गोलाप्रथाबाट ग्यास वितरण, चिट्ठा परे आधा सिलिन्डर ग्यास


फोटो : गोपाल छन्त्याल ( ग्यास वितरणका लागि आयोजना गरिएको गोलाप्रथा कार्यक्रममा सहभागी उपभोक्ता)


बेनी: जिल्ला प्रशासन कार्यालय म्याग्दीनजिकै ठूला वरपीपलका रूख छन् । त्यहाँ चारैतर्फ फैलिएको खुला चौतारो पनि छ ।

चौताराअगाडिको खुला चौरभरि सर्वसाधारण व्यग्र प्रतीक्षा गरिरहेका छन् । उनीहरूमा कौतुहलसँगै अनुहारमा अभावको पीडा स्पष्ट झल्किएको देखिन्छ ।


बेनीबजारको वीरेन्द्रचोकमा शनिबार दिउँसो देखिएको यो दृश्य अरू केही नभएर तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण करिब तीन महिनापछि जिल्लामा भित्रिएको खाना पकाउने एलपी ग्यास गोलाप्रथा प्रणालीबाट वितरण गर्न आयोजित कार्यक्रम हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकको निर्णयबमोजिम जिल्लामा भित्रिएको खाना पकाउने ग्यास पारदर्शी तरिकाले वितरण गर्न गोलाप्रथा प्रणाली अपनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ‘माग उच्च छ । ग्यास सीमित मात्रामा भित्रिएको छ । त्यसको वैज्ञानिक वितरण नै गोलाप्रथा हो भन्ने लाग्यो’, उनले भने, ‘यसो गर्दा कसैले कसैलाई आरोप लगाउन पाउँदैन ।’

व्यवसायीका अनुसार सामान्य अवस्थामा जिल्लामा प्रतिमहिना ४२ सय सिलिन्डर ग्यास खपत हुन्छ । वितरण प्रणाली व्यवस्थित बनाउन यसअघि ३ दिन लगाएर म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका उपभोक्तालाई उपभोक्ता परिचयपत्र वितरण गरिएको थियो ।

विद्यार्थी, डेरावाला र घरधनी गरी ३२ सय ९२ जनालाई परिचयपत्र वितरण गरिएको थियो । त्यसमध्ये गोलामा पर्ने ३ सय ८१ जना उपभोक्तालाई ग्यास वितरण गरिने म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले बताए । सर्वपक्षीय बैठकले आधा सिलिन्डर भरिएको ग्यासलाई ८ सय २५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो ।

खाना पकाउने ग्यासको चरम अभाव हुँदा खासगरी भाडामा बस्ने उपभोक्ता बढी समस्यामा परेका छन् । ग्यास अभावमा जिल्लामा सञ्चालित होटेल व्यवसाय अझ बढी संकटमा परेको छ । केही होटेलले सुविधा घटाएका छन् भने केही बन्द भएका छन् ।

गोलामा परेका उपभोक्तालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा वितरणको व्यवस्था मिलाइएको छ । गोलामा परेका उपभोक्ताले परिचयपत्रसहित आइतबार दिउँसो १ बजेसम्म ग्यास लिन आउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । आफ्नै आँखाअघि गोला गरिएकाले सर्वसाधारण पनि सन्तुष्ट देखिएका छन् ।

‘यसरी बाँडेपछि सबैलाई चित्त बुझ्छ । गुपचुपमा गरिएको काममा मात्रै तलमाथि हुन्छ’, बेनीका उपभोक्ता लेखनाथ शर्माले भने । उनले अर्कोपटक आउने ग्यासमा अहिले नपाउने उपभोक्तालाई प्राथमिकता दिनुपर्ने बताए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget