विश्व पर्यटनको आकर्षण गन्तव्य बन्दै नेपाल

ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि हालै नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको प्रथम सूचीमा राखेको छ। विभिन्न प्रकारका जानकारीमूलक पुस्तक, बुकलेट आदि प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई राखेको हो।

नेपालपछि भ्रमणका लागि विश्वका उत्कृष्ट १० मुलुक कोलोम्बिया, क्युबा, जोर्डन, अल्बानिया, रोमानिया, अल साल्भाडोर, वेल्स, केन्या र श्रीलङ्का रहेका छन्। उसले आफ्नो साइडमा भूकम्पपछि नेपालका ऐतिहासिक सम्पदा पुनःपर्यटकका लागि भ्रमणयोग्य रहेको उल्लेख गर्दै पदमार्ग र होमस्टे (घरबास) कार्यक्रम सुरु भएको जनाएको छ।  नेसनल जियोग्राफिक ट्राभलरले सन् २०१६ मा घुम्न छुटाउनै नहुने १६ वटा ‘कुल’ गन्तव्य को सूची सार्वजनिक गर्दै नेपाललाई छैटौँ नम्बरमा परेको छ। इरान, कोस्टारिका, वासिङ्टन डिसी, आयरल्यान्ड र क्युवापछि ६ नम्बरमा नेपालको सर्वौच्च शिखर सगरमाथा परेको हो।

एकपछि अर्कोगरी सन् २०१६ को पर्यटन गन्तव्यमा नेपाल विश्वकै उत्कृष्ट देशको सूचीमा परेको छ। प्राकृतिक विपत्ति र अन्य कारणले ओरालो लागेका बेलामा विश्वका चर्चित गन्तव्यमा नेपाल परिरहनुले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने निश्चित छ। विश्वकै चर्चित गन्तव्यमा परिरहनुले पनि भूकम्प र तराई आन्दोलनका कारण सिथिल बनेको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने देखिन्छ।

विश्वका चर्चित प्रकाशक कम्पनी, ट्राभल गाइड बुक (रफ गाइड), नेसनल जियोग्राफिक ट्राभलर, चर्चित अमेरिकी अनलाइन, अनलाइन विजनेस इनसाइडर तथा ख्यातिप्राप्त संस्थाको सर्भेक्षण प्रतिवदेनले नेपालको सगरमाथालगायतका गन्तव्यलाई प्राथमिकताको सूचीमा पार्नुले नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विश्व चर्चित मिडिया तथा पर्यटनसम्बन्धी संस्थाले नेपाल र यहाँका पर्यटकीय गन्तव्यलाई आकर्षक सूचीमा राख्नुले नेपालको पर्यटकीय आकर्षणलाई बढाएको भन्दै पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न जरुरी रहेको उल्लेख गरे।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका पूर्वअध्यक्ष दीपक महतले विश्व चर्चित मिडियाले नेपालका पर्यटकीय गन्तव्यलाई उत्कृष्ट सूचीमा राख्नु नेपालप्रतिको आकर्षण र अवसर हो भन्दै स्रोत साधनको व्यवस्थापनसँगै पूर्वाधार विकासमा जुट्नुपर्ने खाँचो औँल्याए।  केही दिनअघि सार्वजनिक भएको प्रसिद्ध फोर्बस पत्रिकाले सन् २०१६ मा गर्नुपर्ने ११ उत्कृष्ट स्काइ डाइभको सूचीमा नेपालको सगरमाथालाई राखेको छ। नेपालमा एभरेष्ट स्काइ डाइभ कम्पनीले फिस्टेल हेलिकप्टरबाट सगरमाथामा स्काइ डाइभ गराउँदै आएको छ। फोर्बसको उत्कृष्ट ११ स्काइ डाइभको सूचीमा सगरमाथासहित अमेरिका, दुबई, अफ्रिकी मुलुक जान्बिया, न्यूजील्यान्ड, दक्षिण अफ्रिका, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया र स्पेनमा रहेका स्थान परेका छन्।

प्राकृतिक विपत्ति तथा विभिन्नखाले अवरोधका बाबजुद पनि विश्व पर्यटनमा नेपालको आकर्षण उत्तिकै बढ्दै गएको छ। वैशाख १२ को गोरखा भूकम्प र पछिल्लो अघोषित नाकाबन्दीको सङ्क्रमणमा परेको मुलुकको पर्यटन क्षेत्र एकपछि अनेक अवरोधलाई छिचोल्दै अघि बढिरहेको छ। नेपालमा सिर्जित विभिन्न अवरोध तथा प्राकृतिक विपत्तिकाबीच विश्वप्रख्यात विभिन्न अनुसन्धानमूलक संस्थाको अध्ययन विश्लेषणबाट नेपालको पर्यटनको आकर्षणलाई उच्च प्राथमिकता दिइएको पाइन्छ।

पछिल्ला चर्चित संस्थाको सूचीमा नेपालका विभिन्न पर्यटकीय स्थललाई प्राथमिकतामा राखिनुले पनि नेपाल विश्वमा थप आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ। अनुपम प्राकृतिक विविधता, भू–धरातलीयस्वरुप, सांस्कृतिक सम्पदा आदिको अद्वितीय आकर्षणले नेपाल पर्यटनका लागि विश्वमै उत्कृष्ट गन्तव्य मानिन्छ। हिमाल आरोहण, पदयात्रा, धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन भ्रमण गर्न विदेशी पर्यटक आउने गर्छन्। त्यतिमात्र नभई नेपालीको जीवनशैली र आतिथ्य सत्कारमा उनीहरु मोहित हुन्छन्।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्डले सङ्क्रमणमा परेको पर्यटन प्रवद्र्धनका लागि तत्कालै गरिनुपर्ने सर्भाइभ, रिर्भाइभको योजना लिएको छ। अर्कोतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पदयात्राका लागि विश्वका सर्वाधिक चर्चित तथा लोकप्रिय ठाउँमा पर्दछ। विभिन्न अन्तर्राष्ट्रिय मिडिया, संस्था तथा एजेन्सीले गर्ने सर्भेक्षण तथा तयार पार्ने प्रतिवेदनमा सगरमाथा तथा पूरै नेपाललाई नै विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उभ्याउने गरेका छन्।

यो पटक एक चर्चित अनलाइन विजनेस इनसाइडरले पनि नयाँ वर्ष सन् २०१६ मा घुम्न जानैपर्ने विश्वका ५० वटा गन्तव्यको सूचीमा नेपालको सगरमाथालाई पनि राखेको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मियामोतो नामक संस्थाले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भूकम्पपछि पदयात्राका लागि बहुचर्चित खुम्बु (सगरमाथा) र विश्वकै प्रसिद्ध अन्नपूर्ण सर्किट पनि सुरक्षित रहेको जनाएको थियो।  सोही संस्थाको प्रतिवेदनलाई आधार बनाउँदै मुलुकका प्रमुख २० ट्रेकिङ एजेन्सीले विदेशी पर्यटकलाई नेपाल सुरक्षित रहेको बताउँदै भ्रमणमा आउन आह्वानसमेत गरिसकेका छन्। अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ। नेपालमा ट्रेकिङका लागि आउने करिब ६० प्रतिशत पर्यटक अन्नपूर्ण क्षेत्रमा पुग्ने गर्छन्। करिब २० प्रतिशत पर्यटक खुम्बु क्षेत्रमा जान्छन् भने बाँकी २० प्रतिशत पर्यटक अन्नपूर्ण, मनास्लुलगायतका गन्तव्यमा पुग्ने गर्छन्।

भूकम्पपछि मुलुकको पर्यटन क्षेत्र सुस्त बनिरहेका बेला अन्तर्राष्ट्रिय संस्थाले विभिन्न प्रतिवेदन र वार्षिक रुपमा सार्वजनिक गर्ने सूचीमा नेपाललाई विभिन्न तहमा राख्नुले नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश गएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत नेपालबारे सकारात्मक सन्देश प्रवाह भएसँगै अहिले अमेरिका, बेलायत, न्यूजील्यान्ड, अस्ट्रेलिया, नर्बे, फिनल्यान्ड, नेदरल्यान्डलगायतका मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणको अनुमति दिइरहेका छन्।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ। कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ। रासस
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget