‘हो हामी मधेसी मोर्चाको गलत आन्दोलनलाई काउन्टर दिन आएकै हौँ’

बद्रीप्रसाद न्यौपाने, अध्यक्ष चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल
बद्रीप्रसाद न्यौपाने, अध्यक्ष चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल
विगत तीन महिनाभन्दा बढी समयदेखि तराई मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्तालका साथै नाकाबन्दी गरेर नेपाली जनतालाई सास्ती दिइरहेको तथा चुरे भावर प्रदेश कायम गराउनेभन्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आन्दोलन सुरू गरेको छ । चुरे भावरले मधेसी मोर्चाले आफ्ना केही गलत माग पूरा गराउन राज्यलाई दबाव दिन भारतसँग मिलेर नाकाबन्दी गरेको आरोप पनि लगाएको छ । चुरे भावर
पार्टीले मधेसी मोर्चाको आन्दोलनलाई काउन्टर दिन आफ्नो पकड क्षेत्रमा शान्तिपूर्ण आन्दोलन गरेको दाबी गरेको छ । उसले गरेको आन्दोलनको विभिन्न पक्षबाट समर्थन र आलोचना दुबै भइरहेका बेला दैनिक नेपाल डटकमका लागि विमल योगीसँग चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसँग काठमाडौंमा गरिएको कुराकानी :
चुरे भावरको आन्दोलनको उद्देश्य के हो ?
– चुरे भावर प्रदेश कायम गर्ने । नेपाल सरकारसँग भएको नौँ बुँदे सम्झौतालाई तत्काल कार्यान्वयन गराउन दवाव दिने हाम्रो प्रमुख उद्देश्य हो । र अहिले भएको भारतीय नाकाबन्दी र मधेसी मोर्चाको ज्यादतीविरुद्ध सडकमा उत्रिएका हौँ ।
तपाईहरूको नौँ बुँदे सम्झौतामा के के उल्लेख छ ?
– नौँ बुँदे सम्झौको प्रमुख सहमति भनेको चुरे भावर क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउने, र चुरे क्षेत्रभित्र रहेका गिट्टी, बालुवाटा, बन, जंगल आदिलाई संरक्षणका लागि चुरे भावर पार्टीसँग समन्वय गरेर अगाडि बढ्नु पर्छ । सदरमुकाममा रहेका सरकारी कार्यालयहरू चुरे भावर प्रदेशमा शाखा कार्यालयहरू स्थापना गर्नेलगायतका सम्झौता कार्यान्वयन गराउनुपर्ने उल्लेख छन् ।
अहिले आएर ती माग किन कार्यान्वयन गर्नुपर्ने ?
– हामीसँग भएका सहमति राज्यले इमान्दारिताका साथ पूरा गर्छ भन्ने सोँच र विश्वासका साथ संयम भएर बसेका थियौँ । तर राज्यले हाम्रा माग कार्यान्वयन गर्नेतर्फ कुनै तदारुकता देखाएन । हामीलाई हेपाहा प्रवृत्ति देखायो । विभिन्न समूहका मागलाई कार्यान्वयन गर्ने पक्षमा सकारात्मक देखिने । तर हाम्रा माग एक पटक पनि पूरा गर्नेतर्फ ध्यान नदिने ? यस्तो पनि हुन्छ ? चुरे भावरसँग भएका सहमति कार्यान्वयन गराउन हामी दवावका साथ आन्दोलनमा छौँ ।
तपाईहरूको आन्दोलन साम्प्रदायिक भयो भन्ने आरोप छ नी ?
– एकदम गलत हो । हाम्रो आन्दोलनले सामाजिक सद्भाव कायम गरेको छ । हाम्रो नारा नै छ । जातीय सद्भाव कायम गरौँ, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, नेपाल र नेपालीको अस्तित्व अक्षुण कायम राख्ने भन्ने नारा छ । अब भन्नुस् हामी कसरी साम्प्रदायिक भयौँ ? हामीले कुनै जातविशेषविरुद्ध आन्दोलन गरेका होइनौँ । हाम्रो आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन हो ।
त्यसो भए मधेसी मोर्चाका कार्यकर्तालाई तपाईहरूले सर्लाही जिल्लामा किन लखेट्नु भो ?
– तीन महिनाभन्दा बढी मधेसी मोर्चाको आन्दोलनमा हाम्रो चुरे भावर प्रदेशको पडक क्षेत्रमा कुनै बन्द नरहेको जानकारी गराउँछु । नेपालका जनताको जीवन अहिले यति कष्टकर भएको छ, यस्तो अवस्थामा हाम्रो प्रदेशमा बन्द गर्न नदिने पार्टीको स्पष्ट नीति छ । हामीले उहाँहरूलाई बन्द गर्न नआउनु भन्दाभन्दै जबरजस्ती पूर्वपश्चिम महेन्द्र राजमार्गको चुरे भावर प्रदेश क्षेत्रमा बन्द गर्न आएपछि बाध्य भएर चुरे भावर पार्टीका कार्यकर्ता र भावरबासीले शान्तिपूर्ण रुपमा हटाएका हुन् ।
कसरी शान्तिपूर्ण भयो ? तपाईहरूले मधेसी मोर्चालाई भौतिक आक्रमण गरेको आरोप छ ?
– आन्दोलन हो । आन्दोनलमा अलिअलि धक्कामुक्क भयो होला । तर हाम्रो आन्दोलन शान्तिपूर्ण नै छ । हामी कसैलाई भौतिक आक्रमण गर्ने नीति नै छैन । तर जनतालाई कसैले दुःख दिन्छ र राजमार्ग अबरोध गर्छ भने चुपलागेर बस्दैनौ पनि ।
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको आन्दोलनलाई सरकारबाट सञ्चालित छ भन्ने मधेसी मोर्चाको आरोप छ नी ?
– यो बिलकुल गलत हो । सरकारसँग भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि पहिलो चरणको शान्तिपूर्ण आन्दोलन, सभा, र्‍याली, जुलुस गरेका हौँ । यो आन्दोलन हाम्रा माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले गरिएको हो । हामीसँग सत्तारुढ दलको कुनै संलग्नता छैन । बरु नेपाली जनताको अपार साथ र समर्थन छ । आन्दोलनमा जनताको समर्थन भएको चाहीँ सत्य हो । प्रधानमन्त्री र मन्त्रीसँग सम्पर्क गरेको कसैले प्रमाण दिन्छ भने देखाउन खुला चुनौती दिन्छु ।
बरु मधेसी मोर्चा भारतीयहरूको उस्काहटमा लागेर मुलुकमा नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिने कार्यमा लागेका छन् । मधेसी मोर्चाका केही शीर्ष नेताहरू सामाजिक सद्भाव भड्काउन सक्रिय रुपमा छन् । यसको प्रमाण तपाईहरूकै पत्रिपत्रिका र सञ्चारमाध्यमहरूबाट धमाधम सार्वजनिक भैरहेका छन् ।
तपाईहरूको आन्दोलन कहिलेसम्म चल्छ ?
– जहिलेसम्म हाम्रो माग कार्यान्वयन हुँदैन तबसम्म आन्दोलन चल्छ ।
तपाईको आन्दोलनले चुरे भावर क्षेत्र बन्द गर्ने हो ?
– आन्दोलन भनेको बन्द मात्रै होइन । आन्दोलन सभा जुलुस, र्‍याली, प्रदर्शन, घेराउ पनि हुन् । हामी चुरे भावर प्रदेश तत्कलै बन्द गर्ने पक्षमा छैन । सडक पनि अबरोध गर्दैनौँ । र कसैलाई सडक बन्द गर्न पनि दिँदैनौँ । बन्द गरे प्रतिकार हुन्छ । जनताको जीवन कष्टकर भएको अवस्थामा जनताको दुःखमा थप पीडा दिने काम गर्दैनौ ।
सुनसरी जिल्लाभित्र प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले चार जना नेपालीलाई गोली हानेर गम्भीर घाइते बनाए छ नी ?
– हामीले यो कार्यको घोर आपत्ति जनाएका छौँ । जो सुकै भए पनि त्यो नेपाली हो । भारतको यो ठाडो हस्तक्षेपको हामीले विरोध गरेका छौँ । तर तिनै मधेसी मोर्चाका नेताहरू, जसले आफूलाई धर्तीपूत्र भन्छन् उनीहरूले यस विषयमा विरोधको त परै जाओस् ‘चु’सम्म बोलेका छैनन् । गोली चलाउने भारतीय एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गरेर गोली लागेका चार नेपालीहरूलाई क्षतिपूर्ति दिनुपर्छ । यो चुरे भावर राष्ट्रिय एकता पार्टीको माग हो ।
मधेसी मोर्चाको आन्दोलन कतैबाट सञ्चालित छ ?
– सारा नेपालीले बुझेका छन् । कतिले बोलेका छन् । कतिले बोलेका छैनन् । मधेसी मोर्चाको आन्दोलन कहाँबाट सञ्चालित छ त्यो एैना जस्तै छर्लङ्ग छ । मलाई किन भन्न लगाउनु हुन्छ र ?
तपाईहरूको आन्दोलनमा पहाडियामात्रै संलग्न छन् किन अरुको पनि समर्थन छ ।
– चुरे भावर प्रदेशमा रहेका सबै जातजातिको समर्थन छ । हाम्रो र्‍यालीमा मधेसी मुलका दाजुभाई तथा दिदीबहिनीहरूको पनि उल्लेख्य उपस्थिति रहने गरेको छ । तपाईलाई विश्वास लाग्दैन भने हाम्रो आन्दोलनमा आएर हेरे हुन्छ । सुनसरी जिल्लाको चुरे भावर राष्ट्रिय एकता पार्टीको जिल्ला अध्यक्ष फडिन्द्र यादव नै हुनुहुन्छ । कसरी हामी पहाडियाको मात्रै पार्टी भयौँ ? पार्टीमा सबैको प्रतिनिधित्व छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget