काठमाडौं । साढे ४ वर्षदेखि थाइल्यान्डको बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीबीच टेलिफोन संवादसमेत हुन छाडेको छ । उनीहरूबीच झन्डै दुई वर्षदेखि टेलिफोनमा पनि कुराकानी नभएको स्रोतले बताएको छ । स्रोतका अनुसार पूर्वयुवराज पारस नै हिमानीसँगको सम्बन्धबाट टाढिएका छन् । उनीहरूबीचको सम्बन्ध अहिले भावनात्मक होइन, कानुनी मात्रै छ । पारिवारिक तथा भावनात्मक सम्बन्ध पूर्णरूपमा भत्किइसकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह केही महिनाअघि बिरामी परेका थिए । हृदयघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार भएको थियो । पूर्वराजा अस्पतालको बेडमा भएका बेला पारसले टेलिफोन गरेका थिए । स्रोतका अनुसार टेलिफोनमा पारसले बुवा ज्ञानेन्द्रको स्वास्थ्य अवस्थाबारे चासो लिएका थिए । उनले आमा कोमल र छोरीसँग पनि कुराकानी गरे । त्यस बेला टेलिफोन संवाद हुँदा हिमानी पनि त्यही थिइन् तर उनीसँग भने पारसले कुरा गरेनन् ।
पारस अहिले लागुऔषध कारोबारमा थाइल्यान्डको कारागारमा बन्दी जीवन बिताइरहेका छन् । कारागार जानुअघि उनले छोरा र छोरीसँग नियमित टेलिफोन संवाद गर्दथे । अहिले त्यो क्रम पनि टुटिसकेको छ । उनी विदेशमा थुना परेपछि परिवारका कुनै पनि सदस्य भेट्न गएका छैनन् । उनकी थाई प्रेमिका कन्निका बारम्बार भेट्न जाने गरेको स्रोतले बताएको छ ।
दुई महिनादेखि उनी बैंककको रुङखाइमा जेलमा छन् । उनी जेल बस्दा पनि हिमानीले चासो देखाउने गरेकी छैनन् । बरु सातामा एक दिन प्रेमिका कन्निकाचाहिँ पारसलाई भेट्न जेल जाने गर्छिन् । जेल जानुभन्दा पहिले पारस कन्निकासँगै बस्ने गरेका थिए । उनी कन्निकालाई छोड्न नसक्ने अवस्थामा पुगेको बताइन्छ । कन्निकासँग नजिकिँदै गएपछि हिमानीचाहिँ पारससँग टाढिँदै गएकी हुन् ।
०६७ भदौ ११ गते पारस बैंकक गएका थिए । त्यसयता उनी काठमाडौं फर्केका छैनन् । डेढ वर्षअघि बैंककमै उनलाई हृदयघात भएको थियो । उनी बिरामी परेपछि हिमानी बैंकक पुगेकी थिइन् । हिमानी त्यस बेला तीन साता बैंकक बसेकी थिइन् । सम्बन्ध सुमधर नभएपछि पारससँग उनले धेरै समय बिताउन पाइनन् । त्यसपछि पनि हिमानी बैंकक पुगेकी थिइन् । सामान्य भेटघाटपछि उनी फर्केकी थिइन् ।
बैंककमा पारस पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन् । उनी पक्राउपछि धीरेन्द्रका तीन बहिनी छोरी पूजा, शीताष्मा र दिलासा पारसलाई भेट्न बैंकक जाने गर्छन् । गएको तिहारमा पनि शीताष्मा बैंकक गएकी थिइन् । बैंककमै उनले पारसलाई भाइटीका लगाइदिएकी थिइन् ।
परिवारले पारसलाई काठमाडौं बोलाउन छाडेको छैन । बैंककमा हृदयघात भएपछि परिवारले कर गरेरै पारसलाई काठमाडौमा बोलाएको थियो । उनले भने प्रेमिकालाई पनि ल्याउने सन्देश पठाएका थिए । प्रेमिकालाई पनि काठमाडौं ल्याउँदा ‘कान्छी ल्याएको सन्देश जाने’ भएकाले परिवारले पारसलाई काठमाडौ आउन दिएका छैनन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment