इटहरी, ११ मंसिर । मधेस आन्दोलन र नाकाबन्दीले आजित इटहरीका विद्यार्थीहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको विरोधसभाको मञ्च जलाइदिएका छन् ।
मोर्चाले शुक्रबार दिउँसो गर्न लागेको सभाका लागि शुक्रबार बिहानै कार्यकर्ताहरुले इटहरीको खेतीखोला नजिकै मञ्च बनाएका थिए । उक्त मञ्चबाट सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, महतोका लागि तयार पारिएको मञ्च सत्तारुढ विद्यार्थी संगठनका कार्यकर्ताहरुले जलाएका हुन् ।
मञ्च बनाइरहेकै बेला विद्यार्थी संगठनका कार्यकर्ताले पेट्रोल छर्किएर मञ्चमा आगो लगाएका हुन् । यसअघि विद्यार्थीहरुले विहीबार मञ्च नबनाउन मधेसी मोर्चालाई आग्रह गरेका थिए ।
मञ्च जलाएपछि त्यहाँ रहेका मधेसी मोर्चाका केही कार्यकर्ताको भागाभाग भएको थियो । अहिले त्यहाँ विद्यार्थीसहित इटहरीका नागरिक सडकमा उत्रिएका छन् । उनीहरुले राजेन्द्र महतोविरुद्ध नाराबाजी गरिरहेका छन् । यसैबीच प्रहरीले पनि इटहरीमा सुरक्षा सतर्कता अपनाएको छ । उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सुनसरीमा चार जना नेपालीमाथि भारतीय सुरक्षा बल एसएसबीले घरमै आएर गोली हान्दा समेत मोर्चाका नेताहरुले भारतकै पक्ष लिएपछि आक्रोशित बनेका इटहरीका विद्यार्थीले राजेन्द्र महतोको मञ्च जलाएका हुन् ।
Post a Comment