सांसदहरुले सोधे, अमरेशलाई राज्यले सुरक्षा र सुविधा दिनुपर्ने वाध्यता के हो ?
काठमाडौं : सांसद अमरेशकुमार सिंहलाई पूर्वप्रधानमन्त्रीकै हैसियतमा राज्यबाट सवारी तथा सुरक्षाकर्मीको सुविधा उपलब्ध गराइएकोमा सांसदहरुले आपत्ति जनाएका छन्।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले सोधेका थिए, हामीजस्तै सामान्य हैसियत भएका सिंहलाई राज्यबाट सवारी तथा सुरक्षाकर्मीको सुविधा दिनैपर्ने वाध्यता तथा कारण के हो ?
बैठकमा काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलाई राज्यले सुविधा दिनु एक हिसाबले जायज देखिए पनि आफू जस्तै समान हैसियत भएका सिंहले किन सुविधा पाएका हुन् यसबारेमा सरकारले सत्यतथ्य जानकारी गराउनुपर्ने बताए।
गृहले सुरक्षा सम्बेदनशीलता र सार्वजनिक भूमिकालाई ध्यानमा राखी सुविधा दिइएको उल्लेख गरे पनि सांसद सिंह कुन भूमिका रहेका व्यक्ति हुन् भन्दै सांसदहरुले जथाभावी तवरले सुविधा दिनु भ्रष्टाचार नै भएको बताए।
सांसद राजेन्द्रकुमार केसीले कानुनको अभावमा पूर्वविशिष्ठ पदाधिकारीलाई दिइने सुविधामा मनलाग्दी गरिएको भन्दै समान हैसियत भएका सांसद सिंहले राज्यकोषबाट सुविधा दिइने हो भने आफूले पनि पाउनुपर्ने बताए।
सांसद मोहनबहादुर बस्नेतले सवारी साधन लिँदैमा सुरक्षित हुने भन्ने मान्यताका कारण राज्यकोषको दोहन गरिएको भन्दै तत्काल नियन्त्रण गर्नुपर्ने बताए। उनले पनि सांसद सिंहलाई किन सुविधा दिइएको हो, उनी सुविधा दिनै पर्ने व्यक्ति हो भन्नेमा सरकारले प्रष्ट पार्नुपर्नेमा जोड दिए।
समाजमा प्रभाव छ भन्ने देखाउन, सौख पूरा गर्न राज्यबाट सुरक्षाकर्मी लिने, त्यसको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको भन्दै सांसद विकास लम्सालले अति विशिष्ठ व्यक्तिको परिभाषामा नै प्रष्ट पार्नुपर्ने बताए।
यस्तै सांसदहरुले राजधानीमा घर तथा आवास भए पनि घर भाडा लिएको भन्दै आपत्ति जनाएका थिए।
annapurnapost
Post a Comment