सुचना घिमिरे
आज खास केही काम थिएन । कलेज गँए,तिनवटा लेक्चर लिएर घर आइपुग्न लाग्दा १२ बजेको सूचना भित्ते घडिले दिदै थियो । आफ्नै सुरमा प्रत्येक पल टिकटिक गरेर समय बितेको सूचना दिइरहन्छ, मान्छेले बास्ता गरून् नगरुन उसलाई कुनै बास्ता छैन ।
खाना खाएर पल्टेकी के थिए मेरा आँखा भित्तामा झुन्डिएको तस्वीरमा पर्यो । एक्कासी पुराना दिनहरु फिल्मका रिल झैँ दिमागमा फनन्न घुमे,मन पुग्यो त्यहि कालखण्डका यादहरु भेट्न । यादहरुको भीडबाट उसकै यादले तान्यो मलाई । आज फेरि म उसको याद हरायो,गोरो छुँदा पनि दाग लाग्ला झैँ उसका गाला, उसका ती खरायोका जस्ता ठाडा कान,ठुल्ठुला आँखा,नाकको टुप्पामा सिगाँनको कालो पाप्रा बसेको । त्यो अबोध रुपमा कस्तो सुहाएको त्यो चकचके बानी । दुई टुप्पी भएकाको रिस कडा हुन्छ भन्छन्, ठ्याक्कै मिल्थ्यो, आफुले भनेको कुरा नपाउदा रिसले आखैँ नहेरि भन्नन् भुईमा लडिहाल्थ्यो । उस्लाई फकाउन फेरि आकासका तारा झार्नु जतिकै गाह्रो, रिसको पोको नै थियो ऊ । यस्तै–यस्तै सम्झनामा डुब्दै थिए कतिबेला निदाएछु थाहै भएन । “ओहो ! दुई पो बजिसकेछ, भोलिको प्रेजेन्टेसन तयार गर्नु छ ।” म आफैसँग फुस्फुसाउदै थिए । यहि बेला मोबाईल बज्यो, उसैको मेसेज रहेछ । अलिकति ब्यालेन्स ट्रान्सफर गरिदेन ठुली रे । मन मनै मुस्कुराउदै ट्रान्सफर गरिदिए । उसलाई सानोमा ढाईस खेल्न एक रुपियाँ सापट दिएको थिए । एक पटक मै छ रुपियाँ बनाएर, अन्तिममा सबै हारेर खालि हात हल्लाउँदै ङिच्च हास्दै फर्किरहेको उसको याद आयो । उसले त्यो दिन सापट लगेर हारेको त्यो एक रुपियाँ फिर्ता नदिए पनि अनगिन्ती मुस्काउने बहाना दिएको छ । मुस्कुराउने बहाना खोज्न टाढा जानु पर्दैन, उसकै यादहरुका वरिपरि टन्नै भेटिन्छन् । यस्तै कुरा मनमा खेलाउदै पावर प्वाइन्ट प्रेजेन्टेसन बनाउदा बनाउदै साझ परिसकेछ । खाना खाइ, भाडा मस्काइ, चम्काइ गरेर टिभि अगाडि पुगेँ । टिभिको रिमोट हातमा, आँखा टिभिमा, मन भने टिभि भित्रका चित्रहरुमा । च्यानलहरु खेलाउदा खेलाउदै मन उडान नामक सिरियलमा अड्कियो । उडान कि चकोर देखेर मेरो मन दुई कुना भयो । एउटा कुना ऊ, अर्काे कुना चकोर । यी यादहरु पनि क्यान्सर लागेका कोष भन्दा कम छैनन्, कहिल्यै नमर्ने । हो, चकोरलाई देखेर मलाई उसको याद आयो । त्यो गोजी भरि गुच्चा बोकेर चोक तिर गुच्चा खेल्न दौडिरहेको फुच्चेको याद आयो । गुच्चा खेल्न घुडा टेक्दा टेक्दा पाइन्टको घुडा प्वाल परेको उसलाई मतलब छैन, बस् खेल्न पाए पुग्यो । रमाएर खेलिरहदा संसार कै सुन्दर लाग्छ ऊ । मुसुक्क हास्दा झन् हिट्लरको मन जित्न सक्ने निर्दाेषपन छ । खेल्दा खेल्दै अचानक मौरी बस्छ उसको कानमा, केही गर्न र भन्न नपाउदै चिलेर जान्छ मौरी । पीडाले मुख बिगार्दै सुक्कसुकाउन थाल्छ ऊ । एकैछिनमा कान फुलेर आउछ,रातो हुन्छ । त्यो दिन देखि मौरी भुनभुन गर्दा पनि उ डराएर परैबाट भाग्ने गर्थ्यो । तर अरु किरा भने हातैले समातेर, छाडि दिने गर्थ्यो । कैले झ्याउकिरी समातेर लाटालाई तर्साउथ्यो, कैले पसलमा एक्लै गएर उधारोमा चुइङगम खाइदिन्थ्यो । अरु केटाकेटी जस्तै चकचके तर अनुहार हेर्दा निर्दाेष , यस्तै यस्तै थियो ऊ । उसका निर्दाेष,चन्चल आखाँहरु हरदम मुस्कुराइरहन्थे । साच्चै भन्नू पर्दा खुसिको भण्डार थियो ऊ,जस्ले जति झिकेर लगे पनि कहिल्यै नरित्तिने । उसले बाँडेका उमङ्गका लहर देख्दा लाग्थ्यो, उसको जन्म हाम्रो जीवनमा मुस्कान छर्न कै लागि त भएको हो । उसका यी सम्झनाहरुले मन मेरो मुसुँमुसुँ हास्दै थियो अनि पत्तै नपाइ कतिबेला निर्दादेवीको काखमा पुगेछु । बिहान उठ्दा हिजो मुस्कुराउदै निदाएको असर होला एकदम ताजा ताजा महसुस गर्दै थिए । बाहिर हुस्सुले ढाकेको बिहानी घामका किरणहरु सगैँ बिस्तारै खुलेर मुस्कुराउदै थिए । म तातो कफिको चुस्कि लिदै प्रेजेनटेसनको सम्पादन गर्न थालेँ । आज सबैको अगाडि बोल्नु छ भनेर हो कि किन मन एक तमासले लर्बदिै थियो । आत्मविश्वासको कमि थियो सायद म भित्र । तर मैले जसरी नि गर्नु छ र गर्छु भन्ने आँट भने थियो मनको कुनै कुनामा,मुटु दरो पारेर कलेज जाने तयारी गर्न थालेँ । घर आइपुगे म,भारि टाउको तर हलुका मन लिएर । भोको पेट त छदै थियो साथमा । खाना खान पस्किए अनि सम्झिए उसले खायो कि खाएन, के गर्दै होला । फोन गर्न नम्बर डायल गरेँ, उताबाट मीठो स्वरमा तपाईंले डायल गर्नु भएको नम्बरमा अहिले सम्पर्क हुनसकेन भन्ने जवाफ आयो । कसैको आवाज मीठो धुन जस्तो जति सुने पनि सुनिरहुँ झैँ हुन्छ तर त्यहि स्वरले सुन्न चाहेको कुरा नभन्दा चाहिँ त्यहि आवाज कर्कश लाग्ने, मनपराउनु र मन नपराउनु पनि यहि मनको उपज त रहेछ । यसै कुरा खेलाउदैँ थिए मनमा आखाँ आजको अखबारमा पर्यो, उठाएँ सर्सरति हेरेँ,मन छोएन कुनै पनि खबरले । आजकल जताततै परिवर्तन चाहियो भन्ने माग छ, सरकार परिवर्तन, नेता परिवर्तन, धर्म परिवर्तन, संस्कार परिवर्तन, प्रणाली परिवर्तन, प्रक्रिया परिवर्तन, जीवन परिवर्तन सबै परिवर्तन मात्र चाहन्छन् सुधार कोहि चाहन्नन् । सबैका आ–आफ्नै परिवर्तनका राग छन् । यी रागहरुको बीचमा कसैको जीवन भने नचाहाँदा नचाहदै पनि परिवर्तित भइदिन्छ, फुलैफुलको बाटो अचानक काँडाघारि बनिदिन्छ । उसमा आएका परिवर्तनको साक्षि म छु । हिजोको त्यो निर्दाेष बालक अचानक गम्भीर भयो । उसको निर्दाेषपन लुछेर लाने दैव कति निष्ठुरि, सायद देउताको मुर्ति मात्र ढुङ्गाको हैन मन पनि ढुङ्गा कै छ । त्यसैले त एउटा हास्दै–खेल्दै रमाइरहेको परिवारबाट ममतामयी आमालाई चुडेर लग्छ ।आँसुमा डुबाएर मर्नु न बाच्नुको पीडाको भारि दिने दैवसगँ मन छ भनेर कसरी बिश्वास गर्ला र कोहि । जुन दिन देखि उसले आफ्नी आमाको चितामा आगो लायो त्यहि दिनबाट उसका निर्दाेष,चन्चल, ख्यालठट्टाहरु डढेर खरानी भए । ऊ माथि यति भयङ्कर चट्याङ पर्दा पनि एक थोपा आसुँ झारेन उसले,कता गए उसका आसुँहरु अहिले सम्झिदा छक्क पर्छु म । सायद उसको मुटु यति भतभति पोल्यो कि आखाँबाट झर्नु पर्ने आसुँ मुटुको जलन कम गर्न तिर लागे वा पीडा यति भारी भयो कि आसुँहरुले आफु झरिनुको मोल नदेखेर झर्न मानेनन् । दिनहरू बित्दै जादा पीडा कम हुदैँ गए तर परिवारका सबै जनाको मनको खालीपन कहिल्यै कम भएन । उसको तिखा, बदमासीका हासोहरु कहिल्यै नउम्रिने गरि ओइलाएर गए, उसका आखाँ कहिल्यै हासेनन् । उ विस्तारै गम्भीर बन्दै थियो, जिम्मेवारीको बोध गर्दै कहिलेकाहीँ फिस्स हास्न थाल्यो, एउटा फिक्का हाँसो । परिवर्तनको यो हावालाई पहिलोपटक देखे मैले, भोगे मैले । अरुको पीडामा दया देखाउन कति सजिलो छ तर पीडा त त्यो बेला मात्र हुन्छ जब काँडाले आफ्नै खुट्टामा घोच्छ । उसको पीडालाई बुझ्न मलाई गाह्रो परेन किनकि उसलाई र मलाई जुन काँडाले घोच्यो त्यो एउटै थियो । यत्रतत्र छरिएका पीडा अनि काँडाका डोबहरु हेर्दै अगि बढ्दैछन् उसका पाइलाहरु भविष्यको खोजिमा ।
Post a Comment