''बोर्डर आयो !'' उनी बारम्बार मसँग प्रश्न तेर्साइरहन्थिन् । सीमासँग तर्सिरहेकी थिइन् । उनी बारम्बार सोधिरहन्थिन्, ''बस सुनौली हुँदै जान्छ कि रुपेडिया ?'' मसँग ठोस उत्तर थिएन । सँगै बसेका साथीसँग सोधेर भनिदिएँ, ''सुनौली हुँदै जान्छ रे !'' मलाई उनीसँग बोल्ने बहाना चाहिएको थियो, उनको प्रश्नले अवसर मिल्यो ।
अंग्रेजी वर्ष सन् २०१० को अन्तिम महिनामा काठमाडौंबाट नयाँ दिल्ली जाने बसमा चढेदेखि नै मेरा आँखा भावना र सरला (नाम परिवर्तन) मा परेको थियो । शुरुमा उनीहरुलाई तिब्बती ठानेको थिएँ । बसमा उक्लनेबित्तिकै धेरै जना तिब्बतीहरु देखेबाट मंगोलियन अनुहारका गोरा अनि पाकेर झर्लाजस्ता राता गाला भएका दुई किशोरीलाई तिब्बती ठान्नु स्वाभाविकै थियो । किशोरीहरु बिना अभिभावक दिल्ली जान लागेको ठान्ने अवस्था पनि थिएन । बसमा चढेका पाका तिब्बती तिनकै अभिभावक हुन् भन्ने लाग्यो । मतर्फ हेर्दै एउटीले तिब्बतीतर्फ इंकित गर्दै भनिन्, ''न नेपाली बुझ्छन्, न इंग्लिस बुझ्छन् न त हिन्दी नै बुझ्छन् !'' मैले भनें, ''तिब्बती शरणार्थी होलान् अनि गाह्रो परिहाल्छ नि !''
बस अगाडि नबढ्दै हामीबीच केही कुराकानी हुन थाल्यो । दुवैले म र मेरा साथीलाई बढो चासो दिन थाले । मैले सोधें, ''तपाईंहरु विद्यार्थी हो ?'' सरलाले उत्तर दिइन्, ''होइन ।'' मैले सोधें, ''उसोभए, उतै काम गर्ने गरेको होला ?'' उत्तर आयो, ''होइन !'' उनले केही बेर रोकिएर भनिन्, ''हामी घुम्न जान लागेको ।'' यो जाडो महिनामा नयाँ दिल्लीमा घुम्न जान लागेको सुनेर आश्चर्य मान्दै सोधें, ''दिल्लीको सडकमा घुम्ने हो ?'' मेरो प्रश्न सुनेर तत्काल प्रतिक्रिया स्वरुप सरलाले भनिन्, ''हाम्रो अभिभावक उतै हुनुहुन्छ क्या !'' मेरा मुख बुझो लगाउने गरी आएको उत्तरपछि कुराकानी अन्यत्र मोड्नेबाहेक विकल्प रहेन । मभित्र भने दुवैप्रति चासो बढेर गयो ।
लामो यात्रा गर्नुपर्ने अवस्था सम्झँदै कुराकानीको माहोल रोमाञ्चक बनाउन कस्सिएँ । यत्तिकैमा द्रूत गतिमा अगाडि बढेको बस थानकोट नाकामा टक्क रोकियो । माइती नेपाल सम्बद्ध महिला छिरेर चेकजाँच गर्न थाले । बसमा रहेका अन्य युवती र किशोरीहरुको परिचयपत्र माग्दै सोधपुछ हुन थाल्यो । किशोरीहरु खासखास खुसखुस गर्न थाले । एउटीले जन्मदर्ता र स्वास्थ्योपचारको कागज देखाइन् । अर्की चाहिँ चुपचाप बसिन् । दुवैमाथि सोधपुछ हुनथाल्यो । भावनाले परिचयपत्र बिर्सेको उत्तर दिइन् । उनले दिल्लीमा अभिभावक रहेको भन्दै उम्कने प्रयास गरिन् तर सकिनन् । सरला चाहिँ बठ्याईं गरेर अस्पतालको कागजपत्र देखाएर आफूलाई उम्काउन सफल भइन् ।
भावनाको बारेमा केरकार शुरु भयो । जसका कारण बस एक घण्टा थानकोट चेकपोष्टमै रोकियो । भावनाले चेकजाँच गर्नेहरुलाई विश्वस्त पार्न नसकेपछि दिल्ली जानबाट रोकिइन् । चालक र कन्डक्टरलाई जिम्मेवारी लिने नलिने सोधियो । उनीहरुले जिम्मा लिन सकिंदैन भनी उत्तर दिए । कसैले जिम्मेवारी लिन नमानेपछि उनलाई ओरालियो । रिसले आगो भएकी भावना आफूलाई जान दिइनुपर्ने माग गर्दैथिइन् । उनी भन्थिन्, ''मलाई रोकेर के गर्न खोजेको ?'' उनीसँगै सिटमा बसेकी सरलालाई भावनाबारे सोधियो । सरलाले सहज जवाफ दिइन्, ''म चिन्दिनँ । बसमा टिकट काट्ने दौरान भेट भएको मात्र हो ।'' सरलाको बठ्याईं देखेर म छक्क परेँ । एकैछिन अघि टाँसिएर भलाकुसारी गरिरहेका उनीहरु नचिनेजस्तो गर्न थाले । चेकजाँच गर्नेले सोधपुछ गर्दा दुवैको जिल्ला र गाउँ एउटै थियो । तर दिल्लीमा पटक पटक जाने आउने गरिसकेकी सरलाले चेकजाँच गर्ने महिलालाई छक्याइदिइन् । यतिसम्म कि उनले जन्मदर्ता र भारतको अस्पतालमा उपचार गरेको कागजपत्र मात्र देखाइन् । छिनछिनमा कुरा र व्यवहार फेरेकी सरलालाई रोकिएन, भावना चाहिँ रोकिइन् । एक घण्टा लामो अलमल र विवादपछि भावना बसबाट ओरालिन्, बस नागढुंगा ओर्लन थाल्यो ।
भावना बसेको सिट खाली भयो । सरला एक्लै भइन् । मेरा लागि योभन्दा उत्तम मौका अर्को थिएन । समय खेर नफाली खाली सिट ओगटिहालेँ तर चाहेर पनि कुरा अगाडि बढाउने अवसर पाइएन । सरला मोबाइल फोनमा व्यस्त रहिन् । उनी भावनालाई माइती नेपालले रोकेको जानकारी गराइरहेकी थिइन् । कहिले नेपालीमा त कहिले तामाङ भाषामा बोल्दै उनले धेरै व्यक्तिहरुलाई सूचना दिइन् । म चाहिँ उनको फूर्सदको मौका छोपी थप स्पष्ट हुन चाहन्थेँ । मैले थपें, ''तिम्रो साथीको बोल्ने ढंग नभएर फन्दामा परेको हो ।'' त्यसमा उनी सहमत भइन् । मैले भनें, ''तिमी निकै बाठी रहिछौ, नत्र तिमी पनि रोकिन्थ्यौ ।'' यतिञ्जेलसम्म सरला र भावना दिल्लीमा क्रियाशील हुन हिँडेका यौनकर्मी हुन् भन्नेमा प्रष्ट भइसकेको थिएँ । उनीहरु कुन स्तरको यौनकर्मी हुन् र कसरी काम गरिरहेका छन् भन्ने कौतुहलता मेट्न मन लाग्यो । रात छिप्पिँदै गयो । साथी थानकोट नाकामै रोकिएबाट चिन्तामा परेकी सरलालाई थप प्रश्न सोधेर तनाव दिन मन लागेन । बरु भावना रोकिएकोमा मलाई चित्त बुझिरहेको थिएन । आफ्नै इच्छाले जान चाहनेलाई रोक्नु अधिकार हनन् हो भन्ने मेरो बुझाइ थियो । बालिग भइसकेकी भावनाको अधिकार उल्लंघन भएको थियो ।
छिप्पिदो रातबीच मैले सरलाबाट थेरै थोक खोतल्न खोजेँ । आक्कलझुक्कल प्रश्न सोध्दै बेलाबेलामा उनको छक्काउन सक्ने कलाको प्रशंशा गर्थें । उनले जोस्सिएर भनिन्, ''म धेरैपटक दिल्ली गइसकेकी छु, कतिपटक त बसबाट ओरालेर सोधपुछ गरिसकेका छन्, रोक्न भने सकेका छैनन् ।'' उनको भनाइले म प्रष्ट भएँ कि दिल्लीमा उनको कमाउने बलियो स्रोत छ । शुरुमा सोध्दा घुम्न केही दिनका लागि जान लागेको भनेकी उनले दुई महिना बस्छु भनिन् । त्यसपछि उनी यौनकर्मी नै हुन् भन्नेमा कुनै शंका बाँकी रहेन ।
सरलाको हाउभाऊ नामअनुसार सरल थिएन । सामान्य युवतीभन्दा भिन्न पाएँ । घरी विदेशी संगीत सुन्ने त घरी आफैँ घुस्रेर कुरा गर्न खोज्ने । उनीबारे बढी जान्न लाडे पल्टिएर बोल्ने शैलीको कृत्रिम प्रशंशा गरिरहेको थिएँ । कौतुहलता मेट्ने अभियानमा सक्रिय रहेको म कुरैकुरामा काठमाडौंमा सक्रिय अनि दिल्लीमा सक्रिय उनको समूहका केही सदस्यहरुबारे जानकारी हासिल गर्न सफल भएँ । उनले मोबाइलबाट डायल गरेको अधिकांश फोन नम्बर र नाम सम्भिmएँ । कुराकानीका दौरान पटक पटक भावना नियन्त्रणमा परेकाले छुटाउन भन्थिन् । त्यतिञ्जेल म पक्का भएँ कि दिल्लीमा यौन व्यवसाय गर्ने उनीहरुको संगठित सञ्जाल छ । सरला र भावना कुन स्तरको यौनकर्मी हुन् भन्ने जान्ने उत्सुकता झनै बढ्यो । मैंले अंग्रेजीमा प्रश्नहरु तेर्साउन थालेँ । उनी निकै उत्साही भइन् । मेरो अंग्रेजीलाई माथ गर्ने गरी उत्तरको वषर्ा भयो । मोबाइलमा घरीघरी अंग्रेजी गीत गुञ्जदा उनको स्तर निर्धारण गर्न सजिलो हुँदै गयो । दिल्लीको यौनबजारको केही अनुसन्धान गरिसकेको मलाई अनुमान लगाउन सजिलो भयो । यात्राको दौरान उनको लवाइखवाइ, बोलीचालीबाट मध्यम स्तरको यौनकर्मी भन्ने निक्र्यौंल गरेँ । एसएलसीसमेत उत्तीर्ण नगरेकी उनले स्पष्ट अंग्रेजी बोल्नुबाट उनका प्रमुख ग्राहक अंग्रेजी राम्रो बोल्ने नै हुन् भन्ने अनुमान लगाउन सकिन्थ्यो । उनको हिन्दी पनि राम्रो पाएँ । यद्यपि थप बुझ्न बाँकी नै थियो ।
नयाँ दिल्लीमा मध्यम स्तरको यौनकर्मीले मासिक ५० हजारदेखि एक लाख कमाइ गर्न सक्ने बताइन्छ । तथापि मैले सिधै उनको कमाइ सोधिनँ । कमाइ अप्रत्यक्ष रुपमा जान्ने ध्येयले सोधेँ, ''काठमाडौंमा घर होला नि ?'' सरलाले सजिलै उत्तर दिइन्, ''छ !'' मैले थपेँ, ''निकै धनी रहिछौ नि, काठमाडौंमा पनि घर अनि जिल्लामा पनि घर ।'' उनले थपिन्, ''बाबुआमा व्यापार गर्छन् नि !'' प्रश्न थप तेर्साएर त्यस विषयमा अगाडि बढ्न चाहिनँ ।
बाटोमा निकै भलाकुसारी हुँदै गर्दा उनले नयाँ खुलासा गरिन् । हामीसँग बसमा चढ्दैदेखि नजिकिनुका पछाडि थानकोट नाका र सीमा नाकामा आइपर्ने समस्याबाट उम्कने योजना रहेछ । सरलाले भनिन्, ''एक-एकजना तपाईंहरुसँग बसेको भए सजिलैसँग दिल्ली पुगिन्थ्यो । मैले त बसिहालौं भनेकी थिएँ, भावनाले केही समय पख् भनेकी, आफैँ फन्दामा परी !'' त्यसो गरेको भए सायद भावना रोकिने थिइनन् होला । हामीलाई आफन्त या चिनेजानेको देखाएर उम्कने योजना हुँदो हो । सरला योजना बुन्न खप्पिस रहिछन् । उनी दिल्ली ओहोरदोहोर गरिरहँदिरहिछन् । अरुलाई लान पनि खप्पिस् हो कि भन्ने जान्नु थियो, म त्यही जान्न सक्रिय भएँ । सरलाले भावनालाई कोहीसँग धेरै नबोल्न सम्झाएकी रहिछन् । ''तिम्रो साथी कम बोल्ने रहिछन् ? मैले कति बोल्न खोज्दा पनि हाँसीमात्र रहन्थिन् ?'' मैले सोधेँ । सरलाले भनिन्, ''मैले मान्छेहरुसँग धेरै नबोल्नु भनेर सम्झाएकी । नत्र कस्तो गफाडी छे !'' यसबाट अनुमान लगाउन सजिलो भयो कि सरलाले नै भावनालाई दिल्ली पुर्याउन भूमिका खेलिरहेकी थिइन् ।
सीमा नजिकिंदै थियो । भावना बारम्बार सोध्दै थिइन्, ''बोर्डर आयो ?'' पहिलो पटक रुपडिया नाका हेर्न उत्सुक मसँग प्रश्न सोध्नु व्यर्थ थियो । यद्यपि अन्दाजको भरमा म भनिदिन्थें, ''आउनै लाग्यो ।'' सीमामा तीन घण्टा बस रोकियो । चेकजाँचका दौरान त्यसो भएको थियो । मैले विद्यार्थी कार्ड देखाएपछि सँगै बसेकी सरलालाई सुरक्षाकर्मीले केही सोध्दै सोधेन । सायद आफन्त वा विद्यार्थी नै हो भनेर सोध्न आवश्यक ठानेनन् । मैले मौकामा भनिहालेँ, ''अघि नै बाँडिएर एक-एक जना हामीसँग बसेको भए सजिलै जान पाउँथ्यौ ।''
सीमानाका कटियो । सरलाले माथिल्लो कपडा फुकाल्न थाली । भन्थी, ''असाध्यै गर्मी भयो ।'' बस केही रफ्तारमा गुड्न थाल्यो । उसले लाजै नमानी पेटी मुनी संवेदनशील अंग नजिकै हात हाली । अनि केही निकाल्दै बहादुरीका साथ भनी, ''यी मेरो पासपोर्ट र नागरिकता !'' थानकोट नाकामा माग्दा लुकाएको पासपोर्ट हेर्ने उत्सुकता जाग्यो । मैले नाम, थर अनि जिल्ला हेर्न भ्याएँ । उनी कुन-कुन देश पुगेकी छिन् या छैनन् भन्ने हेर्न पाइनँ । हेर्न प्रयास गरेको थिएँ तर दिइनन्, जबरजस्ती गर्न पनि चाहिनँ । मैंले सोधेँ, ''विदेश पनि गएकी छ्यौ ?'' उनले नगएको दाबी गरिन् । आफू नगएको तर भावना दुबई पुगेको सुनाइन् । दुबईमा किन गएको सोध्नु आवश्यक थिएन । पासपोर्ट लुकाएर बसको लामो बाटो हुँदै दिल्ली आउनुमा सुरक्षाकर्मीबाट रोकिनु नपरोस् भन्नाका लागि रहेछ । नत्र हवाई यात्राका दौरान एयरपोर्टमा चेकिङले समात्ने सम्भावना बढी रहेछ । सडकबाट हिँड्दा सुनौली नाका बढी कडा रहेछ । बस रुपडिया नाकाबाट जान लाग्दा उनी दंग पर्नुको कारण बल्ल बुझेँ ।
नाका कटेपछि नेपाल टेलिकमको टावरबाट टाढिनु अगावै उनले आमासँग कुराकानी गरिन् । भावनालाई लान नसकेकोमा गाली खाइन् । कुराकानीका क्रममा एक्कासि रोइन् । लान नसकेको कारण गाली खाएबाट रोएको हुनसक्छ । तामाङ भाषामा कुराकानी गरेकाले मैले केही बुझ्न सकिनँ । आँसु पुछ्दै उनी घोप्टिइन् । लामो यात्राको दौरान निकै थकित भइसकेकी थिइन् । थकानका बाबजुद उनी घरीघरी अनौठो व्यवहार देखाउँथिन् । आधुनिक पहिरन अनि आधुनिक खानेकुरा खाँदै हिंडेकी उनी बेलाबेलामा गाउँले शैलीको गालीगलौज गर्थिन् जुन मेरा लागि असहज हुन्थ्यो । मचाहिँ त्यसो नबोल्न आग्रह गर्थेँ । एउटै सिटमा बसेको कारण असहज हुनु स्वाभाविक थियो । कुरै कुरामा उनले भनिन्, ''थाहा छ मेरो साथीसँग पासपोर्ट पनि थियो तर उसले लुकाई !'' ''किन लुकाउनुपरेको नि ?,'' बुच पचाएर सोधेँ । उनी अनुत्तरित भइन् । पासपोर्ट देखाएको भए दुवै जना फन्दामा पर्ने थिए होलान् । चेकिङ आउँदा भावनाले आफू बसेकै सिटमुनि पासपोर्ट लुकाएको समेत भनिन् ।
पहिलो रात कौतुहलताका केही अंशहरु मेट्न सफल भएँ । दोस्रो रातले यौनकर्मीहरु भारत पुग्ने नयाँ शैली र यौनव्यापारको नयाँ प्रकृति बुझ्ने अवसर प्रदान गरोस् भनेर कामना गर्दै रहेँ । दोस्रो रातमा पनि सरला झनै खुल्न थालिन् । उनी मसँग नजिकिन चाहन्थिन् । कुरा चपाइचपाइ बोल्थिन् । उनको शैली बुझेरै मैले चपाएको कुरा ओकल्न या फरक शैलीबाट बुझ्ने तरिका अपनाइसकेको थिएँ । उनको हरेक गतिविधिले मलाई झनै खुलस्त हुने अवसर प्रदान गर्यो । मोबाइलमा कैद गरिएका तस्वीरहरु देखाइन् । जसमा उनीमात्र नभएर सहकर्मीहरु पनि थिए । उनी भन्थिन्, उनका आफन्त दिल्लीमा बस्छन् । आफन्त भनिएका उनकै उमेर समानका थिए । मैले उनी यौनकर्मी भएको बुझ्न सक्दैन भनेर हो वा बुझोस् भनेर हो उनी खुलस्त हुन चाहन्थिन् । कतै लामो यात्रा दिक्दारी नहोस् भनेर रसिलो बनेकी त होइन ?
दोस्रो रात छिप्पिदै जाँदा बस नेपालको सीमाभन्दा निकै पारी पुगिसकेको थियो । ठाउँठाउँमा बस जाममा पर्यो । जाम छिचोल्दै जाने क्रममा उनको लाडे पल्टने शैलीको स्वर घरीघरी सुनिइरहन्थ्यो । सुरक्षाकर्मीलाई झुक्काएर थानकोट हुँदै सीमा कट्न सकेकोमा उनी बहादुरी देखाइरहेकी थिइन् । म त्यसको बारम्बार प्रशंशा गर्न चुकेको थिइनँ । त्यतिञ्जेल उनले परिवार अनि केटा साथीका बारेमा भन्न थालिन् । केटा साथी विदेशमा बस्छ भनिन् । सायद नखरा देखाइरहेकी हुँदी हुन् । उनको नखरा मैले विभिन्न समयमा खोजी पत्रकारिताका दौरान भेटेका यौनकर्मीसँग मिल्थ्यो । जसलाई दोस्रो रात व्यवहारबाटै पुष्टि गरिदिइन् ।
लामो यात्रापछि दिल्लीमा ओर्लिएपछि उनी जाने ठाउँबारे सोधेँ । उनले शुरुमा भनेको स्थानभन्दा अर्को स्थान बताइन् । समयसमयमा कुरा परिवर्तन गर्न खप्पिस रहिछन् । उनी जाने स्थान हामी पुग्ने नजिकै रहेछ । शुरुमा उनलाई पुर्याएर हामीले आफ्नो गन्तव्यमा जाने योजना बनायौं । उनले अस्वीकार गरिन् । भनिन्, ''तपाईंहरुलाई छाडेपछि म फर्कौंला नि !'' ट्याक्सीले पहिले सरलालाई छाड्न जोड गर्यो । योजना त्यसै कारण तुहियो । उनी आफू एक्लै जान्छु भन्दै अटोरिक्सा चढेर बाईबाई भन्दै बाटो लागिन् । उनी बसेको स्थान हेर्ने मेरो चाहना पूरा भएन ।
दिल्लीमा नेपाली युवतीहरु यौनकर्मीका रुपमा सक्रिय भएको अजमेरीगेटमा पुगिसकेको मलाई सरला र भावनाहरु उनीहरुभन्दा उच्च तहको यौनकर्मी हुन् भन्ने निश्चिन्त हुन आवश्यक प्रमाणहरु जुटिसकेको थियो । अजमेरीगेटको ६४ नम्बरमा कोचिएर यौन व्यवसाय गरिरहेका युवतीहरुभन्दा सरलाको फूर्ति निकै बढी थियो । बसको यात्रामा उनले गरेको खर्चको प्रकृतिले पनि आम्दानी राम्रो रहेको आधार मिल्थ्यो । नेपाली युवतीहरु रेड लाइट एरियामा मात्र काम गर्छन् भन्ने प्रत्यक्ष देखेको मलाई गैरकानुनी रुपमा फ्ल्याट लिएर संचालित यौनबजारमा काम गर्ने युवतीहरुसँग भेट्ने अवसर ४३ घण्टा लामो कठिन यात्राले प्रदान गर्यो । यात्राको दुई रातमा नयाँ दिल्लीको यौनबजार नेपाली युवतीहरुका लागि आकर्षणको केन्द्र बन्दैछ भन्ने जानकारी मिल्यो । सीमाको कडाई र देशभित्रकै नाकाका अवरोधहरुलाई पन्छाउँदै किशोरीहरु यौनबजारमा आफ्नो शरीरको मोलतोल गर्न धनी बन्ने सपना बोकेर निरन्तर ओहोरदोहोर गर्दारहेछन् ।
दीपेश केसी
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment