शुक्रबार, माघ ९,
अमेरिकालाई धेरैले सपनाको संसार मान्छन । त्यो संसारले आशिष्मा नकर्मीलाई भने लोभ्याउन सकेन । सन् २००७ मा अध्ययनका लागि अमेरका लागेकी उनले टेक्सासबाट हस्पिटालिटी म्यानेजम्यान्टमा स्नातक गरिन । पाँचवर्षे अमेरिका बसाइपछि नेपाल फर्केर २०७० सालमा ‘अन्तराल’बाट ठूलो पर्दाको चलचित्रमा डेब्यु गरेकी उनले ‘तोरी लाहुरे’, ‘राघव’, ‘लव यु वावा’, ‘अधकट्टी’, ‘सिक्स फिट लाइफ’, ‘वुद्ध बर्न इन नेपाल’, ‘नब्य’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन ।
अहिले ‘बाटोमुनिको फूल’ को तयारीमा जुटेकी आशिष्माको नेपालमै केही गर्ने लक्ष्य छ । कक्षा १० मा पढ्दै गर्दा नेपाल भाषाको ‘मिखा या अजल’ (आखाको गाजलले) गीतको भिडियोमा पहिलोपटक क्यामेरा फेस गरेकी उनी रुचाइएकी मोडल हुन । अमेरिका हुँदा प्लानेट थ्री र अन्डरग्राउन्ड टकिजले निर्माण गरेको दुइवटा नेपाली म्युजिक भिडियोमा मोडलिङ गरेकी उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन ।
शालिन स्वभावकी आशिष्मा गौरी मल्ल, मिथिला शर्मा, निरुता सिंहको छविबाट प्रभावित छिन । लुगा खोलेर मात्र ग्ल्यामरस भइन्छ भन्ने विश्वास उनलाई लाग्दैन । ‘मैले अहिलेसम्म चलचित्र र म्युजिक भिडियोमा कुनै त्यस्तो दृष्य दिएको छैन, जुन परिवारसंग बसेर हेर्न सकिदैन’ आशिष्मा भन्छिन ‘अमेरिकामा पढेर आएकाले होला मबाट बढी एक्सपोजको अपेक्षा गर्छन । तर त्यो सम्भव छैन । भोलि कसैको बुहारी, श्रीमती भएर अर्काको घरमा जानुपर्छ । क्षणिक उमंग हेरेर म जीवन विगार्न चाहन्न ।’
अहिलेसम्म कसैसँग प्रेम सम्वन्धमा नरहेको बताउने आशिष्मालाई प्रेम र विवाहको प्रस्ताव गर्नेको कमी भने छैन । ‘फ्यानहरु प्रस्ताव पठाइरहन्छन । आफन्तमार्फत विवाहको कुरा चलिरहन्छ’ उनी भन्छिन ‘यी कुरा सामान्य लाग्छ । स्कुल कलेजमा पनि प्रेमपत्र लेख्नेहरु त्यतिकै थिए ।’ कक्षा ४ मा पढ्दै गर्दा सँगै पढ्ने केटाले प्रेमपत्र दिएको उनले बिर्सेकी छैनन । ‘जीवनमा मलाई कसैले दिएको त्यो नै पहिलो प्रेमपत्र हो । के लेखेको थियो त्यो त बिर्से तर चिठी उसैको दिदीलाई देखाएर सोधेको सम्झना छ’ उनी स्मरण गर्छिन । अन्नपूर्ण शैलीबाट
Post a Comment