सुनसरी, १२ मंसिर । सुनसरी र मोरङमा आज बिहानै भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
सुनसरीको नरसिंह– १ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बिहान साढे ५ बजेतिर रोकिराखेको यात्रुबाहक बसलाई मालवाहक ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ४८०४ नम्बरको यात्रुबाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार सुनसरी नरसिंह– १ का ३५ वर्षीय हसिम मन्सुरी र बसका सहचालक मोरङ मधुमल्लाका ३० वर्षीय सन्तोष केसीको घटनास्थलमै मृत्यु भएको छ ।
अर्का यात्रु नरसिंह– १ कै ३२ वर्षीय खुर्सिद आलमको उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र त्यसका चालक साथै बस चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै मोरङको हात्तिमुढा– ८ मा आज बिहानै ट्रकको ठक्करबाट एक रिक्सा चालकको मृत्यु भएको छ ।
बिहान साढे ६ बजे इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको ना २ ख ४२४४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रिक्सालाई ठक्कर दिँदा चालक हात्तीमुढा– ८ कै ४५ वर्षीय लघु माझीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी रिक्सामा सवार मृतककी श्रीमती ४० वर्षीय भुन्टीदेवी माझी गम्भीर घाइते भएकी छन् । उनको विराट मेडिकल कलेज टंकिसिनवारीमा उपचार भइरहेको छ ।
dainiknepal
Post a Comment