर राणा हाम्रो माछा पोखरीमा आए । उनीहरूले माछापोखरी अवलोकन गरे ।

उनीहरूले राजाको सवारी हुने नहुनेबारे केही पनि भनेनन् । तर लाग्यो, हाम्रो माछापोखरी दर्शन गर्न राजारानीको सवारी पक्कै पनि हुन्छ । सुवेदी र राणाले यति भनेका थिए, ‘हामी प्रयास गर्छौँ ।'

२०४४ साल माघ ५ गते एउटा हेलिकोप्टर हाम्रै बस्तीको आकाश हुँदै दक्षिणतिर उड्यो । लाग्यो, राजारानी चढेको हेलिकोप्टर हो यो । अब हाम्रो माछापोखरीमा पनि राजारानीको सवारी हुँनेछ ।

पोखरीको डिलमा हेलिप्याड बनाइएको थियो । म पनि दौरासुरुवाल र टोपी लगाएर राजारानीको स्वागत गर्न तयार भएर बसेँ । केराको थामको सामान्य स्वागतद्वार बनाइएको थियो, ध्वजापातका टांगिएको थियो ।

नभन्दै केही समयपछि हेलिकोप्टर आएर हाम्रो माछापोखरीको डिलमा रहेको हेलिप्याडमा बस्यो । हामीले राजारानीको स्वागत गर्‍र्यौं । राजाले मसित हात मिलाउनुभयो । उहाँले आफू थोरै बोल्ने र धेरै सुन्ने काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘राम्रो गरेका रहेछौ । अझै राम्रो गर्नू । आवश्यक सहयोग हुनेछ ।'
उहाँले सोध्नुभयो, ‘अरू केही योजना छ कि ?'

मैले पनि भनेँ, ‘नरिवल र केराको बगैंचा लगाउने योजना छ सरकार । यहाँ बाटो र बिजुली चाहिएको छ । माछाको बिमा गर्न पाए राम्रो हुने थियो ।'
मेरो मागप्रति उहाँ सकारात्मक हुनुहुन्थ्यो ।

पछि सुन्नमा आयो, माछा विकासका लागि पाँच लाख दिने कुरा भएको रहेछ । तर त्यो रकम देख्न पाइएन । पछि यो पनि सुनियो, हाम्रो माछागाउँका लागि छुट्याइएको रकम तत्कालीन क्षेत्रीय कृषि निर्देशक र मेची अञ्चलका अञ्चलाधीश मिलेर झापाको दक्षिण सीमावर्ती क्षेत्र केचना झिललाई सुधार गरेर माछापालन सुरु गरियो ।

रकम देखिएन । यसबारेमा खोजी गर्दै बिन्तीपत्र पनि दियौं । तर हाम्रो केही लागेन । त्यसपछि लाग्यो, कुरा राजासम्म पुग्न नदिइँदोरहेछ ।
मैले बिजुलीका लागि पनि बिन्ती चढाएको थिएँ । तर हाम्रो गाउँमा बिजुली बलेन । बिन्ती गरेको आठ वर्षपछि आफैं अध्यक्ष रहेको बिजुली उपभोक्तन समिति बनाइयो । अनि पहिलो संविधानसभा (२०६४) को चुनाव भएको एक साताअघि हाम्रो गाउँमा बिजुली बल्यो ।
...
विगत साढे तीन दशकदेखि म कृषिकर्ममा निरन्तर रमाइरहेकै छु । कृषि प्रधान हाम्रो देशमा कृषिको भविष्य छ । आफ्नो निरन्तरको कृषिकर्मलाई लयमा मिलाएर भन्नु पर्दा यसो भन्ने गर्छु,
नाम मेरो ऋषि
काम मेरो कृषि...।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget