शुक्रवारबाट पूरा सिलिण्डर ग्यास

बजारमा पूरा सिलिण्डर ग्यास ल्याउने सम्वन्धमा विवाद
आधा सिलिण्डर ग्यास पनि उपभोक्ताले सहज पाउन नसकेका बेला उद्योगीहरुले भने शुक्रवारबाट पूरा सिलिण्डर ग्यास बजारमा ल्याउने तयारी गरेका छन्।

नाकाबन्दीका कारण ग्यास आयात ठप्प भएपछि आधा सिलिण्डर ग्यास वितरण गर्दै आएका उद्योगीले ग्यास लागत बढेको र ग्यास आयात पनि सहज भएको भन्दै शुक्रवारबाट नै पूरा सिलिण्डर ग्यास बजारमा ल्याउने भएका हुन्।


वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस सम्वन्धमा पत्र पठाइएको र निर्णय नभए सूचना जारी गरेरै भए पनि सिलिण्डर भरेर बजारमा ग्यास पठाइने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए।

सेतोपाटीसित कुराकानी गर्दै उनले आधा सिलिण्डर वितरण गर्दा लागत खर्च अत्याधिक बढेको र यसले उपभोक्ता र विक्रेतालाई झन सास्ती भएको बताए।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने जबसम्म सर्वपक्षीय निर्णय हुँदैन, तबसम्म उद्योगीले पूरा सिलिण्डर भरेर बजारमा ग्यास ल्याउन नसक्ने बताएको छ। मन्त्रालयका सचिव विष्णु लम्सालले सेतोपाटीसित कुराकानी गर्दै आयल निगमसित पनि यस सम्वन्धमा छलफल हुने र आयातको प्रतिवेदन समेत अध्ययन गरेर सर्वपक्षीय रुपमा मात्रै निर्णय हुने बताए।

‘वहाँहरुले जे भन्यो त्यहीं हुन्छ?, सर्वसाधारणले ग्यास पाएका छन् कि छैनन्, कति आयात भएको छ, के कारणले अभाव कायम छ?’ लम्सालले भने ‘यी सबै विषयमा अध्ययन गरेर मात्रै निर्णय गरिन्छ।’

संकटका बेला आफूहरुले नै आधा सिलिण्डर ग्यास भरेर वितरण गर्ने सुझावअनुसार कार्यान्वयन गरिएको भन्दै अध्यक्ष घिमिरेले भने अब मन्त्रालयको निर्णय कुरेर नबस्ने बताउँछन्। सार्वजनिक सूचनामार्फत जानकारी गराएर पुरा सिलिण्डर ग्यास बजारमा ल्याइने उनले उल्लेख गरे।

‘हाम्रो निर्णयले ऐन मिच्दैन, उपभोक्तालाई असहज हुँदैन, लागत खर्चमा पनि राहत मिल्छ त्यसकारण यसमा सरकारी निर्णय कुरेर बस्नुपर्ने जरुरत म देख्दिनँ’ उनले भने।

उद्योगी र वाणिज्य मन्त्रालयबीच पुरा सिलिण्डर ग्यास ल्याउने सम्वन्धमा विवाद बढेपछि आधा सिलिण्डर ग्यास समेत बजारमा आउन छाडेको छ। स्रोतका अनुसार केही उद्योगीहरुले उद्योगमा पुरा सिलिण्डर ग्यास भरेर राखेका छन्।  पुरा सिलिण्डर ग्यास ल्याउने तयारीस्वरुप उद्योगीले पुरा सिलिण्डर ग्यास भर्न थालेपछि बजारमा आधा सिलिण्डर ग्यास पनि आउन सकेको छैन। ग्यासमा कालोबजारी बढेको र पहुँच हुनेले मात्रै ग्यास पाएको सर्वसाधारणको गुनासो छ।

आधा ग्यास नै पाउन नसकेका बेला पुरा ग्यास पाउने कुराले झन् समस्या निम्तिने हो कि भन्ने सर्वसाधारणको चिन्ता छ। ग्यास पुरा सिलिण्डर भर्ने भन्ने सम्वन्धमा भन्दा पनि आधा सिलिण्डर नै पहिले सर्वशुलभ बनाउन सर्वसाधारणको सुझाव छ। setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget