रंगिन दुनियाँका मलिन चेहरा

सेक्सी जिउडाल
बेहद चर्चा
घर, कार, बैंक ब्यालेन्स… विलासी जीवनशैली।
काम, नाम र दामले मालामाल करिअर।

‘नम्बर वान’ को दौडमा झन्डै सबैलाई उछिनिसकेकी बलिउड अभिनेत्री दिपिका पादुकोणसँग के थिएन ? एक वर्षअघि फिल्म ‘ह्यापी न्यु इयर’ को क्लाइमेक्स सुटिङ हुँदै गर्दा दिपिकाको सफलताले सगरमाथा चुम्दै थियो। तर, दुनियाँका आँखामा अति सफल, व्यस्त र निष्फिक्री यी सुन्दरी भित्रभित्रै जल्दै थिइन् र आफैंसँग पराजित अनुभूति साँच्दै थिइन्।
उनलाई किन यस्तो भइरहेको छ, बाहिरी दुनियाँले मात्र होइन, स्वयंलाई समेत कुनै भेउ थिएन।
दिपिकाका व्यवहार क्रमशः अनौठा हुँदै गएका थिए। बिहान उठ्नेबित्तिकै बिनाकारण रिस उठ्थ्यो उनलाई। काममा पटक्कै मन लाग्दैनथ्यो। मान्छेसँग बोल्नै नपरोस्जस्तो हुन्थ्यो। यो अवस्थाबारे उनले कसैलाई भनेकी थिइनन्। परिवारले त केही थाहा नपाओस् भन्ने नै चाहन्थिन्।
समस्या घट्ने होइन, झनझन् बढिरहेको थियो। उनी यति हैरान भइन् कि अन्ततः यो पीडा कसैलाई नभनी धरै भएन। उनले एक आफन्तलाई यी सबै अनुभूति सुनाइन्। तिनै सहयोगीको सहाराले पत्ता लाग्यो – दिपिका त डरलाग्दो ‘डिप्रेसन’ को सिकार भइसकिछन्, थाहै नपाई मनोरोगको आक्रमण पो सामना गर्दैरहिछन्।
उनले तुरुन्तै मनोविज्ञको परामर्श लिइन् र औषधि पनि। आफू दुरुस्त भएपछि दिपिकाले आफ्नो समस्या र उपचारकथा सञ्चार माध्यममार्फत सार्वजनिक गरिन्। किनकि, उनलाई आँकलन थियो – यो रंगिन दुनियाँका थुप्रै अनुहार यस्तै समस्याले मलिन हुँदै गइरहेका छन्।
बलिउडकी मसलादार अभिनेत्रीको डरलाग्दो कथाले
नेपाली अभिनेत्री रेखा थापालाई नराम्ररी झस्कायो। दिपिकाले डिप्रेसनका जुनजुन अनुभव र संकेत बाँडेकी थिइन्, रेखाले त्यसलाई आफ्ना थुपै्र सहकर्मीका अनुहारमा अनुभव गरिन्।
दिपिकालाई कुन अवस्थाले डिप्रेसनमा पुर्‍यायो होला ? यस्तो सोच्दासोच्दै उनलाई ती सहकर्मीका सामुन्ने पुर्याइयो, जो केही समयअघि उनीसित पोखिएकी थिइन्। ठ्याक्कै दिपिकाकै जस्तो अनुभूति र त्यसपछाडिका भयावह पीडा बिसाएकी थिइन् ती अभिनेत्रीले रेखालाई, नजिककी सहयात्री सम्झेर। ती अभिनेत्रीले फिल्म क्षेत्रका सबैखाले शोषण सहेकी थिइन् जुन बजारु चर्चामा आइरहन्छन्। डिप्रेसनले सकिन लागेकी ती सहकर्मीको अवस्था, आँसु र बिलौनाका स्वरसहितको अनुहार रेखाका आँखामा निकैबेर घुमिरहे।
रेखा ती अभिनेत्रीको हालत सुनाउँदै गइन्–‘साँच्चै हृदयविदारक थियो त्यतिबेला उनको अवस्था।’
तिनी रेखालाई आफ्नै ठानेर केही सुनाउन खोजिरहेकी थिइन्, तर ओठबाट शब्द खस्न सकिरहेका थिएनन्।
चुरोट सल्काइन्। लामो–लामो सर्को तानिरहिन्। लगातार तीन खिल्ली सकिन्। तैपनि मुखबाट केही निस्केन।
‘चुरोट त म पनि खान्छु, तर यस्तो किन ? यो त अति भो बा ?,’ रेखाले आइसब्रेक गर्नैपर्योै।
‘होइन दिदी, आज तपाईंसँग धेरै कुरा गर्नु छ,’ हतास मुद्रामा ती अभिनेत्रीले आफ्ना जे–जस्ता कुरा साटिन्, त्यो ‘फेसन’ र ‘डर्टी पिक्चर’ फिल्मका कथाभन्दा खासै फरक थिएन,’ रेखा सम्झन्छिन्। उनलाई लाग्यो, अभिनेत्रीहरुले जेजस्ता आरोप खेप्नुपरिरहेको थियो, त्यसको भुक्तभोगी हुन् तिनी।
रेखाले ती सहकर्मीका अरु अनुभव सुन्न वाइन पिउन अफर गरिन्।
तिनले मानिनन्, बरु हार्ड ड्रिंक नै मगाइन्। ‘दिदी, आज म त्यहाँ गएको भए ती गिद्धले मलाई जसरी पनि लुछ्ने थिए। कुन दिनमा यो क्षेत्रमा आइछु, मर्न सक्दिनँ, बाँच्न पनि गाह्रो भो,’ बोत्तलसँगै तिनी रेखासामु रित्तिँदै गइन्। आजको नागरिक दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget