१८ वर्ष अघिको अध्ययनबाट काठमाडौँमा नै भेटीयो ग्यासको खानी
काठमाडौँ, ११ मंसिर । भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव भएपछि सरकारले उपत्यकाभित्रै प्राकृतिक ग्यासको सम्भावना खोजी गर्न थालेको छ । १८ वर्ष अघिको अध्ययनबाट उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने प्राकृतिक ग्यास भएको तथ्य पत्ता लागेको थियो ।
उद्योग मन्त्रालयले यसलाई प्रयोगमा ल्याउनेबारे छलफल सुरु गरेको हो । मन्त्रालयको प्रविधि महाशाखाका प्रमुख तथा सहसचिव ऋषिराज कोइरालाका अनुसार जापानी सहयोग नियोग (जाइका) ले सन् १९९७ मा उपत्यकामा ग्यासको सम्भावना देखाएको थियो ।
उक्त अध्ययनले ४ करोड ५० लाख क्युबिक घनमिटर प्रमाणित र ३० करोड क्युबिक घनमिटर अर्ध प्रमाणित प्राकृतिक ग्यास रहेको देखाएको थियो ।
‘लागत बढी पर्ने भएकाले हालसम्म सरकारले यससम्बन्धी प्रक्रिया अघि बढाएको थिएन,’ कोइरालाले भने, ‘अब प्रयोगमा ल्याउन सकिन्छ कि भनेर छलफल सुरु भएको छ । उद्योगमन्त्री सोमनाथ पाण्डेले पनि ग्यास खानीहरूको अवलोकन गरिसक्नुभएको छ ।’ प्रमाणित ४ करोड ५० लाख क्युबिक घनमिटरले ६ वर्षसम्म २० हजार परिवारले प्रयोग गर्न सक्ने छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
अर्ध प्रमाणित ग्यासको विषयमा भने थप अध्ययन गर्नुपर्ने छ । प्रमाणित हुन सके २० हजार परिवारलाई नै २० वर्षभन्दा बढी समय पुग्न सक्ने अनुमान छ ।
etajakhabar
Post a Comment