मधेशमा थप हिंसाको खतरा : ‘छापामार शैली’ मा राजमार्ग कब्जा गर्ने मोर्चाको तयारी

मंसिर १२   |  एसके यादव\राजेश भण्डारी
धनुषा-राजमार्ग सुचारु गर्नका लागि सरकारले विशेष सुरक्षा योजना लागु गरेपछि तराई–मधेशमा थप हिंसा बढने खतरा बढेको छ । सरकारी योजना आएपछि आन्दोलनरत मधेशवादी दलका नेताहरु पनि योजना बनाउने तयारीमा जुटेका छन् ।


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका संगठनहरु हाल आमहड्ताल र प्रदर्शन भन्दा पनि राजमार्ग ठप्प गर्नेमा नै केन्द्रित बनेका छन् । तर, राज्यको तर्फबाट राजमार्गमा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।

‘राज्यले सशस्त्र तथा जनपद प्रहरी यति धेरै ओरालेको छ कि आन्दोलनकारीले ज्यान जोगाएर भाग्नु परेको स्थिति छ । अब यसरी ज्यान जोगाएर कति दिन भाग्ने त्यसको तयारीमा जुटेका छौ, एक दुई दिनमा त्यसको परिणाम देख्न सक्नु हुन्छ’ जनकपुरको रमानन्द चौकमा भेटिएका संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले भने, ‘हामी निहत्था छौँ, प्रहरी पुरै हातहतियारका साथ राजमार्गमा उत्रेका छन् । त्यो पनि दुई चारजना होइन ट्रकका ट्रक । त्यसको जवाफ दिन पनि हामी तयारी गरिरहेका छौँ ।’

सद्भावना पार्टीका धनुषा जिल्ला अध्यक्ष संजय सिहले पनि आन्दोलनमा अव नयाँ विकल्प खोजी शुरु भएको बताए । ‘राजमार्गमा हामी खाली हात प्रहरीसँग कसरी लड्न सक्छौँ ? हामी आफ्नो जायज मागका साथ शान्तिपूर्ण आन्दोलनमा छौँ तर, राज्य दमनमा उत्रेको छ । यस अवस्थामा हामीले पनि विकल्प सोच्न बाध्य भएका छौ ।’ उनले भने ।

धनुषाको ढल्केबरमा रातोपाटीको टीमले मंसिर १० गते रातभरि सडकमै बितायो । तर, त्यहाँ राती एकजना आन्दोलनकारी पनि सडकमा देखिएका थिएनन् । सुरक्षाकर्मीको मात्र बाक्लो उपस्थिति थियो । भोलीपल्ट (मंसिर ११ गते) जनकपुर पुग्दा त्यहाँ पनि बजारहरु खुलेका थिए । सरकारी कार्यालय सञ्चालनमा थिए । यही जिज्ञासा अध्यक्ष सिहसँग राख्दा उनले भने, ‘यो सन्नाटा हो । सन्नटापछिको अवस्था कस्तो हुन्छ, त्यो एक दुई दिनमै हेर्न पाउनु हुनेछ ।’

जनकपुरका मधेशी मोर्चाले अहिले गाउँ गाउँमा विभिन्न समिति बनाउन थालेका छन् । राजमार्ग केन्द्रीत आन्दोलनमा आमजनताको उपस्थिति हुन छाडेपछि नेताहरु गाउँ गाउँमा गएर प्रशिक्षण दिँदै विभिन्न आन्दोलन परिचालन समिति गठन गर्न थालेका छन् । सबैतिर समिति निर्माण भइसकेपछि एकैचोटी राजमार्ग ठप्प पार्ने योजना मोर्चाको रहेको छ ।

जकपुरमै भेटिएका फोरम नेपालका केन्द्रीय सदस्य राजकिशोर यादवले राजमार्ग ठप्प गर्नका लागि आफूहरुले जुनसुकै कदम उठाउन तयार रहेको बताए । उनले माओवादीकै जस्तै छापामार शैलीबाट राजमार्ग कब्जा गर्ने बताउँदै त्यसका लागि टीम तयार भइरहेको बताए । उनले भने, ‘राजमार्ग ठप्प गर्न जे आवश्यक पर्छ ती सबै हामीले प्रयोग गर्छौँ ।’

स्थानीय प्रशासनले पनि जिल्ला आफ्नो नियन्त्रमा नरहेको आन्दोलनकारी नेताहरुलाई बताउन थालेको मोर्चाका नेताको दावी छ । ‘यहाँका सिडियोले नै हामीलाई भन्नुभएको छ, नेताज्जू अब यो जिल्ला हाम्रो हातमा छैन । राजमार्गमा जाँदा होस पुर्याएर जानु होला । डिआईजी साप आफै राजमार्गको नेतृत्व लिएर बस्नु भएको छ’ सद्भावनाका अध्यक्ष सिहले भने ‘डिआइजीस्तरका व्यक्तिलाई राजमार्गमा पठाएर गोली चलाउन निर्देशन दिने सरकारले मधेशको समस्या समाधान किन नगरेको ?’

आन्दोलनको क्रममा राज्यले आफूहरुसँग विभेद गरेको भन्दै मधेशी मोर्चाका नेताहरुले रातोपाटीको टीमसँग आक्रोश पोखे । अध्यक्ष सिहले भने, ‘के नेपाल भनेको काठमाडौ मात्र हो ? स्कट्रिङं गरेर सबै समान काठमाडौ मात्र लगेका छन् । मधेशी जनताको मुख थुनिएको छ । के मधेशका जनतालाई खद्यान्न चाहिदैन ?’

तुल्नात्मक रुपमा शान्त देखिएका सिरहाका मधेशवादी दलले पनि राजमार्ग केन्द्रित रणनीति बनाउन थालेका छन् । सिरहाका केही नागरिक अगुवाको अगुवाईमा सबै दललाई मिलाएर संयुक्त मधेशी मोर्चा गठन गरेका छन् । सिरहाको चोहर्वामा भेटिएका नागरिक अगुवा काशेन्द्र यादवले मोर्चा गठन भएको विज्ञप्ति देखाउँदै भने, ‘विभिन्न कारणले सिरहामा आन्दोलन कमजोर देखिएको थियो । अब त्यस्तो हुँदैन । अब सिरहाको आन्दोलन केन्द्रीकृत भएर राजमार्ग ठप्प हुन्छ । यसका लागि गाउँ गाउँमा पनि समिति बनाइन्छन् ।’
DNN@Ground Zero

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget