माधव घिमिरे, बिराटनगर ।
संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव लगायत मधेसी मोर्चाले गर्ने भनेको पूर्व निर्धारित आमसभालाई विथोल्न स्वतस्फूर्त रुपमा स्थानीय सडकमा उत्रेपछि इटहरी बिहानदेखि तनावग्रस्त बनेको छ ।
कार्यक्रम स्थाल इटहरी-१ को खेतीखोला छेउमा बनाइएको मञ्च बिहान युवाहरुले आगजनी गरेका थिए । आगजनी पछि प्रहरीले कार्यक्रम स्थललाई घेरा हालेर सुरक्षा दिइरहेको छ । प्रर्दशनकारीले भने सडकको चारैतिर टायर बालेर प्रर्दशन गरिरहेका छन् । उनीहरुले यातायात र बजार समेत बन्द गराएका छन् । 'उपेन्द्रलाई छिर्न दिन्नौ' भन्दै इटहरी प्रवेश गर्ने चारैवटा नाकामा टायर बालेर प्रर्दशन गरिरहेका छन् । आगो लगाएपनि मञ्च पुन तयार गरिएको छ ।
धरानबाट कार्यक्रमका लागि इटहरी पुगेका समाजवादीका कार्यकर्तालाई स्थानीय युवाहरुले लखेटेका छन् । उनीहरुले बोकेको समाजवादीको झण्डा समेत खोसेर जलाई दिएका छन् ।
कार्यक्रम गर्न दिँदा हुन सक्ने मुढभेडलाई रोक्ने विषयमा अहिले जिल्लाका सुरक्षा निकायहरुको बैठक इलाका प्रहरी कार्यालय इटहरीमा बसिरहेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको बैठक जारी रहेको छ । सत्तारुढ दलका नेताहरुले आफ्ना कार्यकर्तालाई कार्यक्रम नविथोल्न निर्देशन दिएपनि स्वतस्फूर्त रुपमा भातृसंगठनका नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । जस्को कारण विहान ११ बजे देखी हुने आमसभा भनिएपनि दुई बज्न लाग्दा समेत सुरु हुन सकेको छैन । उपेन्द्र यादव विराटनगरमा छन् भने अन्य नेताहरु समेत सुनसरी आइसकेका छैनन् ।
कार्यक्रममा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, कुमार लिङ्देन लगायतले सभालाई सम्बोधन गर्ने प्रचार गरिएको थियो ।
radiokantipurdiary
Post a Comment