नयाँ शक्तिका कमाण्डर : भारतीय नागरिकता धारीदेखि गड्यौला माग्नेसम्म

काठमाडौं  –एमाओवादीबाट नयाँ शक्ति बनाउने भन्दै तामझाम गरेर बाहिरिएका डा. बाबुराम भट्टराईको नयाँ शक्तिको विस्तृत कार्ययोजना नै सार्वजनिक नभइकन विवादमा परेको छ । पूर्र्व एमाओवादीको विभिन्न जिम्मेवारीमा रहेका तर कामको नाममा वरको सिन्को पर समेत नसार्ने नेताहरूलाई अघि–पछि लगाएर निर्माण गरिएको नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सी भएको भन्दै टिप्पणी गर्नेहरू पनि सँगसँगै देखिएका छन् ।

एमाओवादीमा रहेर कुनै जिम्मेवारी पूरा नगर्ने र आफूखुशी उठ्ती धन्दा चलाउनेहरू नयाँ शक्तिको नाममा नयाँ जोगीले खरानी घसेजस्तै गरी अघि सरेका छन् । भट्टराईले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका कमाण्डरहरूको अनुहार र हैसियत हेर्दा ती गरेर खाने भन्दा पनि खाएर गर्ने खालको रहेको भन्दै पत्रकार सम्मेलनमा नै पत्रकारले प्रश्न उठाए पनि जवाफ नै नदिइकन बसेका थिए ।

नयाँ शक्तिका कमाण्डरका दुई नागरिकता

नयाँ शक्तिको नाममा मेची कोशीको संयोजकमा राजेन्द्र किराती र मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौं र यसको आसपासको क्षेत्रमा गंगा श्रेष्ठलाई तोकेका छन् । राजेन्द्र किराती जनयुद्धकालभरी कुनै पनि भूमिका निर्वाह नगरेका व्यक्ति हुन् । कुनै जनाधार नभएका र टपरे नेताको रूपमा उनी स्थापित भएको भन्दै नयाँ शक्तिमा लाग्छु भन्नेले समेत एमाओवादी नछाड्ने बताएका छन् ।

रामचन्द्र झा बिहारी नागरिकता बोकेर नेपालमा राजनीति गर्ने पात्रको रुपमा चिनिएका व्यक्ति हुन् । बिहारको बहराइच जिल्लाबाट नागरिकता लिएको भन्दै एमालेमा रहँदा नै उनको आलोचना हुने गरेको थियो । रघुवीर महासेठले त रामचन्द्र झाले नेपाल र भारत दुवैतिर राजनीति गरेको भन्दै सार्वजनिक भाषण नै गरेका थिए ।
यस्तै गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुलीलाई तोकिएको छ । उनलेपनि माखो नमार्ने नयाँशक्तिधारीहरु नै बताउछन् ।
यस्तै मगरात– अवधमा वामदेव क्षेत्री जवाहर नेहरू विश्वविद्यालयका पुस्तकालयका पियनबाट माओवादीमा लागेका व्यक्ति हुन् । कुनै जनाधार नभएका र कुराको भारी मात्रै भएको भन्दै कोही कसैले पनि राम्रो नमान्ने व्यक्तिका रूपमा परिचित छन् । भेरी कर्णालीमा भक्तबहादुर शाह ठीकै भए पनि सो क्षेत्रमा उनको कुनै जबर्जस्त उपस्थिति रहेको छैन ।

सेती–महाकालीका संयोजक बनाइएका नवराज सुवेदी जता मल्खु उतै ढल्कुमा माहिर मानिएका प्राणी हुन् भन्दै चित्रबहादुर केसीले नै टिप्पणी गर्ने गर्दथे । जनवर्गीय एवम् मोर्चामा कुमार पौडेल पिंध नभएका लोटा जस्ता छन् । राजनीति भन्दा बढ्ता कमाउ धन्दा चलाउन सिपालु भनि आरोप खेपीरहेका हिसिला यमी अन्तर्राष्ट्रिय विभागको संयोजक बनेकी छिन् । केशव स्थापितसँग गड्यौला चाहिने भन्दै बार्गेनिङ गरेको, वासिङ्टन पोष्टले समेत समाचार लेखेको हिसिलाको बारेमा के भन्नु र खै, यस्तो तालले के नयाँ शक्ति बन्ला ल भन्दै बन्दसत्रमा नै उनको कास्कीका एक कार्यकर्ताले उछित्तो काढेको भेलामा सहभागी एक नेताले जानकारी दिए । यस्तै जातीय मोर्चाको संयोजक बनाइएका रामकुमार शर्मा गौर हत्याकाण्डमा मतियार भएको भन्दै कार्यकर्ताले चर्को विरोध गरेको बुझिएको छ ।

गौर काण्डका मतियारसँग बाबुरामको घाँटी

नयाँ शक्ति कस्तो नै होला भन्नेहरूले बाबुरामको पछिल्लो गतिविधि हेर्दा नै थाहा पाइसकेका छन् । उनको हुती ‘खुट्टी देख्दा नै चाल पाइयो’ भने जस्तै छ । नयाँ शक्तिको जति सुकै व्याख्या गरे पनि उनी हिजो विभिन्न पार्टीबाट भागेका, भारतीय स्वार्थमा चलेका व्यक्तिहरू नै उनको अघि–पछि लाग्ने देखिएको छ । उपेन्द्र यादव मधेशी जनअधिकार फोरम नेपाल खोल्नुअघि माओवादीमा नै थिए ।
उनकै योजनामा गौर हत्याकाण्ड मच्चाइएको भनेर स्वयं माओवादीले नै भन्दै आएको थियो । पछिल्लो पटक नयाँ शक्तिको फोरमसँग एकता हुने भनिएपछि बाबुरामको भेलामा सहभागी भएकाहरूले सो प्रश्न बाबुरामलाई सोधेपछि भारतमा नरेन्द्र मोदीले बाबरी मस्जिदको प्रश्न सोध्दा पानी पिउने गरे जस्तै गोलमटोल उत्तर दिएको बताइन्छ । उनको कमाण्डर तोकिएका रामकुमार शर्मा र उपेन्द्र यादवको योजनामा २१ जना माओवादीका नेता तथा कार्यकर्ताको हत्या गरिएको थियो । तिनै भट्टराई हुन् जो गौर हत्याकाण्डका मतियारलाई कडा कारबाही गर्ने भन्दै गोहीको आँसु झारेका थिए । आज उनै भट्टराई हत्याकाण्डका मतियारसँग घाँटी जोड्ने योजनामा लागेको भन्दै टिप्पणी हुन थालेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget