एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्तिका लागि दौडधुप गरिरहेको बाबुराम भट्टराईको खर्चको अपारदर्शी स्रोतबारे प्रश्न उठ्न थालेको छ । पार्टी त्यागेपछि विभिन्न व्यक्ति तथा समूहसँग दैनिकजसो छलफल र भेटघाटमा व्यस्त उनले आफूसँग छलफलमा आउनेसँग आर्थिक स्रोतबारे प्रश्न गरेपछि रातोपिरो हुने गरेको बताइन्छ । अहिले बाबुरामले नयाँ शक्तिका लागि भन्दै हरेकजसो पार्टी प्यालेस र तारे होटलमा दैनिक कार्यक्रम राखिरहेका छन् । तर त्यसको स्रोतबारे भने उनी अरुलाई केही बताउन चाहँदैनन् ।
पार्टी छोडेपछि पनि बोलाएर हैरान पारेपछि विवेकशील टोली उनीसँग भेटघाटमा पुगेका थिए । तर जब विवेकशील टोलीले आर्थिक स्रोतबारे प्रश्न गरे तब उनले कुनै जवाफ दिन सकेनन् र एक्कासी रातोपिरो भए । भेटमा सहभागी एक व्यक्तिले नेप्लिज डटओआरजीसँग भने, ‘उनको कुरा सुनियो, कुरा त लजिकल र मिठो नै गर्न खोजे, तर यत्रो दौडधुप गरिरहनु भएको छ, पार्टी प्यालेस र तारे होटलहरुमा दिनहुँ कार्यक्रम के स्रोतबाट गर्नुभएको छ भनेर सोधेपछि उहाँ रातोपिरो हुनुभयो ।’
उनले भने, ‘हामीले त पहिले पैसाको स्रोत खुलाउनुहोस्, हाम्रोमा त एक एक पैसाको पनि हिसाब हुन्छ भनेपछि उहाँ अक्क न बक्क पर्नुभयो ।’ त्यसपछि आफूहरुले ‘नाम नयाँ शक्ति भनिएपनि नाम मात्र नयाँ शक्ति तर काम र तौरतरिका भने पुरानै हुने भयो’ भनेर जवाफ दिएर फर्कियौँ । उनले भने, ‘हाम्रो सदस्यहरुले तपाईंलाई यही कुरा गर्छन्, हामी बोलीबाट मात्र होइन साँच्चै व्यवहारबाट नयाँपन देखाउन चाहन्छौँ’ भनेपछि उहाँ पछि हट्नुभयो ।
त्यसो त नयाँ शक्तिका लागि भन्दै बाबुरामले बिबिसिका रबिन्द्र मिश्र, लीलामणि पौडेल, उत्तर सञ्जेल, मेगा बैंकका अनिल केशरी शाहलगायतसँग पनि विभिन्न तारे होटलमा अलगअलग भेटघाट गरिसकेका छन् । त्यसो त उनको आम्दानी र खर्च अहिलेमात्र होइन भारतमा विद्यार्थी बनेर पढ्न बस्दा पनि उत्तिकै अपारदर्शी हुने गरेको लेखक आनन्दराम पौडेल बताउँछन् ।
काठमाडौँ इन्द्रचोकका एक व्यापारीका छोराले सुनाएको अनुभव भन्दै पौडेलले केही अघि फेसबुकमा लेखेका थिए, ‘भारतमा बाबुराम र ती व्यापारीका छोरा सँगै पढ्थे, त्यतिबेला बाबुराम ती साथीलाई हामी त पहाडको मान्छे, गाउँको साधारण वर्ग, तिमी त व्यापारीका छोरा भन्थे, जब घर आउने बेला हुन्थ्यो, त्यो बेला बाबुराम प्लेनमा आउँथे भने व्यापारीका छोरा रेल खोज्दै स्थलमार्ग लाग्थे, रहस्य के रहेछ भनेको त अहिले पुष्टि भयो ।’
–सन्तराम बिडारीsajhapatrika
Post a Comment